२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

कुसुम र सविना तेक्वान्दोको सेमिफाइनलमा

कोसी प्रदेशकी कुसुम राजवंशी र सविना तामाङसहित चार खेलाडी पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।

बागलुङ जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजनामा ढोरपाटन नगरपालिका-१ बुर्तिबाङको बसपार्कमा शुक्रबारदेखि शुरू भएको प्रतियोगिताको पहिलो दिन महिलातर्फ ५०-५७ केजी तौलसमूहमा कोसीकी कुसुम राजवंशी र सविना तामाङ तथा विभागीय टोली त्रिभुवन आर्मीकी निकिता धामी र सविना सुनार सेमिफाइनलमा प्रवेश गरेका हुन्।

पहिलो खेलमा कोसीकी कुसुमले विभागीय टोली नेपाल पुलिस क्लबकी सुस्मिता थापालाई पराजित गरिन्। अर्को खेलमा आर्मीकी निकिताले गण्डकीकी रिया श्रेष्ठलाई पराजित गरिन्। दिनको तेस्रो खेलमा कोसीकी सविनाले लुम्बिनीकी वसन्तीकुमारी विकलाई पराजित गरिन्।

चौथो तथा अन्तिम खेलमा आर्मीकी सविनाले बाग्मती प्रदेशकी रजनी रेग्मीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिन्। प्रोफेसनल फाइटमा महिलातर्फ ५०–५७ केजी तौलसमूह र पुरुषमा ५५–६२ केजी तौलसमूहका खेलाडीले चुनौती दिन पाउनेछन्। यस प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेश र एक आयोजक गरी ११ टोलीले प्रतिस्पर्धा गर्दै छन्।

प्रत्येक टोलीबाट समान दुई पुरुष र महिलाले प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने संघका अध्यक्ष प्रतीक घर्तीमगरले जानकारी दिए। प्रतियोगितामा कुल ४४ खेलाडीले दुई स्वर्ण पदक, ट्रफी र नगद पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन्। महिला र पुरुष दुवैतर्फ च्याम्पियनले ५० हजार, ३० हजार र २० हजार रूपैयाँ पाउनेछन्।

उक्त प्रतियोगिताको संघीय सांसद तथा पूर्वशिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उद्घााटन गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा रहेका ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धनबहादुर कायतले ढोरपाटन खेलकुद क्षेत्रमा अगाडि रहेको बताए।

कार्यक्रममा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्की, महासंघ केन्द्रीय उपाध्यक्ष तथा रेफ्री प्रमुख राजमन्दिर श्रेष्ठलगायत केन्द्रीय र प्रदेश समितिका पदाधिकारीको उपस्थिति थियो।

प्रकाशित: ८ वैशाख २०८१ ०६:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App