५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप महिला टी–२० खेल्ने गण्डकीको टोली प्रस्थान

नेपाल क्रिकेट संघको आयोजनामा यहि विहीबारदेखि काठमाडौंमा सुरु हुने प्रधानमन्त्री(पिएम)कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन गण्डकी प्रदेशको टोली प्रस्थान गरेको छ। टोलीलाई गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंम्खडाले विदाई गरिन।  

पिएम कप महिला राष्ट्रिय टि२० क्रिकेटमा गण्डकीको टिम कप्तानमा कुशुम गोदार रहेकी छन्। त्यसै गरी खेलाडीमा अञ्जली विश्वकर्मा, सिमाना केसी, सिर्जना पौडेल, सृष्टि जैशी, सुमन खतिवडा, ज्योत्सिन्का मरासिनी, निरु जिटी, आकृती तिवारी, शिला रेग्मी क्षेत्री, श्रेया शर्मा, धनकुमारी चौधरी, रचना चौधरी र अर्मिन अधिकारी रहेका छन् ।टिमको प्रशिक्षकमा गोविन्द प्रधान, टिम म्यानेजरमा विन्दु केसी र टेक्निकल  एनालिष्टमा सोनय(विक्रम) तिवारी रहेका छन्।  

मन्त्री सिम्खडाले खेलाडीहरुलाई पोशाक समेत वितरण गरेकी थिइन्। पोसाक खेलाडीहरुलाई गिगा जर्मन ल्याङ्वेज इन्स्टिच्युटले सहयोग गरेको छ। सोही अवसरमा बोल्दै मन्त्री सिम्खडाले महिला क्रिकेट खेलाडीहरुलाई नगद सहित सम्मान गरिसकेको जनाउँदै भनिन, ‘जितले गण्डकीको पहिचान बढ्ने छ।’ उनले पछिल्लो समय क्रिकेट खेलको विकास हुँदै गएको र क्रिकेट खेलको विकासका लागि योजनावद्ध रुपमा अघि बढ्नुपर्ने बताइन्।

गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा भएको बिदाई कार्यक्रममा संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले धनगढीमा सम्पन्न यू–१९ राष्ट्रिय प्रतियोगितामा बिजेता टोलिका खेलाडी र सिनियर खेलाडीहरुको संयोजन रहेकाले अपेक्षित नतिजा आउने साथै युवा खेलाडीहरुको समिश्रणले आगमी यू–१९ राष्ट्रिय प्रतियोगिताको लागि राम्रो भएको उल्लेख गरे।  

प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, कार्यकारी सदस्य ऋषीराम गौतम, जिल्ला खेलकुदका अध्यक्ष तोरण बानियाँ,  निवर्तमान अध्यक्ष देवेन्सन प्रजु, जिल्ला क्रिकेट संघ स्याङ्जा का अध्यक्ष दिवाकर थापा, पर्बतका अध्यक्ष रेशम केसी लगायतको सहभागिता रहेको थियो।

टोलीमा चार खेलाडी मध्ये नेपाल राष्ट्रिय टोलिलाई प्रतिनिधित्व गरिसकेकी छन्। सुमन खतिवडा १३ औं दक्षिण एसियाली खेलकुदमा पदक विजेता खेलाडी हुन। त्यसै गरी सृष्टि जैशी यू–१९ महिला राष्ट्रिय टिमकी सदस्य थिइन्। उनीसँँग चीन र मलेसियामा खेलेको अनुभव छ। मलेसियाको प्रतियोगितामा उनी यू–१९ आइसिसी ड्रिम टोलिकि सदस्य  रहिसकेकी छन्। शिला रेग्मी र अञ्जली विक समेत यू–१९ राष्ट्रिय टोलीमा अनुभव हासिल गरेका छन। शिलाले चीन र अञ्जलीले मलेसियामा खेलीसकेकी छन।

प्रकाशित: ४ पुस २०८० ०८:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App