१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

नेदरल्यान्ड्समाथि बलर हाबी हुँदा नेपालको सहज जित

नेपालले नामिबिया र नेदरल्यान्ड्ससँगको जारी त्रिकोणीय सिरिजको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।

लिग चरणको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै फाइनलको सम्भावना बलियो बनाएको हो।

आजको जितमा नेपाली बलरहरू नायक रहे। टस जितेर ब्याटिङको निर्णय गरेको नेदरल्यान्ड्समाथि नेपाली बलरहरू सुरुवातदेखि नै हाबी बने।

नेपालका तर्फबाट पहिलो ओभर बलिङमा आएका करन केसीले पहिलो ओभरमै नेदरल्यान्ड्सलाई दोहोरो झट्का दिएर ब्याकफूटमा धकेलेका थिए। उनले ओभरको चौथो बलमा माइकल लेभित र अन्तिम बलमा सिब्रन्ड एन्गेल्ब्रेच्टको विकेट लिए।

त्यसपछि नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड र फ्याक्स ओडाउडले ८ ओभरसम्म सम्हालिएर खेलेका थिए। त्यसक्रममा उनीहरूले अर्धशतकीय साझेदारी गरे।

नवौं ओभर बलिङमा आएका प्रतिश जिसीले फेरी घातक रुप देखाए। उनले कप्तान एडवार्ड र ओडाउट दुबैलाई बोल्ड गरेर पेभेलियन फर्काइदिए।

१० औं ओभरमा कुशल मल्लले पनि नोह क्रोज र आर्यन दत्तको विकेट लिएर नेदरल्यान्ड्सलाई दोहोरो झट्का दिएपछि नेदरल्यान्ड्स सम्हालिन सकेन्।

त्यसपछि १५ औ ओभरमा प्रतिशले, १८ औं ओभरमा दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट निकाले निकाल्दा नेदरल्यान्ड्सका आठ विकेट पेभेलियन फकिए। अन्तिम दुई विकेट भने रनआउट भए। यसरी नेदरल्यान्ड्स १९ ओभर ३ बलमा अलआउट हुँदै १२० रनमा रोकियो। जसमा नेपालका बलरहरूमा प्रतिशले तीन, करन र कुशलले दुई/दुई, दीपेन्द्रले एक विकेट लिए।

नेदरल्यान्ड्सका तर्फबाट ओडाउटले ३१, भान डर गगटनले २४, भान डर मेर्वेले २३ कप्तान स्कट एडवार्डले १८ रनको बनाए।

१२१ रनको लक्ष्य लिई जवाफी ब्याटिङमा उत्रिएको नेपाली टोलीले दुई विकेटको क्षतिमा २८ बल बाँकी रहँदै जित हात पार्‍यो। ब्याटिङमा नेपालका कप्तान रोहित पौडेलले ३४ बलमा ४६ रन, गुल्शन झाले ३६ बलमा ३८ रन, कुशल भुर्तेलले ८ बलमा १२ र आशिफ शेखले ८ बलमा ८ रनको योगदान दिए। नेदरल्यान्ड्सका भिभियन किंग्माले तीन र आर्यन दत्तले एक विकेट लिए। 

यो जितसँगै अंकतालिकामा नेपालको ४ अंक पुगेको छ। यसअघि दुई जित हात पारेको नेदरल्यान्ड्सको पनि समान ४ अंक छ।

एक खेल नेपालसँग जितेको नामिबियाको २ अंक छ। भोलि नामिबिया र नेदरल्यान्ड्सबीचको खेलले फाइनल खेल्ने दुई टिमको तय गर्नेछ। भोलिको खेलमा नेदरल्यान्ड्स जिते नेदरल्यान्ड्स र नेपालबीच फाइनल हुनेछ भने, नामिबिया जिते तीनवटै टिमको ४/४ अंक हुँदा नेटरनरेटका आधारमा फाइनलिस्ट चयन हुनेछन्।

प्रकाशित: १९ फाल्गुन २०८० १४:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App