५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

चेलीको सुटकेसभित्र चोटको चाङ

बिदेसिनेका व्यथा

‘बिहानको तीन बजेको थियो, म एयरपोर्ट ओर्लिंदा,’ कुबेतबाट आकस्मिक रूपमा स्वदेश फर्किएकी एक युवतीले भनिन्, ‘मसँग केही थिएन, हातमा पासपोर्ट सिवाय। मसँगै नेपाल आउने सबैको हँसिलो अनुहारसँगै हातमा ब्याग, नयाँ नयाँ मोबाइल र सुकिला कपडा लगाएर सुटकेस गुडाउँदै थिए। आफूचाहिँ भर्खर जेलबाट निस्किएकी कैदीजस्तै थिएँ। मेरो शरीरमा पहिरिएको कपडाधरी जामा जस्तो विदेशी थियो।’

मनभरि मात्र होइन, शरीरमा पनि चोटैचोट लिएर घर फर्किएकी ती युवतीले बलिन्द्रधारा आँसु झार्दै भनिन्, ‘विदेशबाट आएका सबैलाई लिन परिवारका सदस्य एअरपोर्टमा खादामालासहित पुगेका थिए। मेरो भने कोही न कोही। कहाँ जाने के गर्ने भन्ने कुनै सोच थिएन। तर, भगवान्ले कोही न कोही मेरा लागि एयरपोर्टमा पठाइदिएका थिए।’

एयरपोर्टमा अनायासै भेटिएकी एउटी युवतीसँग काठमाडौं अवतरणपछि उनको पहिलो कुराकानी हुन्छ। आफूभन्दा कम उमेरको एक युवतीले उनीसँग सोधिन्, ‘दिदी, तपाईं पनि कुवेतबाट आउनुभएको हो? तपाईंका मान्छे कोही लिन आएका छैनन्?’

शृङ्गारबिना फुङ्ङ उडेको अनुहार थियो त्यो। उनका आँखाका कोष कोष सुनिएका थिए। ‘हो, म कुवेतबाटै आएकी हुँ,’ उनले भनिन्, ‘मलाई लिन कोही आएका छैनन्। मेरो जाने ठाउँ पनि कहिँ छैन।’

कोही नहुनेको कोही हुन्छ भन्ने लाग्यो उनलाई। त्यो रात अमृत सर नामक सामाजिक संस्थाबाट खटिएका कर्मचारीले उनको उद्धार गरे। ३८ वर्षीय ती पीडित युवती तीन छोराछोरीलाई पतिको साथमा सुम्पिएर वैदेशिक रोजगारीका लागि डेढ वर्षअघि मात्रै कुवेत पुगेकी थिइन्।

भिजिट भिसामा कुवेत पुगेकी उनको दिनचर्या सुरुसुरुमा राम्रै चल्दै थियो। तर, केही महिनापछि उनी दुःखको भुमरीमा परिन्। कुवेती घरको काममा व्यस्त उनीमाथि घरेलु हिंसा हुँदै गयो। उनले पतिलाई आफ्नो दुखेसो नसुनाएकी पनि होइनन्। तर, आफूले पतिबाट कहिल्यै साथसहयोग नपाएको ती पीडित युवतीले बताइन्।

‘दिन प्रतिदिन कुवेतीको कुटाइ खाइरहनुपरेको थियो,’ उनले भनिन्, ‘घरको काम गर्ने हो मैले। तर, जति काम गरे पनि नदेखेपछि उनीहरूको कुटिहाल्ने बानी थियो।’

उनीहरूलाई खाना पकाएर दिन्थिन् तर उनी आफैं खान पाउँदिनथिन्। आफूले खाने चामल बजारबाट आफैंले किनेर ल्याउनुपथ्र्यो। सानोसानो कुरामा पनि उनीहरूले धेरै कुट्ने गर्थे।

बेलाबेलामा पतिसँग सम्पूर्ण बेलिविस्तार पनि लगाएको उनी सम्झन्छिन्, ‘बुढो मलाई यहाँ काम गर्न धेरै गाह्रो छ। काम गरेको पैसा पनि दिएका छैनन्। ३/४ महिनाको तलब पनि आउन बाँकी छ। छोराछोरीलाई पढाउन पर्‍यो। कसरी घर फर्किनु, आफूले कुटाइ खाईखाई कमाएको पैसा छाडेर? ममाथि साह्रै अन्याय गरेका छन् यी पापीहरूले, के गरौं बुढो?’

