१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

राष्ट्रिय महिला फुटबल टोली सम्मानित

वेस्ट एसियन फुटबल फडेरेसन (वाफ) महिला च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार नगदसहित सम्मानित भएको छ।

लोयल्टी एकेडेमीले मन्डिखाटारमा एक कार्यक्रम आयोजना गर्दै वाफ च्याम्पियनसिपको उपविजेता २३ खेलाडी र आठ अफिसियललाई नगदसहित सम्मान गरेको हो। नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पूर्वमन्त्री सीता गुरुङ र लोयल्टीका संस्थापक निर्देशक विजय सम्बाहाम्फेले उनीहरूलाई सम्मानपत्र र नगदसहित सम्मान गरे।

सम्मानबापत टोलीलाई लोयल्टीले कुल तीन लाख ६१ हजार ८ सय रूपैयाँ प्रदान ग¥यो। महिला दिवसको अवसर पारेर विद्यालयले महिला सशक्तीकरण र प्रोत्साहन गर्ने उद्देश्यअनुरूप महिला फुटबलरलाई सम्मान गरेको लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङले जानकारी दिए।

लोयल्टीले वाफ च्याम्पियनसिप खेल्ने प्रत्येक खेलाडीलाई जनही १० हजार र हरेक गोलबापत थप पाँच हजार रूपैयाँ प्रदान गरेको हो। सो प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी सर्वाधिक  (९ गोल) गोलकर्ता हुन्। विद्यालयले सावित्रालाई ५५ हजार रूपैयाँसहित सम्मान गर्‍यो।

टोलीका प्रशिक्षक राजेन्द्र तामाङ र कमल रखाल, गोलकिपर प्रशिक्षक उज्ज्वल मानन्धर, फिजियोथेरापिस्ट नवीना श्रेष्ठ, अफिसियल सरिला श्रेष्ठ मलेखु, टोली प्रमुख पेमा डोल्मा लामालाई पनि जनही पाँच हजार एक सय रूपैयाँसहित सम्मान गरिएको थियो।

सो अवसरमा पूर्वमन्त्रीसमेत रहेका थापाले पछिल्ला समय नेपालमा महिला फुटबलले सफलता पाइरहेको उल्लेख गर्दै यो सफलताले आममानिसलाई पनि खुसी मिल्ने आशा व्यक्त गरे। उनले खेलाडी बनेर नेपालमा केही गर्छु भन्न कठिनाइ रहेको अवस्थामा नेपाली महिला खेलाडीको यो सफलता सराहनीय रहेको धारणा राखे।

गत फेब्रुअरी २९ मा साउदी अरेबियामा सम्पन्न वाफ च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित हुँदा उपाधिविमुख भएको थियो।

प्रकाशित: २९ फाल्गुन २०८० ०९:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App