२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

यमनसँग जित निकाल्ने नेपालको लक्ष्य विफल

यमनविरुद्ध बल अगाडि बढाउँदै नेपालका दिनेश हेन्जन (बायाँ)। तस्बिर: एन्फा

आफूभन्दा २१औं वरीयतामाथिको टोली यमनलाई विश्वकप तथा एएफसी कप छनोटको दोस्रो चरणमा स्तब्ध बनाउँदै पहिलो पटक जित निकाल्ने नेपालको लक्ष्य यस पटक पनि अधुरै बनेको छ।

घरेलु मैदान दशरथ रंगशालामा मंगलबार १३ हजार सात सय ३५ दर्शकको साथ पाएको नेपाल यमनसँग अन्तिम समयतिर समालिन नसक्दा २–० को हार बेहोर्न बाध्य भयो। यससँगै यमनविरुद्ध पहिलो पटक जित निकाल्ने नेपालको लक्ष्य पनि पूरा हुन सकेन। यसअघिका चार भेटमा नेपालले तीन खेलमा हार बेहोर्दा घरेलु मैदानमा भने बराबरीको नतिजा सामना गरेको थियो।

मंगलबार पाँचौं भेटमा भने जित निकाल्ने लक्ष्यसहित घरेलु मैदानमा उत्रिएको नेपालको योजनाले सार्थकता पाउन सकेन। पहिलो हाफमा भने नेपालले पाहुना टोलीलाई रोकेको थियो। तर, अन्तिम १७ मिनेट भने नेपाल रोकिन सकेन र दुई गोल बेहोर्‍यो।

ओमार अब्दुलाह अल दाही र मोहम्मेद अब्दुलाह अल दाहीले गोल गर्दै यमनलाई जित दिलाए। यससँगै जारी छनोटमा समूह ‘एच’ मा रहेको नेपालको हारको शृंखला रोकिएन।

 यमनले भने पहिलो जित निकाल्यो। नेपालले यसअघि संयुक्त अरब इमिरेट्स (युएई) लाई ४–० को नतिजा सुम्पिएको थियो। त्यसअघि खेलको तेस्रो मिनेटमा जिलेस्पीजंग कार्कीले बललाई पोस्टको दिशा दिने प्रयास गरे पनि यमनी गोलकिपरलाई फाउल गर्दा घरेलु टोलीले अग्रता लिने अवसर गुमायो। ११औं मिनेटमा दायाँ विंगबाट दिनेश हेन्जनले दिएको क्रसमा जिलेस्पीले हेडर जित्न सकेनन्।

२६औं मिनेटमा यमनका हम्जाह अहमदले डी एरियाभित्रबाट गरेको सफल हुन सकेन। उनको प्रहार नेपालका गोलकिपर किरणले सहजै बचाए। २८औं मिनेटमा दिनेशको कर्नरमा कसैले हेडर जित्न सकेनन्। त्यसलगत्तै यमनको काउन्टर नेपालले विफल बनायो। त्यसको एक मिनेटपछि दिनेशले नै बक्सबाहिरबाट लिएको प्रहार पोस्टको धेरै टाढाबाट बाहिरिन पुग्यो।

३२औं मिनेटमा अहमद महेरको लामो प्रहार बारमाथिबाट बाहिरियो। ३८औं मिनेटमा मोहम्मद अल वाजिहको प्रहारले पनि पोस्टको दिशा लिन सकेन।

पहिलो हाफको अन्त्यतिर यमनले बलमा नियन्त्रण राखे पनि थप अवसर भने सृजना गर्न सकेन। ५०औं मिनेटमा अब्दुलाह अल दाहीले गरेको सशक्त प्रहार गोलकिपर किरणले मुस्किलले बचाए। त्यसको दुई मिनेटमा नै कर्नर प्रहारमा गोल गर्ने नेपालको रणनीति सफल हुन सकेन। ६१औं मिनेटमा हिसुब थपलियाले गोल गर्ने सुन्दर अवसर गुमाए। यमनका गोलकिपर अब्दुलाह अल सादी अगाडि बढेको समयमा उनको ओभर हेड प्रहार सफल हुन सकेन। ६५औं मिनेटमा यमनले गोल गरे पनि रेफ्रीले अफसाइड निर्णय दिए।

अल खादिर सलिमको प्रहारले मान्यता पाएन। ७३औं मिनेटमा ओमार अब्दुलाह अल दाहीले पेनाल्टी क्षेत्रबाट उत्कृष्ट प्रहार गर्दै ओमानलाई अग्रता दिलाए। ७६औं मिनेटमा अहमद महेरले नजिकको दूरीबाट गोल गर्ने अवसर गुमाए।

नेपालका दुई डिफेन्डर छलाउँदै उनले गरेको प्रहार बारमाथिबाट बाहिरिन पुग्यो। ८७औं मिनेटमा यमनका नासिर अल गहावासीले ३५ यार्ड टाढाबाट गरेको सशक्त प्रहार नेपालका गोलकिपर किरणले पन्च गर्दै बचाए। अन्तिम समयमा यमन दोस्रो गोल गर्दै जितनजिक पुग्यो।

९०औं मिनेटमा मोहम्मेद अब्दुलाह अल दाहीले दुई डिफेन्डरलाई बिट गर्दै सहज गोल गरे। नेपालका प्रशिक्षक अल्बर्टो एनेस खेलाडीको प्रदर्शनबाट सन्तुष्ट देखिएनन्। उनले आगामी दिनमा अझ राम्रो फुटबल खेल्न आवश्यक रहेको उल्लेख गर्दै पछिल्ला वर्षयता चलिरहेको अट्याकिङ शैलीको खेल नेपालले अपनाउन नसकेको उल्लेख गरे। साथै चोटको समस्याबाट जुझेका कयौं खेलाडीले संघर्ष गरेको धारणा पनि राखे। खेलाडी पलायनबाट पनि नेपालको राष्ट्रिय टोलीमा अनुभवी खेलाडीको खाँचो देखिएको उल्लेख गरे।

यमनका प्रशिक्षक मुख्य प्रशिक्षक मिरोस्लाभ सुकोपले नेपालले राम्रो चुनौती दिए पनि आफ्ना खेलाडीले दोस्रो हाफमा थप दबाब बढाउँदा जित निकाल्न सफल भएको बताए। 

प्रकाशित: ६ मंसिर २०८० ००:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App