२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

दुई हारपछि बुटवलको उत्कृष्ट पुनरागमन

नेपाल सुपर लिग

काठमाडौं रेजर्सविरुद्ध गोल गरेपछि बुटवल लुम्बिनीका स्टेफन बिनोङ। तस्बिर : नागरिक

सुरुका दुई हारसँगै यस सिजनको सुरुआत गरेको बुटवल लुम्बिनी एफसी दोस्रो जित निकाल्दै नेपाल सुपर लिग (एनएसएल) मा शनिबार तेस्रो स्थानमा उक्लिएको छ।

आफ्नो पाँचौं खेलमा बुटवलले दशरथ रंगशालामा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्समाथि २–० को जित निकाल्दै जारी दोस्रो सिजनमा दोस्रो सफलता आत्मसात् गर्‍यो। यो हारसँगै काठमाडौंको अपराजित यात्रामा पनि चौथो खेलमा पुगेर पूर्णविराम लाग्यो।

सुरुका दुई खेलमा हारका बावजुद बुटवलले उत्कृष्ट पुनरागमन गर्‍यो। पहिला दुई खेलमा ललितपुर सिटी एफसीसँग २–० र धनगढीसँग १–० ले पराजित भएपछि बुटवलको सुरुआत सुखद हुन सकेन। तर, त्यसयता तीन खेलमा भने सुधारिएको प्रदर्शन गर्दै बुटवलले अंक प्राप्त गर्‍यो।

एफसी चितवनसँग बराबरी खेलेको बुटवलले स्पोर्टिङ इलामलाई हराउँदै पहिलो जित आत्मसात् गरेको थियो। अपराजित रेजर्समाथि बुटवलले जित निकाल्दै प्लेअफ होडमा आफ्नो दाबेदार प्रस्तुत गरेको छ। यो जितले नै बुटवललाई प्लेअफ होडमा फर्काएको हो। 

बुटवलका प्रशिक्षक विजय महर्जनले पनि जित्नैपर्ने खेलमा खेलाडीले राम्रो प्रदर्शन गर्दा रणनीतिलाई सार्थक बनाएको उल्लेख गरे। ‘आजको खेल जित्नैपर्ने थियो। रणनीतिअनुरूप जित पनि सम्भव भयो। सबैले मिहिनेत गरे। जितको श्रेय टिम व्यवस्थापकलाई दिन चाहन्छु,’प्रशिक्षक महर्जनले भने।

यता, हारसँगै काठमाडौं प्लेअफबाट एक स्थान तल पाँचौंमा खुम्चिन पुग्यो। चार खेलबाट काठमाडौंको एक जित र २ बराबरीसहित पाँच अंक छ। स्पोर्टिङ इलामलाई १–० हराउँदै सिजनको सुरुआत गरेको काठमाडौंले त्यसपछि तीन खेलमा भने सो लय जारी राख्न सकेन। चौथो खेलमा हार पनि बेहोर्नुपर्‍यो।

बुटवल दुई जित र एक बराबरीसहित सात अंकका साथ तेस्रो स्थानमा छ। काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले पाएका अवसर सदुपयोग गर्न नसक्दा हार सामना गर्नुपरेको उल्लेख गरे।

‘हामीले पहिलो हाफमा दबाबमा राखेर खेल्यौं। तर, पाएका अवसरमा चुक्यौं र हार सामना गर्नुपर्‍यो। पछिल्ला खेलमा तालमेल पनि मिल्न सकेको छैन। आगामी खेलमा सुधार गर्छौं,’महर्जनले भने,‘अनफिल्डमा हामीलाई राम्रो लिडरको आवश्यकता पनि खड्किएको छ।’ खेलको पहिलो मिनेटमा बुटवलले आक्रमण बुन्यो।

जिलेस्पीजंग कार्कीको क्रसमा काठमाडौंका डिफेन्डर सुशीलकुमार यादव र किङ्ग्यु ओलिभरको खुट्टामा डिफ्लेक्ट भएर जालीतर्फ अग्रसर हुँदा बललाई काठमाडौंकै गोलकिपर अभिषेक बरालले डाइभ गर्दै जोगाए।

छैटौं मिनेटमा बुटवलका कप्तान एरिक विष्टको लामो सट पहिलो बारको नजिकैबाट बाहिरियो। २६औं मिनेटमा काठमाडौंका सोखरुख एमले हेड गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। तर, खेलका रेफ्री श्याम दनुवारले अफसाइड निर्णय दिए।

बुटवलले २९औं मिनेटमा स्टेफन बिनोङको गोलबाट अग्रता लियो। सरोज तामाङले करिब ३५ यार्डबाट गरेको फ्रिकिक काठमाडौंका गोलकिपर अभिषकले क्लियर गर्न सकेनन्। सोही बल नियन्त्रणमा लिँदै जिलेस्पीजंगले बिनोङलाई दिए। बिनोङका पहिलो सट काठमाडौंका कप्तान कुलदीप कार्कीले जोगाए पनि रिबाउन्ड बलमा बिनोङले गोल गरे।

३५औं मिनेटमा हिसुब थपलियाले गोल गर्ने अवसर गुमाए। पेनाल्टी क्षेत्रबाट उनको सट अकासियो। तीन मिनेटपछि नै काठमाडौंको अर्को अवसर बुटवलका गोलकिपर मोहमोडुले मुस्किलले बचाए।

