१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बंगलादेशी बलिङ प्रशिक्षकले राजीनामा दिने

एलन डोनाल्ड

आफ्नो टोलीका खेलाडीद्वारा भएको ‘टाइम आउट’ को घटनाबारे आलोचना गरेपछि बंगलादेशका तीव्र गतिका बलिङ प्रशिक्षक एलन डोनाल्डले पदबाट राजीनामा दिने भएका छन्।

बंगलादेशले शनिबार पुनेमा अस्ट्रेलियाविरुद्ध खेल्दै भारतमा जारी विश्वकपको यात्रा निरासपूर्ण रूपले अन्त्य गर्नेछ। यस पटक खराब रहे पनि श्रीलंकाविरुद्धको खेलबाट बंगलादेशले निकै चर्चा बटुल्यो।

श्रीलंकाका एन्जेलो म्याथ्युजलाई टाइम आउट गरेपछि बंगलादेशका कप्तान सकिब अल हसन र उनको टोलीले धेरै आलोचना खेप्नुपर्‍यो। यस क्रममा बंगलादेशी खेलाडीले आफ्नै प्रशिक्षक एलनबाट पनि सार्वजनिक रूपमा आलोचना सामना गर्‍यो। त्यससँगै बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) सँग खराब सम्बन्धपछि प्रशिक्षक एलनले पदबाट राजीनामा दिन लागेको सञ्चार माध्यमले जनाएका छन्।

‘मलाई पुग्यो र अब म घर जाँदै छु’ भन्ने शीर्षकको समाचार बंगलादेशको एक पत्रिकाले छापेको छ। दक्षिण अफ्रिकन प्रशिक्षकको भनाइ समेट्दै सञ्चारमाध्यमले उनी पदबाट हट्ने उल्लेख गरेको हो।

गत सोमबार श्रीलंकाका एन्जेलो म्याथ्युजलाई ‘टाइम आउट’ गर्नुमा कप्तान सकिबको भूमिका महत्वपूर्ण रहेको भन्दै ५७ वर्षे प्रशिक्षक एलनले आफ्नै कप्तानको आलोचना गरेका थिए। नयाँ दिल्लीमा भएको खेलका क्रममा म्याथ्युजले स्ट्राइक लिन दुई मिनेटभन्दा बढी समय खर्चिएका थिए।

हेलमेटको फित्ता बिग्रिएको भन्दै म्याथ्युजले अर्को हेलमेट माग गर्न दुई मिनेटभन्दा बढी समय खर्चिन पुगे। त्यससँगै बंगलादेशका कप्तान सकिबले दुई मिनेटभन्दा बढी समय खर्चिएको भन्दै ‘टाइम आउट’ को अपिल गरे।

पछि म्याथ्युजको प्रतिवादसँगै अम्पायरले अपिल फिर्ता गर्ने विषयमा धारणा मागे पनि सकिबले अस्वीकार गरे। त्यससँगै म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटको १४६ वर्षे इतिहासमा ‘टाइम आउट’ हुने पहिलो क्रिकेटर बन्न पुगे।

‘बंगलादेशले गरेको उत्कृष्ट प्रदर्शन पनि त्यो घटनाले छायामा पार्‍यो। इमानदारीपूर्वक भन्नुपर्दा म अझै पनि त्यो घटनाले आश्चर्यमा छु,’ डोनाल्डले भनेका थिए। त्यो भनाइपछि बंगलादेश क्रिकेट बोर्डका अधिकारी प्रशिक्षक डोनाल्डप्रति असन्तुष्ट भए र उनीसँग लिखित स्पष्टीकरण पनि मागे।

बिसिबीका कार्यकारी प्रमुख निजाम उद्दिन चौधरीले भने बलिङ प्रशिक्षकबाट सम्झौता नवीकरणका लागि कुनै पनि आग्रह नआएको बताए। ‘यो विश्वकपपछि प्रशिक्षक डोनाल्डसँगको सम्झौता सकिँदै छ,’ चौधरीले भने, ‘तर उनले सम्झौता नवीकरणका लागि कुनै पनि आग्रह गरेका छैनन्।’

डोनाल्ड सन् २०२२ को मार्चमा बंगलादेशको तीव्र गतिको बलिङ प्रशिक्षकमा नियुक्त भएका हुन्। उनले सन् २०१५ को विश्वकपसम्म चार वर्ष दक्षिण अफ्रिकाको बलिङ प्रशिक्षण पनि समालेका थिए। त्यसपछि उनले न्युजिल्यान्ड, अस्ट्रेलिया, इङ्ल्यान्ड र श्रीलंकाको प्रशिक्षक या कन्सल्टेन्टका रूपमा काम गरे।  

प्रकाशित: २५ कार्तिक २०८० ०४:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App