१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

खेल संघ वर्गीकरणको तयारी

खेल क्षेत्रमा लामो समय क्रियाशील खेलविज्ञलाई समेट्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल संघलाई वर्गीकरण गर्ने तयारी सुरु गरेको छ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ परिच्छेद २ को नियम ३ बमोजिम समिति र राखेपका सदस्यसचिवबाट खेलको वर्गीकरण र प्राथमिकता निर्धारण गरी परिषद्मा पेस गर्ने व्यवस्था भएअनुरूप राखेपका पूर्व सदस्यसचिव युवराज लामाको संयोजकत्वमा ७ सदस्यीय खेलको वर्गीकरण र प्राथमिकता निर्धारण कार्यदल गठन गरिएको छ।

सदस्यहरूमा राखेपका पूर्वउपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सह–महासचिव पीताम्बर तिम्सिना, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा, माउन्टेन स्पोर्ट्स फेडेरेसन, नेपालका अध्यक्ष गोविन्दप्रसाद भट्टराई रहेका छन्।

प्राविधिक प्रतिनिधिमा रञ्जन थापा तथा सचिवमा संघसंस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राई छन्। खेल संघलाई क्रियाशील बनाई खेलकुद गतिविधिको कार्यान्वयनमा प्रभावकारिता ल्याउन बुधबार सदस्यसचिव टंकलाल घिसिङबाट कार्यदल गठन गर्ने निर्णय गरिएको हो। कार्यदलले विस्तृत अध्ययन गरी २१ दिनभित्र राखेपका सदस्यसचिव टंकलाल घिसिङसमक्ष प्रतिवेदन पेस गर्नुपर्नेछ।

सदस्यसचिव घिसिङ राखेपको नेतृत्वमा आएपछि राष्ट्रिय खेल संघलाई प्रभावकारी ढंगले अगाडि बढाउन क्रियाशील छन्। उनको कार्यकालमा २४ संघले निर्वाचन सम्पन्न गरिसकेका छन्। कराते, शारीरिक सुगठन, मुवाँथाई र पेन्टाथलन संघको एकीकरणसमेत भइसकेको छ।

प्रकाशित: १५ मंसिर २०८० ०१:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App