४५औं मिनेटमा बुटवलका कप्तान एरिकको फ्रिकिक माथिल्लो बारमा लागेर फर्किन पुग्यो। लगत्तै काठमाडौंका किङ्ग्युको हेडर पहिलो बारमा लागेर बाहिरियो। एक मिनेटपछि नै आन्द्रेस नियाको सट पनि पोस्टको दिशा लिन सकेन। त्यससँगै पहिलो हाफमा बुटवलले १–० को अग्रता लियो।

५१औं मिनेटमा काठमाडौंका सोखरुखको नजिकैबाट गरेको हेडर प्रयास सफल हुन सकेन। कप्तान एरिकको गोलबाट बुटवलले ६१औं मिनेटमा अग्रता दोब्बर बनायो। जिलेस्पीजंगको उत्कृष्ट क्रस बल सदुपयोग गर्दै एरिकले पेनाल्टी बक्सबाहिरबाट गोल गरेका हुन्।

काठमाडौंको गोल अवसरमा बुटवलका गोलकिपर मोहमोडुको उत्कृष्ट बचाउ रह्यो। सोखरुखले ७८औं मिनेटमा दोस्रो बार च्याप्दै गरेको उत्कृष्ट फ्रिकिक मोहमोडुले उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीको अग्रता जोगाइराखे।

इन्जुरी समयको पहिलो मिनेटमा काठमाडौंका तोजिडिनोभले कोमिवानको लामो फ्रिकिक प्रहार किङ्ग्युले बुटवलका गोलकिपर मोहमोडु बिट भएको अवस्थामा वान टच गरे पनि इर्नेस्ट टेम्फीले क्लियर गर्दै आफ्नो टोलीको संकट टारे।

त्यसपछि राजीव लोप्चनको गोलमा काठमाडौंले खेलमा फर्कने संकेत गर्‍यो। पेनाल्टी क्षेत्रमा एनकेङ्ग्यु जुनियरको हेडर पास बललाई राजीवले वान टचमार्फत गोल गरे। अन्तिम समयमा बुटवलका प्रकाश बुढथोकीले गोल गरे पनि खेलका रेफ्री दनुवारले अफसाइड निर्णय दिए र काठमाडौंले पहिलो हार सामना गर्नुपर्‍यो।

रेफ्रीको निर्णयप्रति मेघराजको असन्तुष्टि

स्पोर्टिङ इलामका प्रशिक्षक मेघराज केसीले आफ्नो टोली नेपाल सुपर लिग (एनएसएल) मा शनिबार धनगढी एफसीसँग २–२ को बराबरी रोकिएपछि खेलका फोर्थ अफिसियलको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

दुई गोलको अग्रता जोगाउन असफल भई स्पोर्टिङ इलामले दशरथ रंगशालामा शनिबार अंक बाँड्नुपर्दा दोस्रो जितबाट पनि वञ्चित भयो। त्यससँगै खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षक केसीले फोर्थ अफिसियल र एसिस्टेन्ट रेफ्रीको निर्णयप्रति असन्तुष्टि व्यक्त गरे।

‘खेल रेफ्रीले नदेखेको फाउल टाढा रहेका फोर्थ अफिसियलले परिवर्तन गराए। फुटबलमा यस्तो निर्णय मैले पहिलोपटक देखेको हुँ,’ प्रशिक्षक केसीले भने। अन्तिम २१ मिनेटमा दुई गोल फर्काउँदै धनगढीले हारको संकट टार्‍यो।

बराबरीसँगै अपराजित धनगढी चार खेलबाट आठ अंकसहित शीर्ष स्थानमा छ। समान खेलबाट पोखरा थन्डर्सको पनि समान आठ अंक भए पनि धेरै गोल गरेको आधारमा धनगढी शीर्ष स्थानमा पुग्यो।

यता, स्पोर्टिङ इलाम भने पाँच खेलबाट एक जित र एक बराबरीसहित चार अंकका साथ छैटौं स्थानमा छ। स्पोर्टिङ इलामले पहिलो हाफमै २–० को अग्रता लिएको थियो। तर, दोस्रो हाफमा दुई गोल बेहोरेपछि अंक बाँड्न बाध्यो।

इलामका अमाथ एन्डअले ३७औं मिनेटमा गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन्। ४४औं मिनेटमा स्पोर्टिङ इलामले गोल गर्दै अग्रता लियो। अमाथ एन्डअले दिएको पासमा फोडे क्यामराले खाली पोस्टमा गोल गरे।

पहिलो हाफको थप गरिएको समयमा इलामले अर्को गोल फर्कायो। नवीन लामाको कर्नर बललाई धनगढीका गोलकिपर ताहाले फुत्काएपछि ओमार मुस्तफा थियमले वान टच गोल गरे।

धनगढीले ६९औं मिनेटमा पेनाल्टीमार्पmत खेलमा फर्कने अवसर पायो। इलामका डिफेन्डर जितेले फोडे फोफानलाई लडाएपछि धनगढीले पेनाल्टी पायो। सो अवसरमा धनगढीका रिचर्ड अग्येमेङले गोल गर्दै २–१ को अवस्थामा ल्याए।

८३औं मिनेटमा ओलावाले आफिजको हेडरमार्फत  धनगढी २–२ को बराबरीमा फर्कियो। फोफानाले राइट कर्नरबाट दिएको बललाई आफिजले उत्कृष्ट हेडर गर्दै धनगढीको हार टारेका हुन्।

प्रकाशित: २४ मंसिर २०८० ०१:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App