२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेदरल्यान्ड्सको रबाफिलो जित

आइसिसी विश्वकप क्रिकेट लिग–२

नामिबियाविरुद्ध बलिङ गर्दै नेदरल्यान्ड्सका बलर। तस्बिर: क्यान

नेपालसँग शनिबार फराकिलो हार बेहोर्दै स्तब्ध बनेको नेदरल्यान्ड्सले सोमबार नामिबियाविरुद्ध भने रबाफिलो जित निकालेको छ। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत सोमबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा नेदरल्यान्ड्स र नामिबिया भिडेका थिए। जसमा नेदरल्यान्ड्सले सात विकेटले जित निकाल्दै प्रतियोगितामा पुनरागमन गरेको छ। नेदरल्यान्ड्सको जितमा आर्यन दत्त नायक रहे।

नेदरल्यान्डका कप्तान स्कट एडवार्ड्सले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि सुरु भएको नामिबियाको इनिङ सात ओभरको अन्त्यसम्म विकेटविहीन रह्यो। आठौं ओभरमा नेदरल्यान्ड्सका आर्यन स्पिन बलिङ गर्न आए। उनले एकपछि अर्काे गरी नामिबियाका ६ ब्याट्सम्यानलाई पभेलियन पठाए। यस क्रममा उनले नौ ओभर बलिङ गर्दै ३४ रन खर्चिए।

यस्तै काइल क्लेनले ५.१ ओभर बलिङ गर्दै २१ रन खर्चिएर २ विकेट लिँदा रिलोफ भान डर मेर्वे र म्याक्स ओडाउडले एकएक विकेट लिएपछि नामिबिया ३५.१ ओभरमा सबै विकेट गुमाउँदै १२३ रनमा धराशयी बन्यो।

नामिबियाका लागि जेजे स्मिथले ४६ बलमा २६ रन, रुबेल ट्रम्पलम्यानले ३९ बलमा २० रन, जेन ग्रिनले २९ बलमा १९ रन जोड्नुबाहेक अन्यले उल्लेखनीय योगदान दिन सकेनन्।

नामिबियाले दिएको १२४ रनको झीनो लक्ष्य पछ्याउन नेदरल्यान्ड्सलाई २७.२ ओभर मात्रै लाग्यो। जसमा ओपनर माइकल लेभितले अर्धशतक प्रहार गरे। उनले ८१ बलमा ५७ रन बनाउँदा, अर्का ओपनर म्याक्स ओडाउडले ४२ बलमा २८ रन र बस डे लिडेले २० बलमा अविजित २१ रन बनाए।

यद्यपि सानो लक्ष्य डिफेन्ड गर्ने क्रममा नामिबियाका बलरले नेदरल्यान्ड्सका तीन विकेट भने लिन सफल भए। नेपालविरुद्ध ५ विकेट लिएका कप्तान जेरार्ड एरास्मसले नेदरल्यान्ड्सका तीनवटै विकेट लिए। ७ ओभरमा २३ रन खर्चिएर उनले तीन विकेट लिएका हुन्।

जारी त्रिकोणात्मक सिरिजमा यसअघि नेपालले नेदरल्यान्ड्ससँग र नामिबियाले नेपालसँग फराकिलो जित निकालेका थिए। नेपाल र नामिबियाबीचमा फेब्रुअरी १५ मा पहिलो खेल भएको थियो। जसमा नेपाललाई १३२ रनमा रोकेको नामिबियाले ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाउँदै चार विकेटको जित निकालेको थियो।

यस्तै गत शनिबार नेदरल्यान्ड्सलाई १३७ रनमा रोकेको नेपालले एक विकेटको क्षतिमा २०८ बल बाँकी रहँदै सानदार जित निकालेको थियो। नेपालको जितमा कुशल भुर्तेलले अलराउन्ड प्रदर्शन गरेका थिए। उनले ४ विकेट लिँदै २८ रन पनि बनाएका थिए। नेपालका अनिलकुमार साह (३६ बलमा ५७ रन) र आशिफ शेख (४५ बलमा ५४ रन) ले अर्धशतक बनाएका थिए।

यससँगै तीनवटै टोलीले एक÷एक जित र हारका साथ अंकतालिकामा २ अंक जोडेका छन्। नेट रनरेटमा भने नेपाल दुवै टोलीलाई उछिनेर एक नम्बरमा छ। नामिबिया दोस्रो र नेदरल्यान्ड्स तेस्रो स्थानमा छन्।

सन् २०२७ को एकदिवसीय विश्वकपको प्रारम्भिक ढोकाका रूपमा लिइएको आइसिसी विश्वकप क्रिकेट लिग–२ (२०२४–२०२७) अन्तर्गत यो सिरिज चलिरहेको छ। लिगमा नेपाल, नामिबिया, नेदरल्यान्डसहित युएई, क्यानडा, युएसए, स्कटल्यान्ड र ओमान गरी आठ टोली छन्।

यी सबै टोलीबीच चार वर्षको अवधिमा परस्पर २४ ओटा त्रिकोणात्मक सिरिज हुनेछन्। जसमा कुल १४४ खेल हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जनाएको छ। लिगका शीर्ष ४ टोलीले सीधै विश्वकप छनोट खेल्न पाउनेछन्। पुछारका चार टोली क्वालिफायर प्लेअफमार्फत विश्वकप छनोटमा आउनुपर्नेछ।

२०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा हुने आइसिसीले घोषणा गरेको छ। जसमा कुल १४ टोली सहभागी हुनेछन्। त्यसमध्ये दक्षिण अफ्रिका र जिम्बाब्वेले आयोजकका रूपमा स्थान बनाइसकेका छन्।

आइसिसीका नियमित १२ सदस्य राष्ट्रमध्ये वरीयताका शीर्ष ८ टोली स्वतः विश्वकपमा सहभागी हुन पाउनेछन्। यस्तै थप २ सदस्य राष्ट्र, लिग–२ का शीर्ष ४ राष्ट्र र क्वालिफायर प्लेअफबाट आएका ४ राष्ट्रबीच विश्वकप छनोट खेल हुनेछ। जसमा शीर्ष ४ मा पर्ने राष्ट्रले सन् २०२७ को विश्वकप खेल्न पाउनेछन्।

नेपालले पनि लिग–२ मा शीर्ष चारभित्र पर्दै विश्वकप छनोटमा पुगेर त्यहाँबाट पनि शीर्ष चारमा पुग्दै विश्वकप खेल्ने लक्ष्य राखेको छ। 

प्रकाशित: ८ फाल्गुन २०८० ०७:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App