१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

‘खेल्छ गण्डकी’ मार्फत बालबालिकालाई टेनिस प्रशिक्षण

पोखरामा टेनिस प्रशिक्षण लिने बालबालिका। तस्बिरः नागरिक

‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत विपन्न वर्गका बालबालिका लक्षित टेनिस प्रशिक्षण पोखरामा सुरु भएको छ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’ भन्ने नाराका साथ प्रशिक्षण दिन थालिएको हो।

गण्डकी प्रदेश टेनिस संघको समन्वय तथा कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा दुई महिने प्रशिक्षण शनिबारबाट सुरु गरिएको हो। उक्त प्रशिक्षणको शनिबार पोखरा रंगशालामा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले गरेका छन्।

प्रशिक्षण कार्यक्रममा सदस्य सचिव शर्माले ‘खेल्छ गण्डकी’ कार्यक्रम प्रदेशको खेलकुद विकासका लागि अभियान रहेको बताए। उनले टेनिस खेलाडी उत्पादन गर्न यो प्रशिक्षणले सघाउने पनि बताए।

‘खेल्छ गण्डकी’ खेलकुदको क्षेत्रमा अविरल बगिरहने नदी जस्तै हो, यो पवित्र अभियान पनि हो । टेनिसले खेलकुदबाट टाढा रहेकालाई मैदानमा ल्याएर उल्लेखनीय कार्य गरेको छ,’ उनले भने, ‘अब खेलकुदबाट टाढा हुनुपर्ने छैन। विपन्न वर्गका बालबालिकाले यसमा मौका पाउनेछन्। पहुँच हुनेका लागि मात्र नभई सबैका लागि खेल हुनेछ।’

मोबाइलमा झुम्मिएर फुर्सदको समय कटाउने बालबालिकालाई खेल मैदानसम्म ल्याउनु निकै चुनौतीपूर्ण रहको उनले बताए। अभिभावकलाई समेत आफ्ना छोराछोरी कुशल खेलाडीको रुपमा स्थापित हुन्छन् भन्ने कुराको विश्वास दिलाउन आवश्यक रहेको पनि सदस्य सचिव शर्माले बताए।

यो कार्यक्रमले खेल संस्कृति र खेलकुद विकासको अभियानमा समेत महत्त्वपूर्ण भूमिका निभाउने उनको भनाई छ। ‘खेलकुद क्षेत्र बहु आयामिक विषय समेत हो। सबै उमेर समूह र वर्गलाई खेलकुदको अभियानमा समेत ल्याउन उत्तिकै प्रभावकारी भूमिका यसले निभाउनेछ,’ उनले भने।

खेलकुद क्षेत्र लैङ्गिक समानताको क्षेत्र रहेको बताउँदै खेलकुद क्षेत्र पारदर्शिता र सुशासनतर्फ अघि बढाउन परिषद्ले अभियानको रुपमा अघि सारेको सदस्य सचिव शर्माले बताए।

उनले भने, ‘सबै खेल संघहरुको संस्थागत सुधार र क्षमता अभिवृद्धि गर्दै खेलकुद क्षेत्रको फलामे अनुशासनलाई कायम गर्दै खुट्टा तान्ने प्रवृत्तिको अन्त्य हुन आवश्यक छ,’ उनले भने।  

उक्त प्रशिक्षणमा ६ देखि १६ वर्ष सम्मका बालबालिका सहभागी छन्। उनीहरुलाई दुई महिना प्रशिक्षण दिइनेछ। पहिलो चरणमा ३० जना बालबालिका सहभागी छन्। ती सबै विपन्न वर्गका बालबालिका हुन्। घरघरबाट ल्याएर उनीहरुलाई प्रशिक्षणमा सहभागी गराइएको पनि संघले बताएको छ।

कार्यक्रममा गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थले गण्डकीको टेनिस खेल पनि विपन्न वर्गका बालबालिकाबाटै सुरु भएकोले यस कार्यक्रम मार्फत पहिलो पटक सोही वर्गका बालबालिका समेटिने बताए।

‘खेल्छ गण्डकी खेल्नेका लागि एक महत्त्वपूर्ण कार्यक्रम हो। यो कार्यक्रम मार्फत समाजमा पछाडि परेका बालबालिकालाई टेनिस मैदानसम्म ल्याएर राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छौं,’ कायस्थले भने।

प्रकाशित: २६ फाल्गुन २०८० १७:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App