१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

अपराजित धनगढी शीर्ष स्थानमा

चितवनविरूद्ध गाेल गरेपछि धनगढीका ओलावाले अफिज (बीच)। तस्वीर: एनएसएल

ओलावाले अफिजको गोलप्रेरणामा धनगढी एफसीले आफ्नो पाँचौं खेलमा पनि अपराजित यात्रा कायमै राख्दै बिहीबार नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ।

गत संस्करणको उपविजेतासमेत रहेको धनगढी बिहीबार एफसी चितवनमाथि १–० को साँघुरो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो। यस सिजन धनगढीसँगै दोस्रो स्थानको ललितपुर सिटी एफसी मात्र अपराजित छ। खेलको दोस्रो मिनेटमा नै लिएको अग्रता जोगाउँदै धनगढी चितवनमाथि साँघुरो जित निकाल्न सफल भयो। दशरथ रंगशालामा भएको आफ्नो छैटौं खेलमा चितवनले तेस्रो हार सामना गरेपछि उसको प्लेअफ सम्भावना निकै कमजोर बनेको छ।

विमल घर्तीमगरले पहिलो हाफको थप समयमा पेनाल्टीमा गोल गर्न नसक्दा चितवनले बराबरीमा फर्किने अवसर गुमाउन पुग्यो।

एफसी चितवनका भारतीय प्रशिक्षक मेहराजुद्दिन वाड्डुले सुरुआतमा नै गोल खाए पनि आफ्ना खेलाडीले अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्नुपरेको बताए।

‘हामीले सुरुमै गोल खायौं। तर, पनि हामीले पहिलो र दोस्रो हाफमा अवसर सिर्जना गर्‍यौं। तथापि, हाम्रा खेलाडीले अवसर सदुपयोग गर्न सकेनन्,’ प्रशिक्षक वाड्डुले भने,‘हामीले दोस्रो हाफमा दबाब बनाएका थियौं। तर, धनगढीको संगठित डिफेन्सलाई हाम्रा खेलाडीले तोड्न सकेनन्।’

विमलले पेनाल्टी अवसर खेर फालेको प्रति भने उनले कहिलेकाहीँ यस्तो हुने भन्दै उनको बचाउ गरे। ‘विमल राम्रा खेलाडी हुन्। तर, उनी आज चुके। फुटबलरको जीवनमा यस्तो हुन्छ,’ चितवनका प्रशिक्षक वाड्डुले भने।

उनले अब प्लेअफको यात्राका लागि अन्य टोलीको नतिजा पनि भर पर्नुपर्ने भएको उल्लेख गर्दै आगामी खेलमा राम्रो प्रदर्शन गर्नेमा केन्द्रित रहने बताएका छन्। छैटौं खेलमा एक जित, दुई बराबरी र तेस्रो हार बेहारेको चितवन पाँच अंकसहित सातौं स्थानमा छ।

अपराजित धनगढी भने तीन जित र दुई बराबरीका साथ ११ अंक बटुल्दै शीर्ष स्थानमा उक्लियो। समान खेलबाट अर्को अपराजित टोली ललितपुर सिटी एफसी दुई अंकले पछि पर्दै दोस्रो स्थानमा छ।

जितपछि धनगढीका प्रशिक्षक युगलकिशोर राईले योजनाअनुरूप नै खेलाडीले प्रदर्शन गरेको उल्लेख गर्दै एक गोलको अग्रता जोगाउन खेलाडी केही दबाबमा परेको पनि बताए।

‘खेलअगाडि मिटिङमा आज धेरै मिहिनेत गर्नुपर्छ भन्ने थियो। सोहीअनरूप खेलाडीले खेले पनि। हामीले सुरुमै गोल ग¥यौं,’ प्रशिक्षक राईले भने, ‘लामो समयसम्म एक गोलको अग्रता जोगाउन कठिन हुन्छ। त्यस कारण पनि खेलाडी केही दबाबमा देखिए।’

त्यसअघि धनगढीले आफिजले गोलबाट दोस्रो मिनेटमा नै अग्रता लिएको थियो। रोहन कार्कीले राइट साइडबाट दिएको पासलाई आफिजले पोस्टको दिशा दिएका हुन्। पहिलो हाफको इन्जुरी समयमा चितवनले पेनाल्टीबाट खेलमा फर्कने सुन्दर अवसर पायो। तर, सदुपयोग भने गर्न सकेन। पेनाल्टी बक्समा रिचार्ड ओसेईको ह्यान्ड भएपछि चितवनले पेनाल्टी पायो। तर, विमल गोल गर्न असफल रहे। विमलले राइट साइडमा गरेको प्रहारलाई धनगढीका गोलकिपर टेकेन्द्र थापाले उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीको अग्रता जोगाए।

टिकेन्द्र म्यान अफ दी म्याच पनि भए। उनले चितवनको गोल गर्ने केही उत्कृष्ट अवसर निस्तेज पारेका थिए। पहिलो हाफमा धनगढी १–० ले अगाडि रह्यो। दोस्रो हाफको सुरुआतमै पनि विमलको प्रहारमा टिकेन्द्र नै बाधक बने।

४८औं मिनेटमा विमलको सशक्त सट टिकेन्द्रले नै उत्कष्ट बचाउ गरे। अफ्रिई अक्वाको फ्लिक पास नियन्त्रणमा लिँदै विमलले पेनाल्टी क्षेत्रबाट गरेको सट सफल हुन सकेन। ५३औं मिनेटमा चितवनको खेलमा फर्किने प्रयासमा धनगढीका गोलकिपर टिकेन्द्र बाधक बने।

अफ्रिईको फ्रिकिकमा नवयुग श्रेष्ठको हेडर उनले पन्च गर्दै बाहिर पठाइदिए। त्यसको पाँच मिनेटपछि आशिष चौधरीले खाली पोस्टमा गोल गर्न नसकेपछि धनगढीले अग्रता दोब्बर बनाउने अवसर गुमायो। अफिजले चितवनका गोलकिपर विशाललाई नै बिट गराउँदै दिएको पासमा आशिष चुकेका हुन्। एक गोलले पछि परेको चितवन दबाबमा रहँदा खेलाडीले केही महत्वाकांक्षी सट प्रयास गरे। तर, सफलता पाउन सकेनन्।

टोरिक जेब्रिनले ७३औं लामो प्रहार गरे पनि सफल हुन सकेन। धनगढीले पनि केही महत्त्वाकांक्षी आक्रमण बुन्यो। तर, धनगढीका रन्दीप पौडेलले ७४औं मिनेटमा गरेको लामो सट चितवनका गोलकिपर विशालका लागि खासै चुनौती बनेन।

चितवनका रफिक अमिनुको ८३औं मिनेटमा हेडर धनगढीका गोलकिपर टिकेन्द्र्रले सहजै नियन्त्रणमा लिए। इन्जुरी समयमा चितवन आक्रामक बन्दै केही अवसर सिर्नना गरे पनि सफल हुन सकेन। चितवनको आक्रमणमा धनगढीका गोलकिपर टिकेन्द्र नै बाधक बने। यससँगै धनगढीले एफसी चितवनमाथि १–० को जित निकाल्यो। 

प्रकाशित: २९ मंसिर २०८० ००:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App