४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

अपर्याप्त तयारीमा उत्कृष्ट फुटबल खेल्ने दाबी

नेपाली फुटबलको बहुप्रतीक्षित व्यावसायिक लिग नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण सुरु हुन दुई दिन बाँकी छँदा अधिकांश टोलीले तयारी पर्याप्त नभए पनि उत्कृष्ट फुटबल खेल्ने दाबी गरेका छन्।

नेपाली फुटबलको पहिलो फ्रेन्चाइज प्रतिस्पर्धा एनएसएलको दोस्रो संस्करण आगामी शुक्रबारदेखि सुरु हुँदै छ। शुक्रबार दशरथ रंगशालामा भव्य उद्घाटन समारोह हुँदै छ। सो समारोहमा गायक सुशान्त केसी, ट्विन्नी गल्र्स र वाङ्देन शेर्पालगायतका केही शीर्ष कलाकारहरूको उपस्थिति रहने आयोजकाले बताएको छ। साथै प्रतियोगितादौरान इङ्लिस फुटबल लिग चेल्सीका लिजेन्ड डिडियर ड्रोग्बा आउने आयोजकले जनाएको छ । नेपाली फुटबलमा पहिलो पटक एलइडी पेरिमिटर बोर्डहरू प्रयोग हुँदै छ।

तर, प्रतिस्पर्धी टोलीहरूले भने तयारी राम्रो नभएको उल्लेख गरेका छन्। यस पटक तीन नयाँ टोलीसहित कुल ९ फ्रेन्चाइज टोलीले चुनौती प्रस्तुत गर्दै छन्। तर, अधिकांश टोलीले अपर्याप्त समयका बीच तयारी गरिरहेको उल्लेख गरेका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा धनगढी फुटबल एफसीबाहेक आठवटा टोलीका प्रशिक्षक र मार्की खेलाडी उपस्थित थिए। पत्रकार सम्मेलनमा उपस्थितमध्ये बुटवल लुम्बिनी एफसीले अभैm पनि आफ्नो टोली पूर्ण नभएको उल्लेख गरेको छ।

बुटवलका प्रशिक्षक विजय महर्जनले पछिल्लो तीन हप्तादेखि नै अपूर्ण टोलीका बीच तयारी गरिरहेको उल्लेख गर्दै सम्भवतः बिहीबार मात्र टोली पूर्ण हुने विश्वास व्यक्त गरे। पोखरा थन्डर्सले दोस्रो संस्करणमा कम्तीमा पनि सेमिफाइनलमा पुग्ने लक्ष्य राखेको छ। पोखराका प्रशिक्षक नवीन न्यौपानेले युवा खेलाडी र अपर्याप्त तयारी भएकाले टिम सेट गर्न केही समय लागे पनि सेमिफाइनल पुग्ने लक्ष्य रहेको उल्लेख गरे। सहभागी टोलीले यसअघि नै आफ्ना विदेशी तथा प्रतिष्ठित खेलाडीसहित प्रशिक्षक र व्यवस्थापकको घोषणा गरिसकेका छन्।

यस पटक इलाम स्पोर्टिङ, झापा एफसी र वीरगन्ज युनाइटेडले फ्रेन्चाइज लिग खेल्दै छन् । गत संस्करणको च्याम्पियन काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले दोस्रो संस्करणमा पनि चुनौती प्रस्तुत गर्दैछन्। पत्रकार सम्मेलनमा अधिकांश टोलीले छोटो समयको तयारीका बावजुद उत्कृष्ट फुटबल प्रदर्शन गर्ने उल्लेख गरेका छन्। प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता काठमाडौं रेजर्सले नवआगन्तुक टोली स्पोर्टिङ इलाम एफसी डी मेचीको सामना गर्नेछ।

