१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

फक्रिन पाएनन् स्थानीय प्रतिभा, सुरु हुँदै वडा स्तर फुटबल लिग

तस्बिर क्याप्सनः प्रतियोगिताबारे जानकारी दिइँदै ।

स्थानीय स्तरमै फुटबलका सिपालु खेलाडी उत्पादन गर्ने उद्देश्यले इलामको रोङ गाउँपालिका–६, जिर्मलेमा फुटबल लिग सञ्चालन गर्न लागिएको छ।

प्रायः प्रतियोगिताहरूमा बाहिरका खेलाडी ल्याएर खेलाउने गरिएकाले स्थानीय प्रतिभाले फक्रिन नपाएको भन्दै वडाले दुई महिनासम्म वडाकै खेलाडी मात्र समेटिने प्रतियोगिता सञ्चालन गर्न लागिएको जनाएको छ।

वडाध्यक्ष सत्यम राईले यही मङ्सिर २९ देखि प्रथम जिर्मले फुटबल लिग आयोजना गरिने जानकारी दिए। उनका अनुसार दुई महिनासम्म साताको शुक्रवार र शनिवार खेल सञ्चालन गर्न लागिएको हो। 

‘वडाकै मात्र खेलाडी समावेश गरी प्रशिक्षणमूलक फुटबल प्रतियोगिता सञ्चालन गरिनेछ,’ उनले भने, ‘फुटबल प्रतियोगिताहरू त दर्जनौँ आयोजना भइरहन्छन् तर स्थानीय खेलाडी उत्पादनमा त्यस्ता प्रतियोगिता उपलब्धिमूलक भएको देखिँदैन।’

वडाका सामुदायिक विद्यालयका चार खेलमैदानमा प्रत्येक शुक्रवार र शनिवार प्रतियोगिता सञ्चालन गरिनेछ। विद्यार्थीको पढाइमा बाधा नगरी प्रतियोगिता सञ्चालन गर्न लागिएको उनले जनाए। वडा खेलकुद विकास समितिको आयोजना तथा वडा कार्यालय र खेल सञ्चालन समितिको संयुक्त सहयोगमा लिग सञ्चालन हुनेछ।  

लिगमा साबिकका नौ वटै वडाका नौ टिम सहभागी रहनेछन्। ‘यो खेल फुटबल खेलाउनका लागि मात्र आयोजना गरिएको होइन,’ उनले भने, ‘स्थानीय स्तरमै राम्रा खेलाडी उत्पादन गर्नलाई हो।’ अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नियमानुसार खेल सञ्चालन गरिने उनले बताए।  

प्रतियोगिताको विजेताले नगद ६० हजार रुपैयाँ पाउनेछ। उपविजेतलाई पनि ४० हजार नगद पुरस्कार दिइनेछ। अन्य उत्कृष्ट खेलाडीसमेतलाई पुरस्कृत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। नौ वटै टिमलाई एक–एक सेट जर्सी र खेलको दिनको केही ‘फेयर’ रकम पनि दिइने वडाध्यक्ष राईले बताए।

लिग सञ्चालनका लागि १० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ। वडाले डेढ लाख रुपैयाँ खर्च गर्नेछ भने बाँकी रकम विभिन्न दाताबाटै सङ्कलन गर्ने वडाले जनाएको छ। जिल्ला फुटबल सङ्घले खेलका लागि प्राविधिक सहयोग गर्नेछ।  

प्रकाशित: १९ मंसिर २०८० ०५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App