२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

ढोरपाटन महिला भलिबल डबल लिग माघको तेस्रो सातादेखि

वि.सं २०६३ सालदेखि आयोजना हुँदै आएको ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको १६ औं संस्करण आगामी माघको दोस्रो सातादेखि सुरु हुने भएको छ।

आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले आज मंगलवार पत्रकार सम्मेलन आयोजना गर्दै महिला भलिबलको बहुप्रतिक्षित प्रतियोगिता माघ १२ देखि २२ गतेसम्म सञ्चालन गर्ने जानकारी दिएको हो। सो प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेलमैदानमा सञ्चालन हुनेछ। पछिल्लो १५औं संस्करण वि.सं.२०७६ सालमा आयोजना भएको थियो। तर, कोरोना महामारीलगायत आर्थिक सङ्कट भएपछि क्लबले तीन वर्षसम्म १६ औं संस्करणको आयोजना गर्न सकेन।

यद्यपि, लामो समयको अन्तरालपछि महिला डबल लिग भलिबल पुनः सञ्चालनमा आउने भएको छ।आज मंगलवार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मनवीर छन्त्यालले पनि कोरोना महामारी, आर्थिक सङ्कट र नेपाल भलिबल संघको चुनावका प्रतियोगिता गर्न नसकिएको उल्लेख गरे। लामो समयपछि प्रतियोगिता फर्काउन पाउँदा खुसी लागेको उनले बताए। यस वर्ष हुने प्रतियोगितामा ९ टोली सहभागी हुने सम्भावना रहेको अध्यक्ष छन्त्यालले जानकारी दिए।

तयारीका लागि उपत्यका बाहिरका टोलीलाई ८० हजार, न्युडायमण्ड क्लबलाई ५० हजार र अन्य क्लबलाई ३० हजार प्रदान गर्ने आयोजकले जनाएको छ। यस प्रतियोगितामा सबैभन्दा सफल सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सात पटक र पोखराको ज्ञानुबाबा स्कुलले पाँच पटक उपाधि जितेको छ। नेपाल पुलिस क्लब, रिड मोडल कलेजले समान एक पटक जितेको छ। पहिलो संस्करणमा पुरुषहरूको प्रतिस्पर्धा हुँदा त्रिभुवन आर्मीले जितेको थियो। हालसम्म ४३ महिला खेलाडी र तीन दर्शकले पुरस्कार बापत स्कुटर जितेका छन्।

अघिका संस्करणमा एक दर्शकसहित चार खेलाडीलाई स्कुटर प्रदान गर्दै आएको थियो। यस पटक भने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मात्र स्कुटर प्रदान गर्ने आयोजकले जनाएको छ। यस पटक प्रतियोगिताको पुरस्कार राशिमा भने वृद्धि हुँदा विजेताले पाँच लाख १ हजार, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख २५ हजार, चौथोले ७५ हजार, पाँचौँले ५० हजार र छैटौँ हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। 

उत्कृष्ट खेलाडीले जनही पाँच हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ। प्रतियोगिता लागि ५१ लाख पाँच हजार रुपैयाँ अनुमानित खर्च हुने आयोजकले उल्लेख गरेको छ। 

प्रकाशित: १२ मंसिर २०८० १३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App