नेपाली फुटबलको स्तर बढाउँछौं: आयोजक  

एनएसएलको आयोजकले शुक्रबारदेखि सुरु हुने दोस्रो संस्करणमा उत्कृष्ट फुटबल देखाउँदै नेपाली फुटबल एक पटक फेरि दर्शकको उपस्थितिलाई बाक्लो बनाउने लक्ष्य रहेको बताएको छ।

बुधबार एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै दोस्रो संस्करणलाई उच्च स्तरमा आयोजनामा लैजान प्रयत्न गर्ने जनाएको छ । एनएसलको पहिलो आयोजना दुई वर्षअघि सम्पन्न भएको थियो । कोरोना महामारीका कारण पहिलो संस्करण बन्द रंगशालाबीच भएको थियो । नेपाली फुटबलको प्रशासकीय निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व चयनको प्रक्रिया अगाडि बढेसँगै आयोजकले दोस्रो संस्करण आयोजना गर्न सकेन । तर, दुई वर्षको अन्तरपछि दोस्रो संस्करण मंसिर आठदेखि सुरु हुँदै छ।

महामारीका कारण पहिलो संस्करणमा दर्शकलाई सामेल गर्न नसकिएको उल्लेख गर्दै आयोजकले यस पटक घरेलु फुटबलमा नयाँ अनुभूति दिने विश्वास गरेको छ ।  

‘कोभिड १९ का कारण हामीले पहिलो संस्करणमा दर्शकलाई उपस्थित गराउन सकेनौं । यसपटक हामी उत्साहित र नेपाली फुटबललाई माया गर्ने हजारौं समर्थक रंगशालामा आउने अपेक्षामा छौं,’ एनएसएलको आयोजक एनएसइएमका निर्देशक श्रेयान्श कार्कीले भने ।  

उनले ठूलो आर्थिक चुनौतीका बीच पनि फ्रेन्चाइज टोलीहरूको सहयोग र आम समर्थकको चासोका कारण दोस्रो संस्करणलाई भव्य बनाउने उल्लेख गरेका हुन् । कार्कीले एनएसएल नेपाली फुटबलको शीर्ष डिभिजन सहिद स्मारक लिगको प्रतिस्पर्धी नभएको उल्लेख गर्दै यो आयोजनाबाट नेपाली फुटबललाई नयाँ स्तरमा लैजान मद्दत पु¥याउने धारणा राखे ।

पहिलो संस्करणमा सात फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए । दोस्रो संस्करणमा तीन नयाँ टोली थपिएका छन् । तर, पहिलो संस्करण खेलेको विराटनगर सिटी एफसीले दोस्रो संस्करणबाट हात झिकेको छ । त्यसैले एनएसएलमा फ्रेन्चाइज टोलीको अस्थिरताबारे निर्देशक कार्कीले व्यक्तिगत कारणले त्यस्तो हुन गएको पनि स्पष्ट पारेका छन् । नेपाल स्पोटर््स एन्ड इभेन्ट्स म्यानेजमेन्टकी अध्यक्ष आश्रयता कार्की चौधरीले एनएसएललाई नेपाली फुटबल विकासको सारथिका रूपमा अगाडि बढाउने उद्देश्यअनुरूप आयोजना गरिएको उल्लेख गरिन् ।

यस संस्करणमा भारतका तीन जना रेफ्रीको पनि सहभागिता रहने भएको छ । आयोजकले उपाधि विजेताका लागि अहिलेसम्म पुरस्कार तय नभएको पनि उल्लेख गरेको छ । यद्यपि, ७५ लाख रूपैयाँ नगद पुरस्कार या त्योभन्दा पनि बढी हुन सक्ने आयोजक एनएसइएमका निर्देशक कार्कीले बताए । कुल ४० वटा खेल नै दशरथ रंगशालामा हुनेछन् । प्रतियोगिताका लागि टिकट दर साधारणतर्फ २ सय र भिआइपीतर्फ ५ सय तोकिएको छ ।  

प्रकाशित: ७ मंसिर २०८० ००:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App