४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

केपी ओली टी–२० क्रिकेट: कर्णालीको जितमा रावतको अविजित इनिङ

प्लेयर अफ दि म्याच घोषित कर्णालीका दिपेन्द्र रावत पुरस्कारको साथमा। तस्बिर: उमेश पुन/नागरिक।

दिपेन्द्र रावतको उत्कृष्ट इनिङमा कर्णाली प्रदेशले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोलाई ४ विकेटले पराजित गरेको छ।

शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा आयोजक एकेडेमी रातोले दिएको ११० रनको लक्ष्यलाई कर्णाली प्रदेशले १८.१ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्‍यो। दुवै टोलीलाई पराजित गरेको बागमती प्रदेश भने सेमिफाइनल प्रवेश गरिसकेको छ।

छैटौं नम्बरमा आएका रोशन गौतमले २० बलमा ३० रन हिर्काउँदै आयोजक रातोलाई सम्मानजनक स्कोर तर्फ अग्रसरता दिलाए। उनले १ चौका र ३ छक्का हिर्काए। टस जितेर ब्याटिङ गर्न क्रिजमा आएको आयोजकले पहिलो विकेट अमर मिश्रलाई एक रनमै गुमायो। अर्का ओपनर निर्मल थापालाई तेस्रो नम्बरमा आएका अंकित बमले साथ दिए।

थापाले १७ रन बनाउन ३७ बल खर्चिए। बमले १८ रन जोड्न २८ बलको सामना गरे। उनले तीन चौका हिर्काए। निश्चल ग्यावतीले १९ रन जोडे। रोशन गौतमले अविजित ३० रन बनाउँदै टोलीको स्कोर सम्मानजनक स्थितिमा पुर्‍याए। सेहजाद आमलले पनि १२ बलमा १६ रन जोड्दै रनआउट हुन पुगे। कर्णालीका प्रकाश जैसीले २ विकेट लिए।

११० रनको लक्ष्यलाई पुरा गर्ने क्रममा दिपेन्द्र रावतले अविजित ४३ रनको महत्त्वपूर्ण योगदान दिए। उनले ३१ बल खेल्दै २ चौका र ३ छक्का हिर्काउँदै जित दिलाए। केवल १८.१ ओभरमा ६ विकेटको क्षतिमा पुरा गरेको कर्णालीको गतिलो सुरुवात भने हुन सकेन। ९ रनमा ओपनर मनिष थापा र ३ रनमा उत्कर्ष विकलाई गुमाएको कर्णालीले निश्चल रावल र अर्जुन घर्तीले सम्हाल्ने जिम्मेवारी लिए। तर उनीहरुको पनि साझेदारी बन्न सकेन। घर्ती ७ रनमै पभेलियन फर्किए।

कप्तान रविन्द्र शाही पनि पहिलो बलको सामना गर्ने क्रममा बलर विप्रासन केसीको बलमा शून्यमै आउट भए। रावले १५ रनमा विप्रसनकै बलमा आउट भएपनि इनिङलाई दिपेन्द्र रावतले सम्हाल्दै जितको खुसीयाली दिलाए। उनलाई केही समय साथ दिएका प्रकाश जैसी पनि १९ रनमा आउट हुन पुगे। आयोजक एकेडेमी रातोका सन्तोष यादव र विप्रासन केसीले समान २ विकेट लिए।

प्रकाशित: ९ मंसिर २०८० १०:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App