१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

मकवानपुर गोल्डकपमा १२ क्लब, तयारी तीव्र

मकवानपुर गोल्डकपको विषयमा जानकारी दिँदै आयोजक।

मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा सञ्चालन हुँदै आएको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको छैटौँ संस्करणको तयारीलाई तीव्र पारिएको छ।

यही माघ १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा यस वर्ष पनि १२ टिमको सहभागिता रहने भएको छ। आयोजकले शुक्रबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै सहभागी क्लब र तयारीको विषयमा जानकारी दिएको हो। हेटौँडा ६ स्थित गौरिटार रङ्गशालामा हुने प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको आयोजक फुटबल सङ्घ मकवानपुर अध्यक्ष एवम् एन्फा केन्द्रीय सदस्य टीकाराम लामाले जानकारी दिए।

उनका अनुसार यस वर्षको गोल्डकपमा पारो एफसी भुटान, ए डिभिजन क्लबहरू चर्चब्वाइज युनाइटेड, सङ्कटा क्लब, हिमालयन शेर्पा क्लब, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, मच्छिन्द्र क्लब, मनाङ मर्स्याङ्दी क्लब, थ्रीस्टार क्लब, बागमती युवा क्लब सर्लाही, राजारानी क्लब धनकुटा र एन्फा मकवानपुरको सहभागिता रहने छ। प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। प्रतियोगिताको लागि एक करोड ६० लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान रहेको छ। यस वर्ष मकवानपुरको डाँफे युवा क्लबले प्रतियोगिताको व्यवस्थापकीय जिम्मेवारी लिएको छ।

‘मकवानपुरमा फुटबलको प्रवर्द्धन र विकाससँगै फुटबलको व्यवसायीकरणमा योगदान पु¥याउन हामीले मकवानपुरका स्थानीय तह तथा प्रदेश खेलकुद विकास परिषद्सहित विभिन्न सहयोगी संस्थासँगको सहकार्यमा गोल्डकपलाई निरन्तरता दिँदै आएका छौँ’, एन्फा केन्द्रीय सदस्य लामाले भने, ‘यसबाट जिल्लाका खेलाडीहरूलाई फुटबल खेलमा लाग्न हौसला मिल्नेछ भन्ने विश्वास लिएका छौँ।’

यसअघि पिप्ले–क्याम्पा रङ्गशालामा हुँदै आएको गोल्डकप यसवर्ष भने निर्माणाधीन गौरिटार रङ्गशालामा हुन लागेको हो। यसबाट रङ्गशाला निर्माणमा समेत दबाब सृजना हुने फुटबल सङ्घका उपाध्यक्ष युवराज लामाले बताए। पाँचौ संस्करणको फाइनलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लबले उपाधि जितेको थियो।

सर्वोत्कृष्ट खेलाडीलाई बुलेट

मकवानपुर गोल्डकपको सर्वोत्कृष्ट खेलाडीले यस वर्ष पनि बुलेट मोटरसाइकल प्राप्त गर्ने भएका छन्। आयोजक फुटबल सङ्घले यसअघि पनि प्रत्येक वर्ष सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल प्रदान गर्दै आएको थियो। यसअघि हेटौँडा स्कुल अफ म्यानेजमेन्टले बुलेट मोटरसाइकल प्रायोजन गर्दै आएकोमा यस वर्ष भने पर्शुराम स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् गजुरमुखी निर्माण सेवाका सञ्चालक सन्तोष गौतमले बुलेट उपलब्ध गराएका हुन्। प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। यस्तै हरेक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ। अघिल्लो वर्ष मनाङ मर्स्याङ्दी क्लबका कप्तान तथा गोलरक्षक दीप कार्कीले बुलेट मोटरसाइकल प्राप्त गरेका थिए।

प्रकाशित: ५ माघ २०८० १२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App