२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

पोखरामा एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस शुरु

साहसिक खेलको रुपमा परिचित एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस पोखरामा बिहीबारदेखि शुरु भएको छ। बाईक रेस उदघाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले खेल क्षेत्रको विकासको लागि महानगर सदैव तयार रहेको बताए।पोखरालाई खेल पर्यटनको हब बनाउनका लागि प्रशस्त सम्भाव्यता रहेका कारण अन्तर्राष्ट्रिय स्तरका खेल पोखरामा ल्याउन सबैले पहल गर्नुपर्ने उनको जोड थियो।  

माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा पोखरा महानगरपालिका– १३ आर्वा–बिजय डाँडा(महाप्रभु धाम)मा शुरु भएको प्रतिस्पर्धामा नेपाल सहित ११ देशका ५६ खेलाडीले सहभागिता जनाएका छन्।  प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले ४ वर्ष अगाडिदेखि तयारी गरिएको जनाउँदै चारवर्ष पछि मात्रै रुटमा साईक्लिङ प्रतिस्पर्धा गराइएको सुनाए।  

उनका अनुसार ७ विधामा हुने प्रतियोगिताको लागि ६ वटा ट्रयाक छन्। ४ वटा सबैले गर्नुपर्ने हुन्छ। प्रोफेशन राइडरका लागि इलिट र इ–बाइकको लागि छुट्टै ट्रयाकमा रेस गर्नुपर्ने उनले बताए। एन्ड्युरो माउन्टेन बाइक रेसका लागि पोखरा नै उपयुक्त ठाँउ रहेको उनको भनाई थियो। पोखरा १३ का वडाध्यक्ष किरण बरालले आर्बालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने भएकाले खुशी व्यक्त गरे।

प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरि ७ विधामा प्रतिस्पर्धा हुनेछन्। इ–बाइक रेस नेपालमै पहिलो पटक हुन लागेको आयोजकले जनाएको छ। इलिट पुरुषतर्फका प्रथम हुनेले नगद ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्ने र इलिट महिलातर्फ प्रथम, दोस्रो र तेस्रो क्रमशः ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ प्राप्ते गर्नेछन्। अन्य विधामा भने गिफ्ट ह्यापर प्रदान गरिने आयोजकले जनाएको छ।

प्रकाशित: ७ मंसिर २०८० १०:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App