विदेशमा कुटाइ नै खाएर भए पनि पूरै आम्दानी तीन छोराछोरीको पढाइमा सकेकी उनलाई पतिले भने तिरस्कार गरेको सम्झन्छिन्, ‘तँजस्ताले कुटाइ नखाए अरू कसले खान्छ त? त्यहाँ दुनियासँग सुतेर खान पाएकी छेस्। तेरो धन्दा मलाई थाहा छैन र कुकुर्नी? मेरो अगाडि कुकुरको आँसु नझारे हुन्छ। तेरा लागि मेरो घरको ढोका बन्द छ।’ दुःखको वेदना नपोख्दै मुख छाड्ने गरेको उनले सुनाइन्।

हिंसामा परेकी ती महिलाका अनुसार आफूले काम गर्ने घरमा तीन छोरी, आमा र बुबा थिए। छोरीहरू र आमा मिलेर कुट्थे। त्यहाँ शारीरिक हिंसा, मानसिक हिंसा भए तापनि आफू कहिल्यै यौन हिंसामा नपरेको उनले बताइन्। आफू बसेको घरमा महिला धेरै भएसँगै पुरुष एक जना मात्रै भएको र यौन हिंसामा भने कहिल्यै नपरेको सबै यथार्थ पतिसामु राख्दा पनि सधैं तिरस्कारपूर्ण व्यवहार भएको गुनासो उनको छ।

‘विदेशी ठाउँमा आफ्नो भन्ने को नै हुन्छ र?,’ उनले भनिन्, ‘मोबाइल धेरै चलाउन पाइँदैनथ्यो। बुढासँग कुरा गरेर धरधरी रुन मन हुन्थ्यो। उहाँ कहिल्यै कुरै गर्न नमान्ने। स्कुल पढ्दै गरेकी छोरीलाई के आफ्नो दुःख सुनाउनु? उसको पढाइ बिग्रिएला भन्ने अर्को चिन्ता हुन्थ्यो। अरू बच्चा सानै थिए। मेरो दुःख सुनाउने ठाउँ चाहिँ कहाँ थियो र?’

उज्यालो अनुहारसँगै गुलाबी कुर्तामा सोफामा बस्न पनि उनलाई असहज भइरहेको थियो। उनी बेलाबेलामा असहज रूपमा आफ्नो शरीर यताउता गर्थिन्। ‘दिदी तपाईं बिरामी हुनुहुन्छ र?’ भनेर प्रश्न गर्दा उनी चुपचाप बस्छिन्।

अमृतसरकी अध्यक्ष मुना गौतम भन्छिन्, ‘उहाँको शरीर कुवेतीले कुटेर पूरै थङथिलो छ। शरीरभरि निलडाम नै निलडाम छ। धेरै कुटेर होला, शरीरको मासु नै फुटेको छ। हामीले उपचार गराउँदै छौं। उहाँ नेपाल आउनुभएको आज चार दिन भयो। हामीले उपचार गराइरहेका छौं। आज बिस्तारै हिँड्न सक्नुभएको छ।’

चुपचाप बसेकी ती पीडितले अश्रुधारा बगाउँदै कपडा उतारेर देखाउँदा शरीर पूरै नीलडामले भरिएको थियो। रातो र निलो डाम नभएको ठाउँ देख्न मुस्किल थियो। कुवेतमा काम गर्दागर्दै त्यस घरका सबै परिवारले एक्कासी झम्टिएर कुट्न थालेपछि आफ्नो ज्यान जोगाएर प्रहरीसम्म पुगेको उनले बताइन्।

‘रातको समय थियो। घरको काम गर्दै थिएँ। एक्कासी आएर कुट्न थाले। म मर्न लागिसकेँ तर उनीहरू थाकेनन्, कुटिरहे,’ उनले भनिन्, ‘आज त मेरो मर्ने दिन रहेछ जस्तो लाग्यो। अघिपछि एकछिन कुटेर छोड्थे तर त्यो दिन धेरै बेर कुटिरहे। मर्छु जस्तो लाग्यो। उनीहरूले कुट्दै गर्दा कताबाट भाग्ने सोच आएछ, म भाग्न पनि सफल भएँ।’

