१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपाल सुपर लिग: ‘तीन अंक लिने अवसर गुम्यो’

पोखरा थन्डर्सविरुद्ध बाइसाइकल किक प्रहार गर्दै ललितपुर सिटी एफसीका ओमोलजा करिम। तस्बिर: एनएसएल

ललितपुर सिटी एफसीका सहायक प्रशिक्षक रवीन्द्र सिलाकारले सोचेअनुरूप प्रदर्शन हुन नसक्दा जारी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा बुधबार तीन अंक लिने अवसर गुमेको बताएका छन्।

पहिलो खेलमा जित निकाल्दै पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले यस सिजन सुखद सुरुआत गरेका थिए। त्यसैले दशरथ रंगशालामा दुवै टोली बुधबार दोस्रो जित निकाल्दै जारी लिगमा शीर्षता कायम राख्ने लक्ष्यसहित मैदान उत्रिए पनि सफल हुन सकेनन्। सो खेल गोलरहित बराबरीमा टुङ्गिन पुग्यो।

बराबरीपछि ललितपुर सिटीका सहायक प्रशिक्षक सिलाकारले तीन अंक लिने लक्ष्यसहित मैदानमा आए पनि सफल हुन नसकेको उल्लेख गरे।

‘जसरी हुन्छ, तीन अंक लिने योजना थियो। फिजिकल रूपमा समस्या हुँदा सोचेजस्तो भएन,’ ललितपुरका प्रशिक्षक सिलाकारले भने,‘हाम्रा विदेशी खेलाडी पनि चल्न सकेनन्।’

यो बराबरीसँगै दुवै टोली दोस्रो जित निकाल्दै जारी सिजन शीर्षता कायम गर्ने अवसर गुमाउन पुगे। तर, तुलनात्मक रूपमा पोखराले केही बढी आक्रमण बुन्यो। पोखरा हाबी देखिए पनि कुनै गोल हुन सकेन। जारी सिजन सातौं खेल हुँदा यो दोस्रो बराबरी पनि हो।

 मंगलबार एफसी चितवन र काठमाडौं रेजर्सले पनि १–१ को बराबरी नतिजा सामना गरेका थिए। खेलको सुरुआतमा पोखराले आक्रमण बुन्यो। छैटौं मिनेटमा मोसेस त्वमको प्रहार पोस्टमा लागेर फर्किंदा पोखराले अग्रता बनाउने अवसर गुमायो।

राइट साइडबाट फ्य्रान्कलिन टल्लाको पासमा मोसेसले ‘फस्र्ट टच’ भली प्रहार गरे पनि दोस्रो बारमा लागेर फर्कियो। ३३औं मिनेटमा कप्तान अनन्त तामाङको हेडर पोखराका गोलकिपर गुइलउमी प्रिसो बाधक बने।

अनिल महर्जनको कर्नरलाई अनन्तले हेडमार्फत पोस्टको दिशा दिए पनि प्रिसोले पन्च गर्दै आफ्नो टोलीको संकट टारे। ४४औं मिनेटमा पनि मोसेसको हेडरले पोस्टको दिशा लिन सकेन। राइट साइडबाट आयुष घलानको क्रसमा मोसेसको हेडर पोस्टनजिकैबाट बाहिरिन पुग्यो।

त्यससँगै पहिलो हाफ गोलरहित बराबरी सकियो। पोखराका मोसेस ५०औं मिनेटमा हेडर बल सदुपयोग गर्न असफल भए। टल्लाको क्रस बललाई हेडरमा राम्रो सम्पर्क गराउन उनी असफल भए। त्यसको पाँच मिनेटपछि नै मोसेसको अर्को हेडर प्रयास असफल भयो।

ललितपुरले ५६औं मिनेट सुन्दर अवसर बनायो। यद्यपि, इजिलिएलले वान भर्सेस वानमा अवसर गुमाए। दिनेश राजवंशीले बल क्लियर गर्दै ललितपुरको योजना सफल हुन दिएनन्। ६३औं मिनेटमा आयुषको लामो दूरीको प्रयास पोस्टभन्दा केही माथिबाट बाहिरिन पुग्यो।

केही समयपछि पोखरा थन्डर्सले अर्को अवसर सिर्जना ग¥यो। ७४औं मिनेटमा दिनेश राजवंशीको फ्रिकिक बारमाथिबाट बाहिरियो। त्यसको पाँच मिनेटपछि आयुष घलानको प्रहार बाल्टुसको हातमै पुग्यो।

८२औं मिनेटमा मोसेसको बक्सबाहिरबाट गरेको प्रहार पोस्टको केही टाढाबाट बाहिरियो। थपिएको समयमा पनि सञ्जीव विष्टको प्रहार करिमले हेडरबाट पोस्टभन्दा माथि क्लियर गरिदिए र लगातार दोस्रो दिन खेल बराबरीमा टुङ्गियो। पोखरा थन्डर्सका प्रशिक्षक नवीन न्यौपानेले पनि आशाअनुरूप खेल नभएको उल्लेख गरे।

‘हाम्रो खेल आशाअनुसार भएन। ललितपुर पनि बलियो टोली हो र उसले दोस्रो हाफमा राम्रो खेल्यो। पहिलो हाफमा अट्याकिङ थर्डमा चुक्याैं। आयुषले आशाअनुसार खेले। लिग प्रतिस्पर्धा बढेको छ। तर पनि प्लेअफमा पुग्ने लक्ष्य छ,’ पोखराका प्रशिक्षक न्यौपानले भने।

पहिलो खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसविरुद्ध २–० र पोखराले एफसी चितवनलाई १–० ले हराउँदै दोस्रो सिजनको सुखद सुरुआत गरेका थिए। यो बराबरीसँगै दुवै टोलीको समान दुई खेलमा समान चार अंक भएको छ। बिहीबार धनगढी एफसीले बुटवल लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ।  

प्रकाशित: १४ मंसिर २०८० ०१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App