काठमाडौं – साबित्रा भन्डारीको गोलमा सशस्त्र प्रहरी बलको (एपिएफ)ले शुक्रबार त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै समूह विजेताको हैसियतामा राखेप च्याम्पियनसिपअन्र्तगत १६औं महिला राष्ट्रिय फुटबल प्रतियोगिताको सुपर लिगमा प्रवेश गरेको छ ।
समूह विजेताका लागि भएको भिडन्तमा एपिएफलाई जिताउन साबित्राले ५०औं मिनेटमा गरेको गोल पर्याप्त भयो । वायाँ भागबाट अनिता केसीले दिएको पासलाई साबित्राले आर्मीका रक्षक छलाउँदै गोलमा परिणत गरेकी थिइन । उनले पेनाल्टी बक्सबाट गरेको प्रहारलाई विपक्षी गोलकिपर लिला लामगादेले बाचाउ गर्न सकिनन् । यससँगै प्रतियोगितामा साबित्राको गोलसंख्या २१ पुगेको छ । उनले मध्यपश्चिमाञ्चलविरुद्धमात्र कीर्तिमानी १२ गोल गरेकी थिइन् ।
जितसँगै एपिएफले समूह चरणमा शतप्रतिसत नतिजा निकाल्दै समूह ‘बी’ को विजेता बनेर सुपर लिगमा स्थान बनाएको छ । यसअघि नै सुपर लिग प्रवेश गरिसकेका दुई टोलीबीचको भिडन्तमा पराजित भएपछि आर्मी ६ अंक का साथ उपविजेतामा सिमित भयो । एक खेलमात्र जितेको पश्चिमाञ्चल तेस्रो स्थानमा रहँदा मध्यपश्चिमाञ्चल चौथो स्थानमा रह्यो । मध्य पश्चिमले कुनै खेल जित्न सकेन ।
एपिएफ र आर्मीले अब नेपाल पुलिस क्लब र सुदूर पश्चिमाञ्चलसँग सुपर लिग खेल्नेछन् । पुलिस र सुदूर पश्चिमाञ्चल समूह ‘ए’ को विजेता र उपविजेता टोली हुन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा शुक्रबारै भएको पहिलो खेलमा पश्चिमाञ्चलले मध्य पश्चिमाञ्चलमाथि २–० को विजय हासिल ग¥यो । ६१औं मिनेटमा समा कार्कीले गरेको आत्मघाती गोलमा पश्चिमाञ्चलले अग्रता लिएको थियो । लगत्तै सुनिता विकले अर्को गोल थप्दै पश्चिमाञ्चलको जित पक्का गरेकी थिइन् । खेलअघि समान २ खेल गुमाएको पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चलका लागि शुक्रबारको खेल प्रतिष्ठाको लडाई मात्र थियो ।
प्रकाशित: २२ पुस २०७४ ००:५२ शनिबार