२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पोखरा प्लेअफ पुग्ने पहिलो टोली

बुटवलविरुद्ध गोल गरेपछि पोखराका मोसेस ग्याबा तुम सहकर्मीका साथ। तस्बिर ः एनएसएल

 बुटवल लुम्बिनीसँग गोलअन्तरले पछि पर्दा नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणमा शीर्ष चारभित्र रहन असफल पोखरा थन्डर्स जारी दोस्रो सिजनमा भने प्लेअफ पुग्ने पहिलो टोली बनेको छ।

त्यति बेला समान आठ अंक भए पनि बुटवल लुम्बिनी चौथो स्थानमा रहेर प्लेअफ पुग्दा पोखरा गोलअन्तरमा पछि पर्दै अभागी साबित भएको थियो। यस पटक भने पोखराले प्लेअफ यात्रा तय गर्दा बुटवल लुम्बिनीलाई नै हरायो। दशरथ रंगशालामा इन्जुरी समयमा मोसेस ग्याबा तुमको गोलबाट मंगलबार पोखराले बुटवल लुम्बिनीमाथि १–० को साँघुरो जित निकालेको हो।

यससँगै पोखरा थन्डर्स सात खेलबाट १४ अंक बटुल्दै शीर्षमा उक्लियो र यस सिजन प्लेअफमा पुग्ने पहिलो टोली बन्यो। यस सिजनबाट तीन डेब्युटेन्टसहित ९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।  तर, डेब्युटेन्ट दुई टोली वीरगन्ज युनाइटेड र स्पोर्टिङ इलामसहित एफसी चितवन र बुटवल लुम्बिनीको प्लेअफ सम्भावना सकिसकेको छ।

यसै सिजन डेब्यु गरेको झापा एफसीसहित डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स, ललितपुर सिटी प्लेअफमा स्थान बनाउन संघर्षरत छन्। दोस्रो स्थानमा रहेको धनगढी एफसीले भने दुई खेल खेल्न छ। शीर्षको पोखराभन्दा दुई अंकले मात्र कम रहेकाले धनगढीलाई नै पहिलो क्वालिफायरकै दाबेदार मान्न सकिन्छ।

तर, धनगढीले एक खेलमा जित र अर्को नतिजा कम्तीमा बराबरी गर्नुपर्नेछ। मंगलबार ललितपुर सिटीको हार र पोखराको जितसँगै शीर्ष दुईको यात्रा प्रतिस्पर्धात्मक बनेको हो।  यता, पोखरा थन्डर्ससँगको हारसँगै बुटवल लुम्बिनीको प्लेअफ यात्रा लगभग समाप्त भयो। सातौं स्थानको बुटवलको सात खेलबाट सात अंक छ।

आठौं खेलबाट स्पोर्टिङ इलाम आठ अंकसहित पाँचौं स्थानमा छ। इलामले मंगलबार ललितपुर सिटीको अपराजित यात्रामा पूर्णविराम लगाएसँगै यस सिजनको अन्त्य ग¥यो। यो हारपछि ललितपुर सात खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ। ललितपुरले अन्तिम खेल चौथो स्थानको काठमाठौं रेजर्ससँग खेल्नेछ। प्लेअफमा स्थान बनाउन त्यो खेलमा जितको विकल्प ललितपुर सिटीसँग हुने छैन। यता, झापा ६ खेलबाट सात अंक जोड्दै छैटौं स्थानमा छ। 

ललितपुर र काठमाठौं रेजर्सको प्लेअफ यात्रामा झापा चुनौती बन्न सक्छ। तर, त्यसका लागि झापाले दुई खेल जित्नुपर्छ। मंगलबार पोखरासँग हार बेहोरेपछि बुटवल प्लेअफबाट बाहिरिने टोली बनेको हो। हारसँगै बुटवलका प्रशिक्षक विजय महर्जनले अब आफ्नो टोली प्लेअफ दाबेदारबाट बाहिरिएको र बाँकी एक खेलमा नयाँ खेलाडीलाई अवसर दिने बताए।