कुवेतीको घरबाट भाग्दा शरीरमा आफ्नो लुगा पनि नरहेको उनी भन्छिन्, ‘सुरुमा कुवेतीको घर पुग्दा फाल्न राखेको कपडा थियो। यो म लगाउँछु है भनेर सोधेरै लगाएकी थिएँ। कुवेती कपडा जामाजस्तै थियो। त्यस दिन त्यही लगाएकी थिएँ। आफ्नो कपडा, मोबाइल र उनीहरूले दिएको केही पैसा पनि त्यहीं छोडियो।

साथै मासिक एक सय २० दिनारका दरले उनीहरूले मलाई सात महिनाको तलब पनि दिन बाँकी थियो।’ राति रगताम्मे भएर प्रहरीकहाँ पुग्दा पनि उनीहरूमाथि केही कारबाही नहुने पीडित महिलाले बताइन्। आधा रात प्रहरी चौकीमै बसेर भोलिपल्ट प्रहरीले घरमालिकलाई बोलाएको उनको सम्झना छ।

उनका अनुसार त्यहाँको प्रहरीले मेरो पासपोर्ट ल्याइदिनू भनेको रहेछ क्यारे, साहुनीले मेरो पासपोर्ट लिएर आएकी थिइन्। त्यसपछि प्रहरीले आफूलाई एक प्रश्न मात्र सोधेको उनी सम्झन्छिन्, ‘त्यही घरको काम गर्न जाने कि नेपाल फर्कने हो?’ उनले पनि एउटै मात्र जवाफ दिइन्, ‘नेपाल नै जाने हो।’ त्यसपछि आफू नेपाल आउने ढोका खुलेको उनले बताइन्।

भिजिट भिसामा कुवेत पुगेकी उनलाई त्यहाँको प्रहरीले ‘ट्राभल डकुमेन्ट’ मा नेपाल फर्काइदिएको उनको अनुभव छ। उनी भदौ २८ गते मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएकी थिइन्।

स्वदेश फर्किएकी उनका पाइला घरसम्म पुगेका छैनन्। ‘घर जान मन छ। परिवार सबै काठमाडौंमै बस्दै आएका छन्। छोराछारीलाई हेर्न र भेट्न मन छ तर जाऊँ कसरी? यस्तो अवस्थामा घर पुग्यो भने बुढाले झन् धेरै भन्ने ठाउँ पाउँछ, बाँकी राख्दैन मलाई। विदेशजस्तो ठाउँबाट बाँचेर आएकी छु, बुढाको हातबाट त पक्कै मर्छु,’ उनले भनिन्।

अमृत सर संस्थाले साहरा दिएसँगै उपचारसमेत भइरहेको उनी बताउँछिन्। साथै अमृतसर संस्थाकी अध्यक्ष गौतमका अनुसार विदेशबाट विभिन्न घटनामा परेर आएका हुन्छन्। कुवेतमा कुटाई खाएका उहाँ त्यतिबेला शरीर तातोतातो भएर होला, यहाँसम्म आइपुग्नुभयो।

अहिले झन् धेरै बिरामी पर्नुभएको छ। केही भयो भने त हामीलाई पनि अप्ठेरो हुन्छ। त्यही भएर उहाँकी जेठी छोरीलाई आमा यस्तो अवस्थामा नेपाल आउनुभएको छ भनेर खबर गरिदिएको गौतमले बताइन्।

वैदेशिक रोजगारीमा पुनः अर्को देश जान तयार भएकी ती पीडित महिला भन्छिन्, ‘विदेशमा अलिअलि कमाएको सबै पैसा छोराछोरीलाई पढाउनमा खर्च भयो। कुवेतमा काम गरेको सात महिनाको तलब नै पाइएन। नेपालमा आएर पनि कसकोमा जाने? के काम गर्ने?

