२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

संरक्षक र सोनिरालाई पोखरामा टेनिस उपाधि

शीर्ष बरियताका प्रदीप खड्कालाई तेस्रो सेट टाइब्रेकरमा पराजित गर्दै संरक्षणभुषण बज्राचार्य पोखरा ओपन टेनिसको नयाँ च्याम्पियन बनेका छन्। आइतबार पोखरा रंगशाला टेनिस कोर्टमा भएको फाइनलमा बज्राचार्यले खड्कालाई पराजित गर्न सेट टाइब्रेकरसम्म पुग्यो।  

कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको फाइनल निकै रोमाञ्चक बन्यो। पहिलो सेट आफ्नो पक्षमा पार्दै खड्काले शीर्ष बरियताको शाख जोगाउने प्रयासमा देखिए। तर दोस्रो सेटमा खेलमा फर्किएका बज्राचार्यले निर्णायक सेट टाईब्रेकरमा टुग्याउँदै उपाधि आफ्नो नाममा लेखाए। बज्राचार्यले खड्काको चुनौतीलाई ४–६, ६–२ र ७–६ को सेटमा पन्छाएका थिए।

महिला तर्फका उपाधि सोनिरा थापाको नाममा लेखियो। उनले अभिलाषा विष्टलाई पराजित गर्न तीन सेट खेलिन्। थापाले पनि उत्कृष्ट कम ब्याक गर्दै उपाधि आफ्नो बनाइन्। पहिलो सेट ०–६ मा गुमाएका थापाले दोस्रो सेट ६–१ र निर्णायक सेट ६–२ ले लिदैं उपाधि जित्न सफल भइन्।

३५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धाको उपाधि भने कमल भण्डारीले जिते। उनले सन्तोष खत्रीलाई ७–५, ६–४ को सेटमा पराजित गरेका थिए। त्यस्तै ४५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा रोहित सुनुवाले महेश श्रेष्ठलाई ५–७, ६–१ र सुपरटाई १०–७ ले पराजित गरेका थिए। ५५ केजी माथिको तौल समूहको प्रतिस्पर्धामा विमलकुमार गुरुङले जीवन घिमिरेलाई ६–२, ६–२ को सोझो सेटमा पन्छाएका थिए।

खुल्ला महिला तथा पुरुष विजेताले नगद ८० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । उपविजेताले ४० हजार पाए। त्यस्तै ३५ वर्षमाथिको उमेर समूहको विजेताले नगद ६० हजार, उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गरे। ४५ वर्षमाथिको उमेर समूहको विजेताले नगद ४० हजार र उपविजेताले नगद २० हजार पाउँदा ५५ वर्षमाथिको उमेर समूहको विजेताले ३० र उपविजेताले नगद १५ हजार प्राप्त गरेका छन्।

प्रतियोगिताका विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, मुख्य प्रायोजक माछापुच्छ्रे बैंकका निर्देशक किरण केसी लगायतले पुरस्कार प्रदान गरेका थिए। प्रतियोगिताका निर्देशक राजन पौडेलका अनुसार महिला तर्फ १२ र पुरुष तर्फ दुई सय १३ जना टेनिस खेलाडीहरुले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गरेका थिए।  

प्रकाशित: १५ पुस २०८० ०९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App