३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

शेर्पालाई स्तब्ध पार्दै एनआरटी क्वाटरफाइनलमा

बलका लागि प्रतिस्पर्धा गर्दै एनआरटी र शेर्पाका खेलाडी।

साविक उपविजेता हिमालयन शेर्पा क्लबलाई स्तब्ध पार्दै न्यूरोड टिम (एनआरटी) हेटौंडाको गौरिटार रंगशालामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

बुधबार भएको खेलमा शेर्पालाई ३–० ले हराउँदै एनआरटीले क्वाटरफाइनलमा स्थान बनाएको हो। सुरुवाती समय निकै राम्रो खेल प्रस्तुत गरेको शेर्पाले २९ औं मिनेटमा गोल व्यहोरेको थियो। 

जोन ग्लोरीले निकालिदिएको पासलाई सदुपयोग गर्दै सरोज तामाङले गोल गरेका हुन्। पहिलो हाफ एक गोलले अघि रहेको एनआरटीले दोस्रो हाफमा दुई गोल थपेको थियो। 

५७ औं एनआरटीका रोहन खड्कीले अग्रता दोब्बर पारे। उनले शेर्पाका दुई डिफेण्डरलाई छक्याउँदै गरेको प्रहार गोलमा परिणत भएको थियो। ८६ औं मिनेटमा एनआरटीले अर्को गोल थप्यो। मोहित गुरुङको क्रसलाई सुमित श्रेष्ठले गोलमा परिणत गरेका हुन्।

सुरुवाती करिब आधा घण्टा शेर्पाले राम्रो खेल खेल्दै केही अवसर समेत सृजना गरेको थियो। २२ औं मिनेटमा शेर्पाका नेपोलियनले वान भर्सेस वान प्रहारलाई गोल गर्न सकेनन्। एनआरटीका खेलाडीले अफसाइड भनेर छोडेको अनसाइड नै रहेको बललाई उनले गोल गर्ने प्रयास गरेपनि गोलरक्षक प्रिसोले बचाएका थिए। त्यसको तीन मिनेट पछि नेपोलियनकै सशक्त प्रहारलाई प्रिसोले मुस्किलले बचाए। 

दोस्रो हाफमा भने एनआरटी हाबी भएको थियो। खेलको म्यान अफ द म्याच एनआरटीका सरोज तामाङ घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। हिमालयन शेर्पा क्लबका प्रशिक्षक शिव लामाले तयारी नपुगेको र टिम सेटअप हुन नसकेकोले हार व्यहोर्नुपरेको प्रतिक्रिया दिए। 

‘केही खेलाडी बिहान मात्र आइपुगे। खेलाडीले आराम गर्ने मौका नै पाएनन्’, उनले भने, ‘पहिलो हाफमा पाएको केही मौका सदुपयोग गर्न नसक्दा हार व्यहोर्न बाध्य भयौं।’ 

यता एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले आफ्ना खेलाडीले उत्कृष्ट खेल्दै राम्रो नतिजा निकालेको बताए। ‘पहिलोको तुलनामा दोस्रो हाफ राम्रो खेल्यौं’ उनले भने, ‘आगामी खेल थप सुधारिएर खेल्नेछौं।’ 

जारी प्रतियोगितामा बिहीबार मच्छिन्द्र फुटबल क्लब र सशस्त्र प्रहरीको एपिएफबीच खेल हुनेछ। १२ टोलीको सहभागिता रहेको प्रतियोगिता २७ गतेसम्म सञ्चालन हुनेछ। 

गोल्डकपको विजेताले नगद १५ लाख र उपविजेताले दश लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडीले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजक मकवानपुर जिल्ला फुटबल संघ मकवानपुर अध्यक्ष टीकाराम लामाले जानकारी दिए।

प्रकाशित: १७ माघ २०८० १४:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App