मलाई अलि सन्चो भएपछि अर्कै देश जान्छु अनि टन्न पैसा कमाएर स्वदेश फर्कन्छु। मेरो साहरा भनेकै छोराछोरी हुन्। पछि उनीहरूसँगै बस्छु।’ पछि विदेश गई धेरै पैसा कमाएर ल्याएपछि पतिले पनि स्विकार्छ कि भन्ने उनमा झिनो आशा छ।

तीन बच्चाकी पीडित आमाजस्तै कुवेतमै पीडामा परेर नेपाल फर्किएकी अर्की ३९ वर्षीय महिला पनि हुन्। परिवारकै सहमतिमा उनी साउन २१ गते कुवेत उडेकी थिइन्। ११ वर्षदेखि कतारमा कार्यरत पतिको आम्दानीले घरव्यवहार धान्न नसकेपछि आफू पनि कुवेत लागेको उनले सुनाइन्। तीन छोराछोरीकी आमा उनी बालबच्चालाई राम्रो शिक्षा दिनलाई नै विदेश गएको अनुभव बताइन्।

‘बुढाले कतारमा कमाएर पठाएको पैसा घरखर्च पुर्‍याउनमै ठिक्क,’ उनले भनिन्, ‘तीन छोराछोरीलाई पढाउनै गाह्रो। गाउँकै दिदीबहिनी कुवेत गएका थिए। कुवेतमा धेरै पैसा हुन्छ। घरको काममा त्यस्तो खट्नु पनि पर्दैन। विदेश जाँदा ठिक होला दिदी भन्न थाले। पतिलाई यसो कुरा गर्दा तिमीलाई जान मन छ भने जाऊ न त भन्नुभयो।’ गाउँकै दिदीबहिनीले चिनजान गराएको एजेन्ट रूपक थापामार्फत उनी कुवेत पुगेकी थिइन्।

भिजिट भिसामा कुवेत पुगेकी उनी केही दिन आफू एजेन्टकै अफिसमा बसेको सुनाइन्। ‘एजेन्ट अफिसमा धेरै नेपाली महिला आवतजावत गर्थे। एउटै कोठामा धेरै नेपालीलाई राखेको थियो,’ उनले भनिन्, ‘सबैभन्दा कम उमेरका बहिनीहरूलाई नेपाली एजेन्टले नै पल्लो कोठामा लगेर सुताउँथ्यो। कोही रुँदै पनि आउँथे। कोही मलाई छिटै काममा लगाइदेऊ भनेर एजेन्टलाई फकाउँथे पनि।’

नेपालबाटै गएको रूपक एजेन्टले मदिरा सेवन गरेको बेलामा धेरै महिलालाई हातपात गर्न खोजेको उनको अनुभव छ। ‘अरूका अगाडि आफू त तीन छोराछोरीकी आमा बुढी थिएँ। मलाई त कसैले हातपात केही गरेका होइनन्। तर, एजेन्ट कति अपराधी हुन्थ्यो भने रातको समयमा हाम्रै अगाडि कति महिलालाई यौन सम्पर्क गथ्र्यो।’

एजेन्ट अफिसमा बसेको ४-५ दिनपछि कुवेती घरमा कामका लागि पठाएको उनले बताइन्। ‘त्यहाँ दुईचार दिन ठिकै काम लगाए। पछि त एउटा काम सकेकै छैन, अर्को काम लगाइहाल्ने, एकछिन बस्न पनि नदिने। बिहान पाँच बजेदेखि रातिको दुईतीन बजेसम्म काम गर्नुपथ्र्यो। सुत्ने समय भनेकै दुई घण्टा मात्रै हो।’

एजेन्टलाई यहाँ काम गर्न सक्दिनँ भनेर हारगुहार मागेपछि त्यहाँबाट उद्धार भएको उनले सुनाइन्।

केही दिनपछि फेरि अर्को कुवेती घरमा पुगेर काम गर्दा त्यहाँ झन् गाह्रो भएको आफ्नो अनुभव उनले सुनाइन्, ‘आफू होचो मान्छे। सिलिङ सफा गर्दागर्दा थाक्ने। घरको केही काम बाँकी नराखेर सबै काम सकियो भनेर एकछिन बस्यो, फेरि छत सफा गर्न लगाउँथे। दिनभरि कस्तो चर्को घाम लाग्छ त्यहाँ। घरभित्रको कामभन्दा पनि घरबाहिरको काममा दलाउन थाले।’ दुईचार दिन त सिकिस्त बिरामी भई ‘यहाँ काम गर्दिनँ ‘काम नो, नो’ मलाई एजेन्टकोमा पुर्‍याइदेऊ’ भनेर कुवेती साहुलाई भनेको उनले बताइन्।

