२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

धनगढीलाई सन्तुलित पोखराको चुनौती

पोखरा (नीलो) विरुद्ध प्रतिस्पर्धा गर्दै धनगढीका खेलाडी । फाइल तस्बिर

प्लेअफमा रोमाञ्चक रूपमा स्थान बनाएको डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ।

गत वर्षको उपविजेता धनगढी एफसीसहित पोखरा थन्डर्स र काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा फाइनल पुग्ने विश्वास गरेका छन्। यी तीनै टोली शीर्ष तीन स्थानमा रहेर प्लेअफमा पुगेका हुन्।

आइतबार यस सिजन प्लेअफमा पुगेका चार टोलीको पत्रकार सम्मेलनमा उनीहरूले राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन्। सोमबार नै पोखरा थन्डर्स र धनगढीले पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन्। सन्तुलित प्रदर्शन गर्दै आएको पोखरालाई बलियो टोलीका रूपमा हेरिएको छ। यद्यपि, यी दुवैले लिगमा एक खेल मात्र गुमाएका छन्।

पोखराले एक मात्र हार काठमाडौं रेजर्ससँग बेहोरेको थियो। सोखरुखले इन्जुरी समयमा गोल गरेपछि पोखराले काठमाडौं रेजर्सलाई नतिजा सुम्पिएको हो। यता, धनगढी भने डेब्युटेन्ट टोली झापासँग स्तब्ध भएको थियो। बिर्सनलायक प्रदर्शन गरेपछि धनगढीले त्यो खेलको नतिजा सुम्पिएको हो।

यसै सिजनदेखि तीन डेब्युटेन्टसहित नौ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए। निकै रोमाञ्चक बनेको एनएसएलको दोस्रो सिजनमा लिगको अन्तिम खेलबाट मात्र प्लेअफमा पुग्ने टोलीको टुङ्गो लागेको थियो। ३६औं खेलबाट प्लेअफ दुई टोलीको यात्रा तय भएको हो।

समान ८ खेल सकिँदा पोखरा थन्डर्स र धनगढी एफसीले शीर्ष दुईमा रहेर पहिलो क्वालिफायरको यात्रा तय गरेका थिए। धनगढीका प्रशिक्षक युगलकिशोर राई गत संस्करणमा चुके पनि यसपटक जसरी पनि ट्रफी उचालेरै छाड्ने बताउँछन्।

लिगमा पोखरा र धनगढीले १–१ को बराबरी खेलेका थिए। प्रशिक्षक राईले अब लिग चरणको प्रदर्शनले खासै अर्थ नराख्ने उल्लेख गर्दै सोमबार राम्रो प्रदर्शन गर्ने टोलीले नै नतिजा आफ्नो बनाउने विश्वास व्यक्त गरे।

धनगढीका लागि प्रमुख हतियार अग्रपंक्ति नै हो। लेबनानका अहमद हिजाजी, फोडे फोफाना र अफिज ओलावाले पोखराका लागि चुनौती बन्न सक्छन्। लिगमा भने पोखराले यी तीनलाई चल्न दिएन।

पोखरा थन्डर्सका रक्षापंक्तिमा दरिलो साथ दिँदै आएका दिनेश राजवंशीले त्यो खेल खेलेका थिएनन्। मिडफिल्डमा राम्रोसँग बल खेलाउन सक्ने आयुष घलान पनि दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए। दोस्रो हाफमा नै पोखरा थन्डर्सले दबाब बनाउँदै बराबरीमा फर्किएको थियो। त्यसैले सोमबार धनगढीका लागि पोखरा चुनौती बन्न सक्छ।

यता, धनगढीका कप्तान देवेन्द्र तामाङले जित्नैका लागि मैदान उत्रिने उल्लेख गर्दै सोमबारको खेललाई सहज रूपमा नलिएको बताए। पहिलो क्वालिफायरको विजेताले सीधै फाइनलमा स्थान बनाउनेछ।

यद्यपि, यो खेलमा पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ। पोखरा थन्डर्सका प्रशिक्षक नवीन न्यौपाने प्लेअफ खेल सहज नहुने धारणा राख्छन्। प्ले अफमा पुग्ने सबै टोली बराबरजस्तै रहेको उनको धारणा छ। सबै टोली सेट भैसकेकाले प्लेअफ खेल्न सहज नहुने उनी बताउँछन्।

पाएको अवसर सदुपयोग गर्न सक्ने टोलीले नै जित निकाल्ने प्रशिक्षक न्यौपानेले बताए। पोखराका कप्तान दिनेश राजवंशीले टोलीलाई फाइनल पुर्‍याउने लक्ष्य रहेको उल्लेख गर्दै लिगको शीर्ष स्थानमा रहनुले मनोबल बढ्ने धारणा राखे। उनले केही दिनको आराम केही सहज भएको उल्लेख गरेका छन्।

धनगढीको सामना गर्न आफ्नो टोली पूर्ण तयार रहेको बताए। मंगलबार इलिमिनेटरमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दै छन्। काठमाडौं रेजर्स र ललितपुर सिटीले प्लेअफमा स्थान बाउन अन्तिम खेल कुर्नुपर्‍यो।

यी दुईबीच नै इलिमिनेटरमा प्रतिस्पर्धा हुँदै छ। काठमाडौं रेजर्सले तेस्रो र ललितपुर सिटीले चौथो स्थानमा रहेर इलिमिनेटरको यात्रा तय गरेका हुन्। काठमाडौं रेजर्सका प्रशिक्षक बालगोपाल महर्जनले टोलीको लक्ष्य उपाधि रक्षा गर्ने रहेको बताएका छन्।

ललितपुरलाई हराएर इलिमिनेटर खेलेकाले सोही स्पिरिट र इफोर्ट मंगलबार पनि दोहो¥याउने उनको विश्वास छ। ललितपुरविरुद्ध शतप्रतिशत दिने उनको भनाइ छ। काठमाडौं रेजर्सका कप्तान अञ्जन राई पनि टोलीको लक्ष्य उपाधि रक्षा गर्नु रहेको धारणा राख्छन्।

लक्ष्य उपाधि रक्षा गर्ने रहेकाले सोहीअनुरूपको प्रदर्शन गर्ने उनको विश्वास छ। लिग चरणमा पहिलो वा दोस्रो स्थानमा रहने लक्ष्य भए पनि वीरगन्जसँगको हारले त्यो पूरा हुन नसकेको उनको भनाइ थियो।

लिग चरणको अन्तिम खेलमा ललितपुलाई १–० ले पराजित गर्दै काठमाडौंले प्ले अफमा स्थान बनाएको थियो। ललितपुरका प्रशिक्षक इयान गिलान काठमाडौंविरुद्ध उत्कृष्ट प्रदर्शनको आशामा छन्। ‘गर या मर’ अवस्थामा धेरै तनाव नलिई सकारात्मक भएर खेल्ने उनको लक्ष्य छ।

पछिल्लो केही खेलमा राम्रो प्रदर्शन भए पनि गोल भने निस्कन नसकेको उनको भनाइ थियो। केही गल्तीहरूलाई सुधार्दै उत्कृष्ट प्रदर्शन गर्ने प्रयास रहने उनी बताउँछन्। ललितपुरका कप्तान अनन्त तामाङ गल्तीहरूलाई सुधार्दै उत्कृष्ट प्रदर्शन गर्ने बताउँछन्।

प्रकाशित: ९ पुस २०८० ००:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App