१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नेपाललाई क्यानडाविरुद्धको शृंखला

रन लिँदै नेपालका कप्तान रोहितकुमार पौडेल र देव खनाल। तस्बिर: क्यान

कप्तान रोहितकुमार पौडेल र देव खनालको साझेदारी प्रेरणामा नेपालले शनिबार क्यानडासँगको दोस्रो एकदिवसीय खेलमा चार विकेटको जित निकाल्दै शृंखला आफ्नो पक्षमा पारेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको चुनौतीपूर्ण लक्ष्य नेपालले ६ विकेटको क्षतिमा ४५.१ ओभरमा नै पूरा गर्‍यो। यससँगै नेपालले एक खेलअगावै तीन खेलको शृंखला २–० ले आफ्नो बनायो।

कप्तान रोहित र देवले १५० रनको साझेदारी गर्दै नेपालको जितको आधार बनाए। कप्तान रोहित लगातार खेलमा म्यान अफ दी म्याच भए। उनकै चार विकेटको मद्दतमा नेपालले पहिलो खेलमा क्यानडामाथि सात रनको रोमाञ्चक जित निकालेको हो। पहिलो खेलमा रोहितको ब्याटिङ चल्न सकेन।

दोस्रो खेलमा कप्तान रोहितले अलराउन्ड प्रदर्शन गरे। उनले दुई विकेटसँगै अर्धशतक पनि बनाए। कप्तान रोहितसँगै ओपनर अनिल साह र देवले अर्धशतक बनाएपछि नेपालले २९ बलअगावै जित सुरक्षित गर्‍यो।

अनिलले ५०, रोहितले ८७ र देवले ७६ रन बनाए। नेपालका प्रशिक्षक मोन्टी देसाईले दोस्रो खेलमा तीन परिवर्तन गराउँदा अनिल र देवले अवसर पाएका हुन्। केही समयअगाडि यु–१९ विश्वकपमा राम्रो प्रदर्शन गरेका आकाश चन्दले शनिबार सिनियर टोलीबाट डेब्यु गरे।

आकाशले पनि एक विकेट लिँदा प्रशिक्षक देसाईका तीन परिवर्तन सफल भए। लक्ष्य पछ्याउने क्रममा ओपनर अनिलले आक्रामक ब्याटिङ गर्दै राम्रो सुरुआत दिलाए। अनिलले पहिलो विकेटका लागि आसिफ सेखसँग ५५ रनको साझेदारी गरे। ४.४ ओभरमा नै यो साझेदारी बनेको हो।

ईश्वरज्योत सोहीले आसिफलाई १० रनमा नै आउट गर्दै पहिलो झड्का दिए। दोस्रो विकेट पनि सोहीले नै लिए। थप ९ रन  जोड्दा अनिल पनि आउट भए। उनले २० बलमा सात चौका र तीन छक्का प्रहार गरे। यससँगै ६.३ ओभरमा नेपाल ६४/२ को अवस्था पुग्यो।

तर, कप्तान रोहित र देवले धैर्यपूर्वक ब्याटिङ गर्दै जितको आधार बनाए। यो जोडीले एकदिवसीयमा तेस्रो विकेटका लागि नेपालको अहिलेसम्मकै ठूलो साझेदारी गर्‍यो। यसअघि रोहित र कुशल भुर्तेलको नाममा १३३ रनको साझेदारी थियो। जुन, रेकर्ड रोहित र देवले शनिबार पछि पारे।

हर्ष ठाकरेले ३४औं ओभरमा देवलाई कट एन्ड बोल्ड गर्दै यो साझेदारी तोडे। देवले ८१ बलमा सात चौका र दुई छक्का प्रहार गरे। रोहितले चौथो विकेटका लागि भीम सार्कीसँग ३९ रनको साझेदारी गर्दै टोली जिततर्फ अग्रसर गराए।

