५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन: प्रिन्स र रसिलालाई उपाधी

पिएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मीकी रसिला महर्जन प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधी हात पार्न सफल भएका छन्।स्पोर्टस् हवको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकल तर्फ प्रिन्सले आर्मीका प्रफुल्ल महर्जनलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधी उचालेका हुन्।

पहिलो सेट २१–१६ ले जितेका प्रिन्सले दोश्रो सेटमा पनि प्रफुल्ललाई २१–१६ मा नै रोक्दै उपाधिलाई आफ्नो नाममा लेखाउन सफल भए। एपिएफका देव राज राना र नेपाल पुलिसका विष्णु कटुवालले तेस्रो स्थानमा चित्त बुझाए।यस्तै महिला एकल तर्फ रसिलालले आफ्नै क्लबकी अनु माया राई माथि सहज जित निकाल्दै उपाधी उचालिन्। पहिलो सेटमा अनुलाई २१–३ ले हराएकी रसिलाले दोश्रो सेट २१–१४ ले पराजित गरेकी हुन्।आर्मीकी अमिता गिरी र कस्तुरी कलेजकी सीमा राजवंशी संयुक्त तेस्रो भए।

बौद्ध लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको स्थानीय तर्फ आयोजक स्पोर्टस् हवका अनुज तामाङ्ग र सुमित थोकरले जित हात पारे। अनुज र सुमितको जोडीले स्पोर्टस् हवकै अनिष गुरुङ्ग र रमेश ठकुरीको जोडीलाई १८–२१, २१–११, २१–१३ ले पराजित गर्दै प्रथम स्थान हात पार्न सफल भएका थिए। तेस्रो स्थानमा ध्रुव खत्री र लाक्पा तामाङ्गको जोडी तथा अश्मिल शाही र लाक्पा शेर्पाको जोडी संयुक्त तेस्रो भए।पुरुष शीर्ष २० वरीयता बाहेकको युगल तर्फ आयोजकका अभिषेक गुरुङ्ग र निश्चल खत्रीको जोडी तथा कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेप विच भएको प्रतिस्पर्धामा अधिकारी र लिनथेपको जोडीले २१–१४, २१–१९ को जित निकाल्दै उपाधी उचाले। तेस्रो स्थानमा एपिएफका भोज बहादुर गुरुङ्ग र सन्तोष पनेरुको जोडी तथा विवेक कन्दङ्गवा र नेल्सन राईको जोडी संयुक्त तेस्रो भए।

भेट्रान्स ३५ वर्ष माथिको खेलमा कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले उपाधी उचाले। खड्का र महर्जनको जोडीले आयोजकका आकास छन्त्याल र आङ्ग कुसाङ्ग शेर्पाको जोडीलाई २१–११, २१–१४ ले पराजित गर्दै उपाधी प्राप्त गरेका हुन्। तेस्रो स्थानमा चितवनका विद्वान गुरुङ्ग र अमर रायमाझीको जोडी तथा पिस फिटनेस सेन्टरका संजय कपाली र अनिल थाम्सुहाङ्गको जोडी रहे।४५ वर्ष माथिको प्रतिस्पर्धा चन्द्रागिरि ब्याडमिन्टन क्लबका हरि खत्री र राजकुमार पोखरेलको जोडीले पिस फिटनेस सेन्टरका संजय कपाली र अनिल थाम्सुहाङ्गको जोडी माथि जित निकाल्दै उपाधी हात पारे। 

खत्री र पोखरेलको जोडीले कपाली र थाम्सुहाङ्गको जोडी माथि २१–१४, २१–१८ को जित निकालेका हुन्। गण्डकीका तिलक छन्त्याल र हिरा रोका तथा एपिएफका धिरेन्द्र चन्द र टोखाका टिका थापा मगरको जोडी संयुक्त तेस्रो भए।विजयी खेलाडीलाई पूर्व मन्त्री एवं नेकपा माओवादी नेतृ पम्फा भुसालले पुरस्कार वितरण गरेकी थिइन्।करिब २५ लाखको लागत रहेको प्रतियोगितामा विजेता, उप बिजेता एवं तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ४५ हजार, २५ हजार र १० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे।ब्याडमिन्टन संघको मान्यता प्राप्त वरीयता सहितको राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शीर्ष २० वरीयता बाहेक), स्थानीय स्तर, मास्टर्स युगल ३५ वर्ष माथि र ४५ वर्ष माथि गरि ६ विधामा प्रतिस्पर्धा भएको थियो।

प्रकाशित: २८ पुस २०८० १३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App