२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

विराट गोल्डकप: उद्घाटन खेलमा भुटान र नेपाल पुलिस भिड्दै

बिहीबारदेखि विराटनगरमा सुरु हुने विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) र विभागीय टोली नेपाल पुलिस क्लबबिच हुनेछ।

गोल्डकपको ८ औं संस्करणको उद्घाटन खेलमा आरटिएफसीले पुलिस क्लबको सामना गर्ने भएको हो। सहिद मैदानमा चैत १५ गतेदेखि २४ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए।

उनले काठमाडौंपछि पहिलो पटक विराटनगरमा रात्रिकालीन फुटबल खेलको सुरुवात भएको बताए। यस रात्रिकालीन खेललाई यस पटक पनि निरन्तरता दिइएको छ।

उद्घाटन खेलका दुवै टोली प्रतियोगिताको पूर्व विजेतासमेत हुन्। विभागीय पुलिस क्लबले तीन पटक उपाधि चुमिसकेको छ। भुटानको थिम्पु एघारले २०३१ सालमा गोल्डकपको उपाधि चुमेको थियो।

खेल तालिका सार्वजनिक गरिएको बताउँदै ट्रष्टका सचिव तथा गोल्डकप प्रचार प्रसार समिति संयोजक ध्रुव सिग्देलले समूह ‘ए’ मा घरेलु टोली सांग्रिला मोरङ एफए, भुटानको रोयल थिम्पु एफसी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको टोली एएपिएफसी र सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईज युनाइटेड रहेको छ। समूह ‘बि’ मा भारतको सिक्किम ड्रायगन्स, साउर्थन समिति कोलकाता, त्रिभुवन आर्मी फुटबल क्लब, न्यूरोड टिम, मच्छिन्द्र फुटबल क्लब रहेको सिग्देलले बताए।

२०१८ सालबाट महेन्द्र गोल्डकपको नाममा आयोजना हुँदै आएको गोल्डकपको नाम परिवर्तन गर्दै २०६८ देखि ‘विराट गोल्डकप’ को नामबाट हुँदै आएको सचिव सिग्देलले बताए। विजेता टोलीले ११ लाख र उपविजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: १२ चैत्र २०८० २०:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App