१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

मन्जुश्री ट्रेल रेसको तयारी

मन्जुश्री ट्रेल रेसको आयोजनामा आगामी चैत २३ देखि सुरु हुने चौथो मन्जुश्री ट्रेल रेसको तयारी अन्तिम चरणमा पुगेको छ।

मन्जुश्री ट्रेल रेसले मंगलबार पत्रकार सम्मेलन गर्दै रेसको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो। सो अवसरमा रेसका अध्यक्ष सुवास थापाले यस संस्करणको रेसका लागि नेपालसहित १६ मुलुकका २७० धावकले नाम दर्ता गराइसकेको जानकारी दिए।

तीमध्ये नेपालबाट मात्रै २३२ धावकले चुनौती प्रस्तुत गर्ने भएका छन्। ‘आगामी अप्रिल एकसम्म दर्ता गर्न पाइनेछ। त्यसैले सहभागिता संख्या बढ्न सक्छ,’ नेपाल एडभेन्चर रनिङ महासंघका नवनिर्वाचित महासचिवसमेत रहेका थापाले भने।

एसिया ट्रेल मास्टर्ससँगको सम्झौतापश्चात् यो संस्करण छनोट प्रतियोगिता पनि बनेको मन्जुश्री ट्रेल रेस अध्यक्ष थापा बताउँछन्। एसिया ट्रेल मास्टर्सजस्ता विदेशी निकायमार्फत थप ५० देखि १०० जना खेलाडी सहभागी हुने थापाको विश्वास छ। एसिया ट्रेल मास्टर्स हङकङमा कुआइ स्पोर्ट्स प्रमोसन लिमिटेडद्वारा सञ्चालित एसियामा ट्रेल दौडको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिरिज हो।

सन् २०२३ मा तेस्रो मञ्जुश्री ट्रेल रेस भएको थियो र त्यो संस्करणमा ६७ नेपाली र २१ विदेशी गरी कुल ८८ धावकले प्रतिस्पर्धा गरेका थिए।

काठमाडौं उपत्यका वरिपरिका सात वटा प्रमुख चुचुराहरू जामाचो, शिवपुरी, नगरकोट, फुलचोकी, चम्पादेवी, भस्मासुर र चन्द्रागिरिको सेरोफेरोमा दौडिने रेस नै मञ्जुश्री ट्रेल रेस हो। एक सय माइल दूरी पूरा गर्दा योे १२ हजार ६९५ मिटरको उचाइमा छ।

पौराणिक कथन अनुसार मञ्जुश्री नामक भिक्षुले काठमाडौंमा अवस्थित पोखरीमा जम्मा भएको पानीलाई निकास दिन, विभिन्न डाँडा घुमेर हेरेको थिए र यसै विश्वासलाई आधार मानेर यस रेसको परिकल्पना तथा नामाङ्कन गरिएको हो।

फ्रान्सस्थित विश्वभरका ट्रेल रेस आयोजकहरूको छाता संस्था इन्टरनेसनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्याङ्कन तथा निर्धारण गर्ने संस्था युटिएमबीको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा विशेष महत्त्वका साथ हेरिने अध्यक्ष थापा बताउँछन्।

‘आइटिआरएको मापदण्डअनुसारको ‘मञ्जुश्री ट्रेल रेस’ पूरा गर्ने सहभागीले आइटिआरएबाट ६ अंक प्राप्त गर्छन् जुन आइटिआरएमा सम्बन्धित न्यूनतम योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुनेछ,’ उनले भने।

१७० किलोमिटर रेसमा शीर्ष तीन स्थानमा रहनेले क्रमशः ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कारसँगै पदक पाउनेछन्। सय किलोमिटर रेसमा शीर्ष तीन स्थानमा रहनेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारसँगै पदक पाउनेछन्।

५० किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रूपैयाँ नगद पुरस्कारसँगै पदक पाउनेछन्। यस संस्करणमा १०० माइल, १०० किमि र ५० किमिका खेलको पाँचौं स्थानभित्र पर्ने खेलाडी एसिया ट्रेल मास्टर्समा क्वालिफाइ हुनेछन्। 

प्रकाशित: ८ चैत्र २०८० ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App