२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नगर स्तरीय ७ ‘ए’ साइड फुटबलको उपाधि ज्ञानमन्दिर माविलाई

ट्रफीका साथ विजेता ज्ञानमन्दिर नमुना माविका खेलाडी। तस्बिर: ध्रुव/नागरिक

ज्ञानमन्दिर नमुना माविले दोस्रो चौतारा स्पोर्टिङ क्लब नगर स्तरीय ७ ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

सदरमुकाम चौताराको टुँडिखेलस्थित मिनिरंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा सेतीदेवी मावि स्याउलेलाई पेनाल्टी सुटआउटमा ०–२ गोलले स्तब्ध पार्दै ज्ञानमन्दिरल उपाधि जितेको हो।

उपाधिसँगै विजेता ज्ञानमन्दिरले नगद ३० हजार रुपैयाँ पुरस्कार पायो। उपविजेता सेतीदेवीले नगद २० हजार रुपैयाँमा चित्त बुझायो।

निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि उपाधिको छिनोफानो सिधै टाइब्रेकरबाट लगाइएको हो। यसअघि रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनलमा सुरुवाती अग्रता भने ज्ञानमन्दिरले लिएको थियो। आत्मघाती गोल खाएपछि पुनः मेलचौरले लिएको अग्रता खेलको अन्तिम समयमा गोल फर्काउँदै सेतीदेवीले बराबरीमा पुर्‍याएको थियो।

पेनाल्टी सुटआउटमा ज्ञानमन्दिरका गोलरक्षक सन्देश दंगाल हिरो बने। उनले सेतीदेवीका दुई खेलाडीको पेनाल्टी उत्कृष्ट बचाउ गर्दै ज्ञानमन्दिरलाई उपाधि दिलाए। खेलको म्यान अफ द म्याच जितेका दंगाल नै प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक चुनिँदै गोल्ड्रेन ग्लोब्स जिते।

ज्ञानमन्दिरकै सगुन श्रेष्ठले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएर गोल्ड्रेन बल जित्दा उपविजेता सेतीदेवीका शुसन श्रेष्ठ उत्कृष्ट डिफेन्डर, विजेन श्रेष्ठ उत्कृष्ट स्ट्राइकर छानिए।

सिद्धिगणेश मावि सानोसिरुवारीका सागर थापामगर उत्कृष्ट मिडफिल्डर चुनिँदा इर्खु माविका १० वर्षीय खेलाडी सुवास महतले इमर्जिङ प्लेयरको अवार्ड जिते।

प्रतियोगिताभर सर्वाधिक ५ गोल गरेर ज्ञानमन्दिरका जोन श्रेष्ठले गोल्ड्रेन बुट जिते। सिद्धिगणेशले फेयरप्लेको अवार्ड हात पा¥यो। उनीहरुले ट्रफी पुरस्कार पाए।

चौतारा स्पोर्टिङ क्लबद्वारा आयोजित चौतारा साँगाचोकगढी माविस्तरीय प्रतियोगिताको विजेता विद्यालय तथा खेलाडीलाई नगरकी उपप्रमुख सीता थापा, सामाजिक विकास शाखाका संयोजक रामप्रसाद गौतम लगायतले ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए।

तीन दिनसम्म चलेको प्रतियोगितामा नगरभित्रका १४ विद्यालयले प्रतिस्पर्धा गरेका थिए। विद्यालय तहबाटै युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित प्रतियोगितालाई निरन्तरता दिने आयोजक संस्थाका अध्यक्ष सविन श्रेष्ठले प्रतिबद्धता जनाए।

चौतारा स्पोर्टिङले गत वर्ष प्रतियोगिताको पहिलो संस्करण मेलचौरमा खेलाएको थियो।

प्रकाशित: २० माघ २०८० २०:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App