२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मंसिर १६ देखि दक्षिण एसियाली कराते हुँदै

दक्षिण एसियाली करातेबारे जानकारी गराउँदै आयोजक। तस्बिर: नागरिक

सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप आगामी मंसिरको तेस्रो सातादेखि सुरु हुने भएको छ।

नेपाल कराते महासंघको आयोजनामा आगामी मंसिर १६ गतेदेखि ६ राष्ट्रले प्रतिस्पर्धा गर्ने दक्षिण एसियाली कराते च्याम्पियनसिप हुन लागेको हो। यस किसिमको च्याम्पियनसिप २५ वर्षपछि आयोजना गर्न लागेकाले यो आयोजनाबाट नेपाली करातेको गरिमा बढाउने आयोजकको विश्वास छ। महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै च्याम्पियनसिपबारे जानकारी दिएको थियो।

आयोजक नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलंकाले दुईदिने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने महासंघका अध्यक्ष युवराज लामाले जानकारी दिए। प्रतिबन्धमा रहेकाले श्रीलंकाको भने एनओसी टिमबाट सहभागी हुने जनाइएको छ।

 च्याम्पियनसिपमा क्याडेट, जुनियर, यु–२१ र सिनियरमा गरी चार विधामा कुल तीन सय ५३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। महासंघका महासचिव दावा गुरुङले कुल ६२ स्वर्णका लागि प्रतिस्पर्धा हुने जानकारी दिए।

यस क्रममा क्याडेटमा १२, जुनियरमा १५, यु–२१ मा १६ र सिनियरमा १९ स्पर्धामा खेल हुनेछन्। नेपालबाट भने ६८ खेलाडीले सबै स्पर्धामा चुनौती प्रस्तुत गर्ने भएका छन्। नेपाली खेलाडीको प्रशिक्षणका लागि ६ प्रशिक्षक र दुई व्यवस्थापकको व्यवस्था गरिएको महासंघले जनाएको छ।

गोकर्णेश्वरस्थित शंखडोल कराते एकेडेमीमा कुमुते र बौद्ध डोजोमा काता टोलीले तयारी गरिरहेका छन्। महासंघका अध्यक्ष लामाले प्राविधिक रूपमा यो प्रतियोगिता आयोजना गर्नुपर्ने बंगलादेशले प्रस्ताव नै नगरेकाले नेपालले आयोजनाका लागि प्रस्ताव गरेकोमा एसियाली कराते महासंघ(एकेएफ) ले स्वीकृति दिएको जानकारी दिए।

‘प्राविधिक रूपले यो प्रतियोगिता बंगलादेशले गर्नुपर्ने थियो। बंगलादेशले प्रस्ताव नै राखेन र हामीले प्रस्ताव राख्यौं। एकेएफको जोड पनि नेपाललाई नै रह्यो,’लामाले भने,‘प्रतियोगितासँगै हामीले सेमिनार पनि गर्ने सहमति मागेका छौं। सेमिनारका लागि पनि एकेएफबाट स्वीकृति प्राप्त भयो।’

प्रतियोगितालाई विश्व कराते महासंघ(डब्लुकेएफ) र नेपाल ओलम्पिक कमिटीले पनि मान्यता दिएको कराते महासंघले जनाएको छ। प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब एक करोड १० लाख रूपैयाँ खर्च हुनेछ। प्रतियोगिता अघि मंसिर १२ गतेदेखि एकेएफ रेफ्री सेमिनार सातदोबाटोस्थित कराते एकेडेमी हलमा हुनेछ। मंसिर १५ गते दक्षिण एसियाली कराते महासंघको कोंग्रेस पनि हुने नेपाल कराते महासंघले जनाएको छ।

प्रकाशित: २ मंसिर २०८० ०३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App