१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बाहिरिएका टोलीबीच प्रतिष्ठाको भिडन्त

काठमाडौं–प्रतियोगितामा लज्जास्पद नतिजा बेहोरेको नेपालले प्रतिष्ठाको खेलमा बिहीबार(आज) भुटानसँग खेल्दै छ । बंगलादेशमा जारी साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपमा नेपाल र भुटान जित हासिल गर्न नसकेका टोली हुन् । राउन्ड रोबिन लिगको आधारमा भइरहेको प्रतियोगितामा नेपाल र भुटान अघिल्ला दुवै खेलमा पराजित भइसकेका छन् । 

उमेरसमूह फुटबलमा पहिलो पटक निराशाजनक नतिजा निकाल्ने टोलीका रूपमा अगाडि बढेको छ नेपाल । तर नेपालका लागि अन्तिम खेलमा भने आफ्नो कमजोरी हटाउँदै सुखद नतिजा निकाल्ने अन्तिम मौका छ ।

बिहीबार प्रतियोगिताको अन्तिम खेलका लागि मैदानमा उत्रँदा दुवै टोलीका लागि प्रतिष्ठाको विषय जित हुनेछ । दुवै टोली लगातार हारको क्रमलाई रोक्दै जितसहित प्रतियोगिताको अन्त्य गर्ने लक्ष्यमा हुनेछन् । बिहीबार (आजै)  प्रतियोगिताको फाइनलमा आयोजक बंगलादेशले भारतसँग प्रतिस्पर्धा गर्नेछ । 
जारी प्रतियोगितामा नेपाल सुरुआतमै आयोजक बंगलादेशसँग ६–० ले पराजित भएको थियो । प्रतियोगिताअघि नेपालले भारतलाई मुख्य प्रतिद्वन्द्वीका रूपमा लिएको थियो । तर पहिलो खेलमै बंगलादेशसँग पराजित भएको नेपाली टोलीले दोस्रो खेलमा पनि लज्जाजनक हारको सामना गर्नुप¥यो । भारतले मंगलबार नेपाललाई १०–० ले हराउँदै फाइनलमा पुग्यो । 
भारतसँगको हारकै कारण नेपाल एक खेलअगावै प्रतियोगिताको उपाधि दौडबाट बाहिरिएको थियो । ढाकास्थित मोस्तोफा कमल रंगशालामा नेपालले भारतविरुद्ध भोगेको हार उमेरसमूहको फुटबलमा अहिलेसम्मकै लज्जाजनक हार थियो ।  चार टोलीले भाग लिएको प्रतियोगिता राउन्ड रोबिनका आधारमा भएको थियो । राउन्ड रोबिन लिगमा सबै टोलीले एकआपससँग खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नुपर्ने थियो । तर सुरुआतका दुवै खेलमा नेपाल र भुटान पराजित भएपछि एक खेलअगावै भारत र बंगलादेश फाइनलमा पुगे । 
प्रतियोगितामा नेपाल सबैभन्दा धेरै विपक्षी गोलको सामना गर्ने टोली हो । नेपालले दुई खेलमा १६ गोल र भुटानले ६ गोलको सामना गरेका छन् । समान ६ अंक जोडेका भारत र बंगलादेश सोझै फाइनलमा स्थान बनाउन सफल भए । यसै गरी भुटान पहिलो खेलमा भारतसँग ३–० ले पराजित भएको थियो । दोस्रो खेलमा पनि बंगलादेशसँग ३–० ले पराजित भएपछि भुटानको फाइनल पुग्ने सम्भावना सकिएको थियो । प्रतियोगितामा भुटानले ६ र नेपालले १६ गोलको सामना गरेका छन् । तर दुवै टोलीले विपक्षीको पोस्टमा गोल गर्न सकेका छैनन् । 
प्रतियोगिताको दुई खेल सकिँदा भारतकी प्रियगा देवी नाओरिम र सुनीता मुन्डा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् ।  उनीहरू दुवैले  समान ४ गोल गरेका छन् । सुनीताले नेपालविरुद्धको खेलमा मात्र ४ गोल गर्न सफल भएकी थिइन् । यसै गरी बंगलादेशकी तोहुरा खातुनले प्रतियोगिताका दुई खेलमा ३ गोल गरेकी छिन् । 
प्रतियोगिताअघि युवा टोलीकी प्रशिक्षक गंगा गुरुङ र पारस चौधरीले नेपाल उपाधि जित्ने लक्ष्यसहित ढाका गएको बताएका थिए ।

प्रशिक्षक चौधरीले छोटो समयमा तयारी राम्रो भएको बताए पनि नतिजाले भने त्यसलाई पुष्टि गरेन । नेपाल सुरुदेखि नै विपक्षीसामु कमजोर भएर देखियो । नेपालले दुवै खेलमा विपक्षीको पोस्टमा गोल गर्न सकेन । उमेरसमूह फुटबलमा पहिलो पटक निराशाजनक नतिजा निकाल्ने टोलीका रूपमा अगाडि बढेको छ नेपाल । तर नेपालका लागि अन्तिम खेलमा भने आफ्नो कमजोरी हटाउँदै सुखद नतिजा निकाल्ने अन्तिम मौका छ । हारले निराश बनेको यु–१५ टोलीले भुटानलाई हराउन सके केही राहत हुन सक्नेछ । 
यसै गरी फुटबल विकासमा लगानी गर्ने दौडमा अगाडि रहेको भारत महिला फुटबलको उपाधि जितेर घर फर्कन चाहन्छ । भारतका लागि प्रतियोगिताको उपाधि जित्नु विगतको सफलतालाई निरन्तरता दिनु हो । तर आयोजक बंगलादेशका लागि भने उपाधि जित्नु फुटबल इतिहासमा महत्वपूर्ण उपलब्धिमा पर्छ । बंगलादेश महिला फुटबलको सिनियरमा बलियो प्रतिद्वन्द्वी होइन । तर जुनियर फुटबलमा बंगलादेशले उत्कृष्ट नतिजा निकाल्दै फाइनलमा स्थान बनाउन सफल भएको छ । फाइनलमा पुग्नु घरेलु टोलीका लागि महत्वपूर्ण उपलब्धि हो । बिहीबार घरेलु मैदानमा भारतको सामना गर्दा दर्शकको धेरै साथ पाउनेछ बंगलादेशले । भारतलाई हराउन सहज छैन बंगलादेशलाई । फाइनलको नतिजालाई सहजै अनुमान लगाउन पनि सकिन्न । । घरेलु टोलीले उपाधि जिते एक स्मरणीय सफलता बन्ने छ बंगलादेश महिला फुटबल इतिहासमा ।  

 

प्रकाशित: ६ पुस २०७४ ०१:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App