१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

एपिएफलाई मकवानपुर गोल्डकपको उपाधि

उपाधिका साथ एपिएफका खेलाडीहरु।<br>

सशस्त्र प्रहरीको एपिएफ क्लबले छैठौं संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

शनिबार भएको फाइनल भिडन्तमा न्यूरोड टिम एनआरटीलाई सडनडेथमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो।

हेटौंडा–६ स्थित निर्माणाधीन गौरीटार रंगशालामा भएको फाइनलमा निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथमार्फत खेलको निर्णय लिइएको हो।

टाइब्रेकरमा ३–३ गोलको बराबरी भएपछि खेल सडनडेथतर्फ धकेलिएको थियो। सडन डेथको दोस्रो पेनाल्टीमा विदेशी खेलाडी फोडे फोफनाले निर्णायक गोल गरेसँगै एपिएफले पहिलो पटक मकवानपुर गोल्डकपको उपाधिमा नाम लेखाउन सफल भएको हो।

टाइब्रेकरमा एपिएफका एनिसेट, कुलदीप कार्की र सुमन श्रेष्ठले गोल गर्दा दिपेश धिमालको प्रहार बारमा लागेर बाहिरिएको थियो भने बुद्धिमान राईको प्रहारलाई एनआरटीका गोलरक्षक प्रिसोले रोकेका थिए। 

एनआरटीका जय गुरुङ, प्रिसो र विवेक गुरुङले गोल गर्दा सरोज तामाङ र अभिषेक गुरुङको प्रहार बाहिरिएको थियो। सडनडेथमा एपिएफका मणि लामा र फोफनाले गोल गरेका थिए।

एनआरटीका मोहित गुरुङले गोल गर्दा रन्दिप पौडेलको प्रहार एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले रोकेका थिए। पहिलो हाफमा दुवै टिमले खासै मुभ बनाउन सकेन। 

खेलको ४८ औं मिनेटमा मोहित गुरुङको फ्रि किक प्रहार बारमा लागेर बाहिरिँदा एनआरटीले अग्रता लिन सकेन।

६५ औं मिनेटमा पुनः एनआरटीले फ्रिकिक पायो। गोलरक्षक प्रिसोको फ्रिकिक प्रहार आकासियो। अतिरिक्त समयमा एपिएफका प्रदीप लामाले मिलाइदिएको बललाई युवराज खड्काले पोष्टको दिशा दिन सकेनन्। 

मकवानपुर जिल्ला फुटबल संघले आयोजनामा माघ १६ गतेबाट सञ्चालन भएको छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकपमा १२ टोलीको सहभागिता थियो।

एपिएफका महर्जनलाई बुलेट

मकवानपुर गोल्डकपको विजेता एपिएफ क्लबका फरवार्ड अनिष महर्जनले सर्वोत्कृष्ट खेलाडी चुनिँदै बुलेट मोटरसाइकल प्राप्त गरेका छन्।

 बुलेट मोटरसाइकलको चाबी ग्रहण गर्दै सर्वोत्कृष्ट खेलाडी महर्जन।

क्वार्टरफाइनल र सेमिफाइनलमा समेत गोल गरेका महर्जन प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्। 

उनलाई पर्शुराम स्मृति प्रतिष्ठानले उपलब्ध गराएको बुलेट मोटरसाइकल प्रदान गरिएको हो। करिब ५ लाख रुपैयाँ बराबरको मोटरसाइकल प्राप्त गरेपछि उनले खुसी व्यक्त गरे। केही महिना अघि मात्रै एपिएफमा आबद्ध भएका उनी हेटौंडाकै हुन्।

प्रतियोगिताका एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठ, डिफेन्डर कुलदीप कार्की र प्रशिक्षक सुमन श्रेष्ठ तथा एनआरटी मिडफिल्डर जय गुरुङ, फरवार्ड जोन ग्लोरी उत्कृष्ट घोषित भए। उनीहरुले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गरे। 

आयोजक मकवानपुर जिल्ला फुटबल संघले वर्षेनी सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल प्रदान गर्दै आएको छ।

प्रतियोगिताको समापनमा मकवानपुरे पूर्व खेलाडी, प्रशिक्षक एवम् सहयोगी संघसंस्थाहरुलाई सम्मान गरिएको थियो। 

प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीलाई बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, आयोजक अध्यक्ष टीकाराम लामा लगायतले पुरस्कार वितरण गरेका हुन्।

प्रकाशित: २७ माघ २०८० २२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App