१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

१४ खेलाडीले पाए छात्रवृत्ति

नेपाल ओलम्पिक कमिटिले अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक २०२८, एसियन गेम्स २०२६ तथा डकार वल्र्ड युथ गेम्स २०२६ मा सहभागी हुने १४ जना नेपाली खेलाडीलाई आज छात्रवृत्ति प्रदान गरेको छ ।  

नेपाल ओलम्पिक कमिटीद्वारा आयोजित एक कार्यक्रममा नेपाल ओलम्पिक कमिटी र छात्रवृति पाउने खेलाडी तथा सम्बन्धित खेल सङ्घका अध्यक्ष एवं महासचिवबीच ओलम्पिक छात्रवृतिमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  

अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक २०२८ का लागि आठ जना खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ । यस विधामा छात्रवृति प्राप्त गर्ने खेलाडीमा ब्याडमिन्टनका प्रिन्स दाहाल, साइक्लिङकी उषा खनाल, गल्फका सद्भाव आचार्य, जुडोकी मनिता प्रधान श्रेष्ठ, टेबल टेनिसकी इभाना थापा, टेनिसकी शिभाली गुरुङ, स्पोट्र्स क्लाइम्बिङका तेन्जिङ राई र पौडीका अर्विन श्रेष्ठ रहेका छन् ।

यो छात्रवृतिअन्तर्गत प्रत्येक खेलाडीले एक हजार १२५ अमेरिकी डलर प्राप्त गर्नेछन् । त्यसैगरी जापानको आयची नागोयामा हुने एसियन गेम्स २०२६ का लागि पाँच जना खेलाडीले छात्रवृति पाएका छन् । यसमा आर्चरीका तिलक पुन मगर, बक्सिङका चन्द्रबहादुर थापा, उसुकी सुष्मिता तामाङ र करातेकी एरिका गुरुङ तथा सानुमाया थिङ छन् । उनीहरूले जनही मासिक रु ५० हजार प्राप्त गर्नेछन् ।

सेनेगलमा हुने डकार वल्र्ड युथ गेम्स २०२६ का लागि भने एक जना महिला खेलाडी छनोट भएकी छन् । यसमा उसुकी रश्मी तामाङ छिन् ।  

उनलाई समान ५० हजार छात्रवृत्ति प्रदान गरिएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले छात्रवृत्रि पाउने खेलाडीलाई बधाई प्रदान गर्दै खेल सङ्घका पदाधिकारीसँगको विशेष छलफलबाट नेपालको उत्कृष्ट खेलाडी छनोट गरेको बताए ।  उनले हिजोको सरकारबाट जे जस्तो भए पनि आगामी दिनमा सरकारले नीति नियममा रहेर काम गर्ने वातावरण सृजना गरिदिने विश्वास व्यक्त गरे ।  

 

प्रकाशित: ४ पुस २०८२ १८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App