२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

नेदरल्यान्ड्ससँग फाइनलमा चुक्यो नेपाल

अन्तिम तीन ओभरमा ब्याटिङसँगै खराब बलिङ गरेको नेपालले घरेलु मैदानमा सम्पन्न त्रिदेशीय टी–२० आई शृंखला गुमाएको छ।

नेपालले मंगलबार त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्ससँग चार विकेटको हारसँगै त्रिदेशीय शृंखलाको उपाधि गुमायो। यस क्रममा नेपालले अन्तिम तीन ओभरमा ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गर्‍यो। एक समय नेपालको दुई सय रनको योगफल सम्भव देखिएको थियो। तर, १८औं र १९औं ओभरमा चार विकेट गुमाउँदा १० रन मात्र जोडेपछि नेपालको लक्ष्य पूरा हुन सकेन। त्यससँगै नेपालले डच टोलीलाई १८५ रनको राम्रो लक्ष्य दियो। बलिङमा पनि अन्तिम तीन ओभर खराब प्रदर्शनपछि नेपालले उपाधि गुमाउन पुग्यो।

डच टोलीले १९.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। नेपालका अनुभवी बलर सोमपाल कामी चल्न सकेनन्। डेथ ओभर विशेष मानिएका अविनाश बोहोरासँगै करण केसीको प्रदर्शन पनि बिर्सनलायक रह्यो। कुशल मल्लले चार विकेट लिँदै चुनौती दिए। तर, उनी पनि महँगा साबित भए।  

नेदरल्यान्ड्सले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्दै घरेलु बलरमाथि दबाब बनायो। ओपनर माइकल लेभितले ५४ रन र साइब्रान्ड एंगलबे्रक्टले ४८ रन जोडे। लेभितले २९ बलमा ६ चौका र तीन छक्का हिर्काउँदै आक्रामक ब्याटिङ गरे। उनले पहिलो विकेटका लागि म्याक्स ओडोउडसँग ८३ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिए।

नेपाली बलर छिटै ब्रेक थु्र दिलाउन असफल रहे। डच टोलीले त्यसको फाइदा लियो। नेपालले विकेटका लागि नवौं ओभरसम्म कुर्नुपर्‍यो। कुशल मल्लले ओ डोउडलाई २२ रनमा पभेलियन फर्काउँदै पहिलो सफललता दिलाए। त्यसपछि डच टोलीले विक्रमजित सिंह र साइब्रान्डको साथ पायो। विक्रमजितले २९ रन जोडे। डेथ ओभरको पहिलो तीन बलमा टिम भान डेरले समान एक छक्का र चौका प्रहार गर्दै तीन बलअगावै आफ्नो टोलीको जित सुरक्षित गराए। टिम भान ५ बल खेल्दै २१ रनमा अविजित रहे। नेपालको बलिङमा अविनाश र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभर खेल्दै आठ विकेटको क्षतिमा १८४ रनको योगफल बनायो। ओपनर आसिफ शेखले ४७ रन जोड्दा अर्का ओपनर कुशल भुर्तेल २० रनमा पभेलियन फर्किए। ३७ बलमा आसिफले तीन छक्का र एक चौका हिर्काए। नेपालले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्‍यो। ओपनर कुशलले ठूला सट खेल्दै दबाब बनाउने प्रयास गरे। तर, उनी लगातार छक्का प्रहार गर्ने चक्करमा चौथो ओभरमा आउट हुन पुगे। त्यसपछि गुल्सन झाले ३४ रन, कुशल मल्लले २६ रन, कप्तान रोहितकुमार पौडेलले २५ रन जोड्दा नेपाल राम्रो योगफलतर्पm अग्रसर भयो। ओपनर आसिफले दोस्रो विकेटका लागि रोहितसँग ५९ रनको साझेदारी गरे।

पावर प्लेमा ५५ रन जोड्दा एक विकेट मात्र गुमाएको नेपालले १३.३ ओभरसम्म राम्रो ब्याटिङ गरेको थियो। यद्यपि, दुई ओभरभित्र चार विकेट पतनपछि नेपालको लक्ष्य पूरा भएन। नेदरल्यान्ड्सको बलिङमा टिम भान डेर, लेभित, साइब्रान्ड र पे्रmड क्लासेनले समान दुई विकेट लिए। लिग चरणमा चार अंकका साथ नेपाल दोस्रो स्थानमा रहेर फाइनल प्रवेश गरेको हो। डच टोलीले भने पाँच अंक जोडेको थियो। सुरुआती दुई खेलमा नेपालले नामिबियासँग २० रन र नेदरल्यान्ड्ससँग दुई रनको हार बेहोरेको थियो। तर, पछिल्ला दुई खेलमा नामिबियामाथि तीन रन र नेदरल्यान्ड्समाथि ६ विकेटको जितसँगै नेपाल फाइनलमा पुगेको थियो।

प्रकाशित: २३ फाल्गुन २०८० ०७:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App