झापा सुरुङ्गाको कनकाई स्पोटिङ क्लब विराटनगरमा जारी चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
मिल्स गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा घरेलु टोली विराटनगरको टि.डब्लु.वाइसीलाई २–१ गोल अन्तरमा पराजित गर्दै झापाले सेमिफाइनलकाे यात्रा तय गरेको हो।
कनकाईका लागि दुवै गोल गरेका सन्दीप रसाइली प्येलर अफ द म्याच हुँदै ३ हजार रुपैयाँ प्राप्त गरे। विराटनगरका लागि एक मात्र सान्त्वना गोल आशिष् राईले गरे।
खेलको अन्त्यमा विराटनगरले आफूलाई समाल्न नसक्दा खेल पाहुना टोलीलाई सुम्पनु पर्यो। मध्यान्तरअघि केही दबाबमा रहेको झापाले मध्यान्तरपछि खेलको लय फर्काएसँग जित निकाल्न सफल भयो।
२७ औं मिनेटमा विराटनगरका आशिषले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनले झापाका खेलाडीको खुट्टामा लागेर रिबाउन्ड भएको बलमा गोल गरे।
५० औं मिनेटमा झापाका सन्दीपले गोल गर्दै खेल बराबरी पारे। खेलको अन्तिम २ मिनेट बाँकी छँदा झापाका श्याम मुर्मुलाई डिबक्सभित्र फउल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै सन्दीपले पुनः गोल थप्दै टोलीको गोल संख्या दोब्बर पारे।
खेलको ९ औं मिनेटमा विराटनगरका मनोज खड्काले डिबक्सभित्रबाट गरेको कडा प्रहारलाई झापाका गोलरक्षक सन्तोष दनवारले पन्च गर्दै विफल पारे। ११ औं मिनेटमा झापाका श्याम मुर्मुको प्रहारलाई विराटनगरका गोलरक्षक पूर्ण चेम्जोङले बचाउ गरे। ४१ औं मिनेटमा झापाका श्यामले डिबक्सभित्रबाट गरेको प्रहार बाहिरियो।
सोमबारको अन्तिम क्वाटरफाइनल विराटनगरको कोशी प्रदेश प्रहरी कार्यालय र डिफेन्डिङ च्याम्पियन सिराहाको गोलबजार स्पोटिङ क्लबबीच हुनेछ।
प्रकाशित: ९ वैशाख २०८१ २१:४७ आइतबार