४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

सेमिफाइनल यात्रामा: कर्णाली, आर्मी, सुदूरपश्चिम र लुम्बिनी

विराटनगरमा जारी कोशी प्रदेश राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको लिग चरणका खेलहरु सम्पन्न भएका छन्। लिग चरणको खेल सकिएसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशले सेमिफाइनलमा स्थान पक्का पारेका छन्।

बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा बिहीबार सम्पन्न खेलमा मधेसले सशस्त्र प्रहरी बलको (एपिएफ) र बाग्मती प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्‍यो।

मधेस प्रदेशले एपिएफलाई २१ ले पराजित गरेको हाे। यस खेलमा मधेसले एपिएफलाई ८३ रनले पराजित गरेको भए मधेश सेमिफाइनलमा र एपिएफले ८ ओभर ३ बलमा मधेसलाई जितेको थियो भने सेमिफाइनलमा पुग्ने थिए। दुवै टोलीले चाहे अनुसारको अंक बटुल्न नसक्दा प्रतियोगिताबाट बाहिरिनु पर्‍यो।

टस जितेर एपिएफले मधेसलाई पहिलो ब्याटिङको मौका दिएको थियो। पहिले ब्याटिङको मौका पाएको मधेसले २० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १ सय ४३ रन बनायो। प्लेयर अफ द म्याच विशाल सुस्लिङले अविजित हुँदै ३२ बलमा ४ छक्का र ४ चौका प्रहार गरी ५४ रन, पवन सराफले २५ बलमा ३ छक्का हान्दै २५ रन र अभिषेक तिवारीले १९ रन बनाए। एपिएफका लागि कप्तान भुवन कार्की र पुरन विकले समान ३–३ विकेट लिए।

एपिएफले पाएको १ सय ४४ रनको लक्ष्य भेटाउने क्रममा २० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १ सय २२ रनमै समेटियो। सुमित महर्जनले २९ बलमा १ छक्का र ९ चौका प्रहार गरी ५२ रन, भुवन कार्कीले १२ रन र आयुषमान बमले १२ रन बनाए। मधेसका लागि राजेश यादवले ३ र अरनिको यादवले २ विकेट लिए।

अर्को खेलमा बाग्मतीले पुलिसलाई ३३ रनले हरायो। दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन्। पुलिसले १२ ओभर ५ बलमा बाग्मतीलाई पराजित गरेको भए नेट रन रेटका आधारमा समूह ‘बि’ को उपविजेता हुँदै सेमिफाइनल पुग्ने थियो।

पुलिसले टस जितेर पहिलो ब्याटिङको मौका बाग्मतीलाई दियाे। पहिलो ब्याटिङ गरेको बाग्मतीले २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ७३ रनको चुनौती प्रस्तुत गर्‍यो। प्लेयर अफ द म्याच इशान पाण्डे अविजित हुँदै ५० बलमा २ छक्का र ७ चौकाको मद्दतले ७४ रन, रविन जोशीले २७ रन, शुभ कंसाकरले २६ रन, रित गौतमले २४ रन बनाए। पुलिसका लागि अभिषेक कार्की र दीपक सेरालाले समान २–२ विकेट लिए।

१ सय ७४ रनको लक्ष्य पाएको पुलिसले १२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४० रनमै समेटियो। रोहन विकले २४ बलमा १ छक्का र ७ चौका प्रहार गरी ४३ रन, शंकर रानाले २७ रन र सुनील दौल्यारले २६ रन बनाए। बाग्मतीका लागि कृजन गुरुङले ४ विकेट तथा तिलक भण्डारी र इशान पाण्डेले २–२ विकेट लिए।

समूह ‘ए’ बाट ८ अंकका साथ आर्मी शीर्ष स्थानमा छ भने कर्णाली ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। मधेश ४ अंकका साथ तेस्रो, कोशी २ अंकका साथ चौथो र एपिएफ २ अंकका साथ पाँचौ स्थानमा रह्यो। आर्मीले ४ खेलमा सबै जित निकाल्न सफल भएको थियो। बाँकी रहेको टोलीको अंक बराबरी भएपछि नेट रनरेटका आधारमा स्थान चयन भएको हो।

समूह ‘बि’ लुम्बिनी र सुदूरपश्चिमले ४ खेलमध्ये १ मा पराजित र ३ मा जित्दै ६–६ अंक बराबरी भएपछि नेट रनरेटका आधारमा लुम्बिनी पहिलो र सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा रहेको हो। बाग्मती चौथो, पुलिस पाँचौं स्थानमा छन्। उनीहरुको पनि ४–४ अंक बराबरी रहेको थियो। एपिएफले एउटामा पनि जित निकाल्न नसक्दा शून्यका साथ तालिकाको अन्तिममा रह्यो।

मोरङ जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो खेल आर्मी र सुदूरपश्चिम तथा दोस्रो खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीच सेमिफाइनलका खेल हुने छन्।

प्रकाशित: १ चैत्र २०८० २०:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App