त्यसपछि पुनः एजेन्ट अफिसमा आएसँगै एजेन्टले मदिरा सेवन गरेर गाली गर्दै कुट्न आएको उनी सम्झन्छिन्, ‘तँलाई यहाँ स्वास्नी बनाउन ल्याएको हो र? तँलाई रानीजस्तो पाल्नुपर्ने। कि स्वास्नी हुन आएको भए म त्यस्तै ठाउँमा पठाइदिन्छु। होइन भने मलाई तीन लाख बुझा अनि म नेपाल फर्काइदिन्छु।’ विदेशमा कमाउन आएको आफू यस्तो हुन्छ भन्ने केही थाहा नभएको भन्दै उनी कतारमा भएको पतिलाई फोनमार्फत रुँदै सबै बेलिविस्तार लगाएको बताइन्।

‘विदेशमा आफ्नो भन्ने पनि कोही रहेनछन्। म यहाँ बस्न सक्दिनँ। जसरी हुन्छ बुढा मलाई निकाल्नुस्। म बरु गाउँमै घाँसदाउरा गरेर रमाउँछु। अहिलेसम्मको जिन्दगी पनि घाँसदाउरामै बितेको हो। मलाई बाँचेको हेर्न मन छ भने यो नारकीय ठाउँबाट उद्धार गर्नुस्। होइन भने मेरो अन्तिम सास यहीं बन्द हुन्छ,’ फोनमार्फत पतिलाई उनले भनिन्।

उनका पतिले विभिन्न ठाउँमा ऋणधन गरेर एजेन्टलाई तीन लाख रूपैयाँ दिएपछि आफ्नो उद्धार भएको सुनाइन्। उनी पनि अहिले अमृतसर संस्थाको संरक्षणमा छिन्। दैनिक ५–१५ जना वैदेशिक रोजगारीबाट फर्केका तथा उद्धार गरेर अमृतसरमा ल्याउने अध्यक्ष गौतमले बताइन्।

‘खाडीमुलुकमा सबैभन्दा बढी पैसा कुवेतमा हुन्छ। जसले गर्दा धेरै नेपाली महिला कुवेत गएका छन्,’ गौतमले भनिन्, ‘अहिले कुवेतबाट दुःख पाएर आउनेको संख्या पनि धेरै छ। दोस्रो स्थानमा ओमान आउँछ।’

अमृतसरले एक महिना एक सय ३५ जनासम्म आप्रवासी महिलाको उद्धार गरेको तथ्यांक छ। जसमध्ये ९० प्रतिशत महिला भिजिट भिसाको प्रयोग गर्दै खाडी मुलुकका कुवेत, ओमान र दुवई हुँदै विभिन्न देश पुग्ने गरेका छन्।

भिजिट भिसामा विभिन्न देश पुगेका महिलालाई एजेन्सी अफिसमा राख्ने, कुटपिट, गाली–गलौज गर्ने, परिवारसँग सम्पर्क गर्नबाट वञ्चित गराउने, काम गर्न पुगेका घरका परिवार सबैसँग सामूहिक यौन शोषणमा लगाउने र नेपाल फर्कनै परेमा लाखौंलाख तिर्नुपर्ने अवस्था भएको गौतम बताउँछिन्।

उनका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका महिलामा मनोसामाजिक समस्या, मानसिक रोगी, उच्च रक्तचाप, छालासम्बन्धी समस्या, प्यारालाइसिस, आँखासम्बन्धी समस्या जस्ता दीर्घकालीन रोग बोकेर आएको पाइन्छ।

यसरी विभिन्न समस्याबाट प्रभावित ती महिलालाई सहयोग गर्ने सरकार तथा त्यसअन्र्तगत निकायले तत्कालीन राहत तथा समस्या समाधान गरेको पाइएको छैन। संयोगले यी दुई चेलीको उद्धार एउटा संस्थाले गरेको छ। तर, यस्ता कैयन् चेलीबेटी हरेक साँझ विदेशी भूमिबाट चोट बोकेर फर्किरहेका छन्। तिनलाई कसले मलमपट्टी गर्ने हो?

प्रकाशित: ५ आश्विन २०८१ १०:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App