८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

सुवास भारतमा गल्फ जित्ने पहिलो नेपाली

राष्ट्रिय टोलीका सदस्यसमेत रहेका एमेच्योर गल्फर सुवास तामाङ भारतमा कुनै पनि प्रतियोगिता जित्ने पहिलो नेपाली गल्फर बनेका छन्।

इन्डिया गल्फ युनियनद्वारा आयोजित  १२२औं अल इन्डिया एमेच्योर च्याम्पियनसिपको च्याम्पियन भएसँगै उनले यो सफलता पाएका हुन्। उनी सन् १८९२ मा सुरू भएको भारतकै सबैभन्दा पुरानो गल्फ च्याम्पियनसिप जित्ने सुवास पहिलो नेपाली गल्फर पनि बने।

नेपालका नम्बर एक एमेच्योर गल्फर सुवासले भारतीय प्रतिद्वन्द्वी रोहितलाई ९–७ ले हराउँदै यो सफलता पाएका हुन्। रोयल कोलकाता गल्फ क्लबमा म्याच–प्ले फरम्याटमा खेलिएको फाइनल (३६ होल) मा सुवासले सात होलअगावै जित आफ्नो पक्षमा पारे। यस क्रममा सुवासले उत्कृष्ट पुनरागमन गरे।

पहिलो ९ होलमा उनी पछि परेका थिए। तर, त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै सुवासले सात होल बाँकी छँदा नै सफलता आफ्नो पक्षमा पारे।

यस प्रतियोगितामा चौथो वरीयता प्राप्त सुवास र तेस्रो वरीयताका रोहितबीच सुरुका ९ होलको प्रतिस्पर्धा निकै रोमाञ्चक बन्यो। पहिलो होल सुवासले जिते।

तर, दोस्रो र आठौं होल जित्दा रोहितले ९ होल समाप्तिमा एक होलको अग्रता बनाए। त्यसपछि दशौं होल जित्दै सुवालले बराबरीमा ल्याए। १३औं होलमा सुवासले अग्रता बनाए। तर, १४औं होल फेरि रोहितले आफ्नो पक्षमा पार्दै बराबरीमा ल्याए।

त्यसपछि उनले १५औं, १६औं र १८औं होल आफ्नो पक्षमा पार्दै १८ होलका खेल सकिँदा ‘तीन अप’ अग्रता बनाए। तथापि, सुवासले त्यसपछि उत्कृष्ट प्रदर्शन गरे।

यस क्रममा सुवासले ११ होलमा एक होल मात्र गुमाए। २०औं होलको नतिजा सुम्पिएका सुवासले त्यसपछि लगातार दुई होल जित्दै आफ्नो अग्रता ‘चार अप’ पुर्‍याए।

२४औंदेखि लगातार चार होल आफ्नो पक्षमा पार्दै सुवास २७ होलको समाप्तिमा ‘आठ अप’ अग्रता बनाउन सफल भए। २८औं होल बराबरी भएपछि सुवासले २९औं होल आफ्नो पक्षमा पार्दै सानदार जित निकाले।

सुरुका दुई दिन स्ट्रोक प्ले फरम्याटमा ३६ होल खेलेपछि उत्कृष्ट ३२ खेलाडी म्याच–प्लेका लागि छनोट भएका हुन्। स्ट्रोक प्लेमा सुवास एक ओभर ७३ र दुई अन्डर ७० खेल्दै चौथो स्थानमा थिए।

प्रकाशित: २ पुस २०८० ००:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App