१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अर्जुनले जिते मञ्जुश्री ट्रेल रेस

सोलुखुम्बुका अर्जुन कुलुङले आफ्नै रेकर्ड सुधार गर्दै शनिबार मञ्जुश्री ट्रेल रेसको चौथो संस्करणको उपाधि जितेका छन्।

नेपालकै लामो ‘मञ्जुश्री ट्रेल रेस’ मा विभिन्न चरणका रेसमध्ये सबैभन्दा लामो एक सय माइलको रेसमा अर्जुनले आफ्नै रेकर्ड सुधार गर्दै च्याम्यिन भएका हुन्। उनले २६ घण्टा ५० मिनेट १५ सेकेन्डमा यो रेस पूरा गरे। 

मञ्जुश्री ट्रेल रेसका अध्यक्ष सुवास थापाका अनुसार सन् २०२२ मा अर्जुनले यो रेस पूरा गर्न ३१ घण्टा १० मिनेट ५७ सेकेन्ड समय लगाएका थिए। बेलायतका अलिस्टेयर मेस्सन उपविजेता रहे। 

उनले २८ घण्टा २८ मिनेट ३५ सेकेन्डमा रेस पूरा गरे। विजय मगर तेस्रो भए र उनले ३३ घण्टा ५७ मिनेट ४० सेकेन्ड समय लगाए। सय माइलको रेसमा शीर्ष तीन स्थानका धावकले क्रमशः ६० हजार, ४० हजार र २० हजार रूपैयाँ नगद पुरस्कारसँगै पदक पाए।

सय किलोमिटर रेसमा पुरुषतर्फ मनकुमार रोकामगर विजेता बने। उनले १४ घण्टा ४५ मिनेट २० सेकेन्डमा यो दूरी पार गरे। फुर्पासिंह तामाङ दोस्रो र अविनाश देवकोटा तेस्रो भए। फुर्पाले १६ घण्टा ४६ मिनेट ४८ सेकेन्ड र अविनाशले १६ घण्टा ५४ मिनेट १७ सेकेन्डमा यो दूरी पूरा गरेका हुन्। यो विधामा शीर्ष तीनमा रहेका धावकले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारसँगै पदक प्राप्त गरे। ५० किलोमिटर रेसमा पुरुषतर्फ हरिलाल सिंह र महिलामा प्रिया राई च्याम्पियन बने। हरिलालले सात घण्टा १७ मिनेट २५ सेकेन्डमा दूरी पार गरे।

प्रियाले आठ घण्टा २२ मिनेट ५ सेकेन्ड लगाइन्। यसै रेसको पुरुषमा निम्साङ लिम्बू दोस्रो र दीपेश तामाङ तेस्रो भए। महिलामा भने रसिला तामाङ दोस्रो र छोकी शेर्पा तेस्रो स्थानमा रहे। निम्साङले सात घण्टा १८ मिनेट ११ सेकेन्ड र रसिलाले ९ घण्टा १३ मिनेट ६ सेकेन्डमा रेस पूरा गरे। दीपेशले र छोकीले क्रमशः ८ घण्टा ४ मिनेट ३६ सेकेन्ड र ९ घण्टा १६ मिनेट ४५ सेकेन्ड समय लगाए। यस संस्करणमा १०० माइल, १०० किमी र ५० किमिका रेसमा शीर्ष पाँचौं स्थानभित्र पर्ने खेलाडी स्वतः एसिया ट्रेल मास्टर्समा क्वालिफाइड भएको अध्यक्ष थापाले जानकारी दिए।

उनका अनुसार यी धावकले मलेसियामा आगामी सेप्टेम्बर १४ मा हुने एटिएम फाइनल रेसमा प्रतिस्पर्धा गर्नेछन्। ३० किलोमिटर रेस ४ घण्टा ४९ मिनेट ४८ सेकेन्डमा पार गर्दै उबिन मल्ल विजेता बने। लुकास सेर्डन उपविजेता बन्दा र एन्ड्य्रु एलकक तेस्रो भएका छन्। लुकासले ४ घण्टा ५७ मिनेट २९ सेकेन्ड र एलककले ४ घण्टा ५७ मिनेट ४५ सेकेन्डमा रेस पूरा गरे। यसै दूरीमा महिलातर्फ अमेरिकाकी कार्ली एन्ड्रेसन राट्ली च्याम्पियन भइन्। उनले ६ घण्टा ४५ मिनेट २१ सेकेन्डमा रेस पूरा गरिन्। बेलायतकी जेन्नी चाप्लिनले सात घण्टा १९ मिनेट ४८ सेकेन्डका साथ दोस्रो भइन्। 

शुक्रबार इचंगुनारायणस्थित सिंगल ट्रीमा रहेको हिमालय क्विन बी रिसोर्टबाट सय माइलको रेस सुरु भएको थियो। रेसमा दौडने क्रममा धावकले फुलचोकी, नागार्जुन, शिवपुरी, नगरकोट, चम्पादेवी, भष्मासुर र चन्द्रागिरिलगायतका पहाड चढ्ने र झर्ने गरेका थिए। सो क्रममा उनीहरूले ती सबै पहाड गरी कुल ९ हजार ८ सय मिटरको उचाइ लिएका थिए। शुक्रबार र शनिबार सम्पन्न भएको विभिन्न चरणको रेसमा नेपालसहित १६ मुलुकका ३ सय २४ धावकले प्रतिस्पर्धा गरे।

प्रकाशित: २५ चैत्र २०८० ०८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App