‘आज हामीले राम्रै खेलेका थियौं। तर, रेफ्रीले सही निर्णय दिँदै खेलको मुमेन्टम बदलियो। एनएसएलको स्तरअनुसार रेफ्री भएनन्। यो नतिजासँगै हामी प्लेअफबाट बाहिरिएका छौं,’ महर्जनले भने, ‘अन्तिम खेलमा नयाँ खेलाडीलाई अवसर दिन्छौं।’  पोखरा थन्डर्सका प्रशिक्षक नवीन न्यौपानेले भने प्लेअफमा पुग्ने पहिलो लक्ष्य पूरा भएको उल्लेख गर्दै अबको लक्ष्य फाइनल यात्रा रहेको बताए। 

‘आज सबैले राम्रो खेले। पहिलो हाफ त्यति राम्रो भएन। दोस्रो हाफमा सुधार ग¥यौं र जित सम्भव भयो,’ प्रशिक्षक न्यौपानेले भने, ‘पहिलो लक्ष्य पूरा भएको छ। अबको लक्ष्य फाइनलमा पुग्ने हो। अहिलेसम्मको खेल हेर्दा हामी फाइनलको दाबेदार पनि देख्छु।’ बुटवल लुम्बिनीले पोखरा थन्डर्सलाई लगातार चुनौती दिँदै अवसर सिर्जना गरे पनि गोल भने गर्न सकेन। अन्तिम समयमा समालिन नसक्दा हार बेहोरेको हो।

त्यसअघि खेलको छैटौं मिनेटमा बुटवलका कप्तान एरिक विष्टको फ्रिकिक पोखराका गोलकिपर प्रिसोको चुनौती बनेन। तीन मिनेटपछि नै जिलेस्पीजंग कार्कीको सट दोस्रो कर्नरमा लागेर बाहिरिँदा बुटवलको अग्रता लिने दोस्रो प्रयास सफल भएन। बुटवलका स्टेफन बिनोङले पनि २१औं मिनेटमा गोल गर्ने अवसर खेर फाले। जितेश गुरुङको पासमा बिनोङको हेडरले पोस्टको दिशा लिन सकेन।

पोखराले २५औं मिनेटमा पहिलो अवसर बनायो। सुरजज्यू ठकुरीको फ्रिकिक बलमा फ्रान्कलिन टेल्लाको हेडर सफल हुन सकेन। पहिलो हाफ गोलरहित बराबरीमै रोकियो। बुटवलका जिलेस्पीजंगले ४९औं मिनेटमा गरेको सट पोखराका गोलकिपर प्रिसोले सहजै नियन्त्रणमा लिए। मोसेस ५५औं मिनेटमा पोखरालाई अग्रता दिलाउन असफल रहे। 

आयुष घलानको कर्नर प्रहारमा बुटवलका गोलकिपर मोहमोडुको हातबाट फुत्किए पनि उनी नजिकैबाट हेडर गोल गर्न चुके। पोखराका सञ्जीव विष्ट बुटवलका मोहमोडुसँग वान भर्सेस वानमा गोल गर्न सफल भएनन्। आयुषको उत्कृष्ट फ्लिक पास नियन्त्रणमा लिँदै सञ्जीवको सट मोहमोडुले डाइभिङ गर्दै खुट्टाले रोके।

७४औं मिनेटमा फ्रिकिकमा बुटवलका कप्तान एरिक विष्ट गोल गर्न असफल रहे। पोखराका जोइ आइडुले ८६औं मिनेटमा गरेको सशक्त प्रहार बुटवलका गोलकिपर मोहमोडुले पन्च गर्दै बाहिर पठाइदिए। आइडुले करिब ३२ यार्डबाट गरेको उक्त प्रहार मोहमोडुले उत्कृष्ट तरिकाले बचाए। तर, इन्जुरी समयको पहिलो मिनेटमा नै मोसेसको गोलबाट पोखराले अग्रता लियो। काउन्ट अट्याकमा आयुषको थ्रु बल नियन्त्रणमा लिँदै मोसेसले पेनाल्टी बक्सबाट दोस्रो बार च्याप्दै गोल गरेका हुन्। 

त्यसपछि थप गोल हुन नसक्दा पोखराले बुटवलमाथि साँघुरो जित निकाल्यो। त्यसअघि पहिलो खेलमा स्पोर्टिङ इलामले आफ्नो अन्तिम तथा आठौं खेलमा ललितपुर सिटीमाथि १–० को जित निकाल्दै यस सिजनको यात्रा टुङ्ग्याएको हो। फोडे क्यामराको गोल निर्णायक बन्दा इलामले यस सिजन सुखद अन्त्य गरेको हो। 

प्रकाशित: ४ पुस २०८० ००:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App