१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

फ्रेन्चाइजीसँग असन्तुष्ट रोहित, छाड्लान् त मुम्बई इन्डियन्स !

तस्बिरहरु: रोहित शर्माको एक्सबाट

मुम्बई इन्डियन्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) का पाँच टाइटल जिताएका भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा फ्रेन्चाइजीको व्यवहारबाट रुस्ट छन्। आइपिएलको जारी सिजनमा अकस्मात् कप्तानी खोसेयता रोहित रुस्ट बनेको समाचार भारतीय सञ्चारमाध्यमले सार्वजनिक गर्दै आएका छन्।

केही दिनअघि कोलकाता नाइट राइडर्ससँगको खेल वर्षाले रोकिएका बेला मैदानमा कोलकाताका सहायक प्रशिक्षक अभिशेख नायरसँगको रोहितको कुराकानी बाहिरिएको थियो। जसमा रोहित मुम्बईसँगको आफ्नो असन्तुष्टि पोखिरहेका सुनिन्छन्।

‘एक-एक चिज बद्लिरहेको छ। जो उनीहरूकै जिम्मामा छ, मलाई त फरक पर्दैन्। जे भए पनि, यो मेरो घर हो। याे मन्दिर छ नि मैले बनाएको हो,’ रोहित भनिरहेका छन्,‘मलाई त केही फरक पर्दैन यो मेरो अन्तिम हो ’ रोहितको यो भनाईलाई लिएर पनि उनी मुम्बई छाड्नसक्ने धेरैको अनुमान छ।

यस्तोमा मुम्बईले आफ्ना सबै खेल सकेपछि आइतबार रोहितले फेसबुक र एक्स (ट्विटर) मा मुम्बईसँग २०२४ को सिजनका यादहरू तस्बिरमार्फत सार्वजनिक गरेका छन्। जसले सबैलाई भावुक बनाएको छ।

रोहितले सार्वजनिक गरेका तस्बिरहरूमा मुम्बईका समर्थक, अभ्यासका दौरानमा ब्याट हेरिरहेको, अटोग्राफ दिँदै गरेको, समूहमा खिचिएको तस्बिरहरू राखेका छन्।

रोहित किन असन्तुष्ट ?

जारी सिजनको सुरुवातमा मुम्बई इन्डियन्स व्यवस्थापनले झन्डै एक अर्ब १५ करोड भारु खर्चिएर हार्दिक पान्ड्यालाई भित्र्याएको थियो । उनी दुई सिजन (२०२२ र ०२३) सम्म गुजरात टाइटन्सको कप्तानी गरेका थिए। जसमा एक पटक आइपिएल विजेता बन्दा गुजरात अघिल्लो सिजनको उपविजेता बनेको थियो। हार्दिक त्यसअघि सन् २०२१ सम्म मुम्बई इन्डियन्समै आबद्ध थिए।

अकस्मात् हार्दिकलाई भित्र्याएर कप्तानी खोसेपछि रोहित असन्तुष्ट रहेको बताइन्छ। त्यसमा पनि भारतीय क्रिकेट टोलीमा पनि रोहित हार्दिकको व्यवहारसँग सन्तुष्ट थिएनन्। मुम्बईको यो कदमलाई ३७ वर्ष पुगेका रोहितको घट्दो क्रिकेट करिअरलाई हेरेर भविष्यका लागि ३० वर्षीय हार्दिकलाई कमान सुम्पिएको चर्चा छ।

सिजनको सुरुवातमै रोहितले मुम्बई इन्डियन्स छाड्न चाहेको समाचार बाहिरिएका थिए, तर अन्तिममा उनी रोकिए। जारी सिजन हार्दिककै कप्तानीमा रोहितले पूरा सिजन खेले। रोहितले यस दौरानमा खेलिएका १४ खेलमा १५० को स्ट्राइक रेटका साथ मुम्बई इन्डियन्सका लागि सर्वाधिक ४१७ रनको योगदान दिएका छन्। जसमा एक शतक र एक अर्धशतक सामेल छन्। उनीबाहेक तिलक बर्माले मात्रै मुम्बईबाट ४ सयको रन पूरा गरेका छन्।

हार्दिकको कप्तानीमा खेलेको मुम्बईको यो सिजन भने निकै खराब रूपमा टुंगिएको छ। १४ खेलमा चार जित र १० हारसहित मुम्बई आठ अंकसाथ अंकतालिकको पुछारमा थन्किएको छ।

कप्तान हार्दिकको व्यक्तिगत प्रदर्शन र कप्तानी निकै खराब रह्यो। जसले रोहित र मुम्बई इन्डियन्सका समर्थकले पूरै सिजनभर उनलाई ट्रोल गरिरहे। मुम्बईको घर बानखेडे स्टेडियम होस् या बाहिरका अन्य खेलमैदान जहीँतहीँ समर्थकले उनलाई हेप्न बाँकी राखेनन्। यता असन्तुष्ट रोहितको पक्षमा भने समर्थकले हुटिङ गरिरहे।

अब अर्को सिजन उनी मुम्बई इन्डियन्समा रहन्छन् रहन्नन् त्यसका लागि भने एक वर्ष पर्खनै पर्ने हुन्छ। 

मुम्बई इन्डियन्स भारतीय अर्ब पति मुकेश अम्बानीकाे क्लब हो।

https://x.com/ImRo45/status/1792116809921102032

प्रकाशित: ६ जेष्ठ २०८१ १५:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App