४०औं ओभरमा भीम २३ रनमा दिलप्रीत बाज्वाद्वारा आउट भए। उनको इनिङमा चार चौका रह्यो। खातामा थप १४ रन जोड्दा नेपालले थप दुई विकेट गुमायो। क्यानडाका कप्तान साद बिन जफरले कप्तान रोहितलाई आउट गर्दै पाँचौं विकेट दिलाए।

रोहितले १०१ बलमा आठ चौका र चार छक्का प्रहार गरे। पवन सर्राफ पनि १४ रनमै आउट भए। सोमपाल कामी र कुशल मल्ल समान ९ रनमा अविजित रहँदै जित दिलाए। क्यानडाको बलिङमा हर्ष र सोहीले समान दुई विकेट लिँदा कप्तान साद र दिलप्रीतको नाममा एक विकेट रह्यो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्‍यो। नेपालका बलरले मध्य ओभरमा दबाब बनाए पनि क्यानडाले निर्धारित ५० ओभर नै खेल्दै ९ विकेटको क्षतिमा २८६ रनको लक्ष्य प्रस्तुत गर्‍यो। शीर्ष क्रमका ब्याटर चल्दा क्यानडाले राम्रो योगफल बनाएको हो।

ओपनरद्वय आरोन जोनसनले ६५ र नवनीत धलिवालले ४६ रन बनाए। यो जोडीले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गर्‍यो। डेब्युटेन्ट आकाशले नवनीतलाई विकेटकिपर आसिफबाट क्याच गराउँदै पहिलो सफलता दिलाए। नवनीतले ६० बलमा ६ चौका हिर्काए।

२३औं ओभरमा अर्का ओपनर आरोन रनआउट भए। उनले ६२ बलमा १० चौका र दुई छक्का प्रहार गरे। त्यसपछि नेपालले रनको गतिमा अंकुश लगायो। तर, पर्गत सिंह र निकोलस किर्तनले धैर्यपूर्वक ब्याटिङसँगै तेस्रो विकेटका लागि  ५३ रनको साझेदारी गरे।

कप्तान रोहितले पर्गतलाई ३८ रनमा पभेलियन फर्काए। ३१.२ ओभरमा १७९/३ को स्थितिमा रहेको क्यानडाले थप १४ रन जोड्दा थप दुई विकेट गुमायो। यस क्रममा किर्तन २० रनमा र हर्ष ठाकरे ३ रनमा नै पभेलियन फर्किए। यससँगै ३४.५ ओभरमा क्यानडा १९३/५ को अवस्थामा पुग्यो।

त्यसपछि नेपाली बलरले कसिलो बलिङ गर्दा क्यानडा समालिएर खेल्ने रणनीतिमा पुग्यो। तर, कुशलले दिलप्रीतलाई १९ रनमा बोल्ड गर्दै छैटौं विकेट पतन गराए। उनले २० बलमा दुई छक्का र एक चौका हिर्काए।

कुशलले कप्तान सादलाई पनि १ रनमै पभेलियन फर्काए र ४१औं ओभरमा क्यानडा २१६÷७ को अवस्थामा पुग्यो। तर, विकेटकिपर श्रेयस मोभ्भाले आठौं विकेटका लागि साहिदी अहमदजाईसँग २३ रन र नवौं विकेटका लागि उदय भागवानसँग ४६ रनको साझेदारी गर्दै क्यानडालाई राम्रो योगफलतर्फ अग्रसर गराए।

साहिद १३ रनमा पवनद्वारा बोल्ड भए। श्रेयस चार चौकासहित ४० रनमा इनिङको अन्तिम बलमा आउट भए। उदय २० रनमा नटआउट रहे। उनले १५ बलमा समान एक चौका र छक्का हिर्काए।

नेपालको बलिङमा रोहितसँगै कुशलले दुई विकेट लिए। सोमपाल, सूर्य तामाङ, आकाश र पवनको नाममा समान एक विकेट रह्यो। नेपालले अब तेस्रो तथा अन्तिम खेल सोमबार खेल्नेछ। 

प्रकाशित: २८ माघ २०८० ०७:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App