२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

‘म्याक्सवेल जितका हकदार’

विश्वकप क्रिकेटजस्तो ठूलो प्रतिस्पर्धामा आश्चर्यजनक शैलीमा जित निकाल्न अस्ट्रेलियाले वञ्चित गरेपछि अफगानिस्तानका प्रशिक्षक जोनाथन ट्रोटले ग्लेन म्याक्सवेलको दोहोरो शतक निल्नका लागि तितो हुने औषधीजस्तै रहेको प्रतिक्रिया दिएका छन्।  

ट्रोटको टोली अफगानिस्तानले जारी विश्वकपमा यसअघि नै डिफेन्डिङ च्याम्पियन इङ्ल्यान्ड, सन् १९९२ को च्याम्पियन पाकिस्तान र सन् १९९६ को विश्वविजेता श्रीलंकालाई हराएको थियो। सोमबार मुम्बईमा २९२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया एक समय ९१/७ को नाजुक अवस्थामा पुगेपछि अफगानी टोली अर्को ठूलो सनसनी नतिजानजिक थियो। तर, यस्तो अवस्थाबाट पनि खेलले रोमाञ्चक मोड लियो। म्याक्सवेल ३३ रनमा हुँदा अफगानिस्तानका मुजिब उर रहमानले क्याच छाडेपछि खेलले नाटकीय मोड लिएको थियो।  

३५ वर्षे म्याक्सवेलले २०१ रनको अविजित इनिङ खेले । उनको त्यो प्रदर्शनले हार संघारमा रहेको अस्ट्रेलियालाई सनसनीपूर्ण जित पनि दिलायो । यस क्रममा म्याक्सवेलले १० छक्का प्रहार गरे र विश्वकपमा दोहोरो शतक बनाउने तेस्रो क्रिकेटर बने । यसअघि न्युजिल्यान्डका मार्टिन गप्टिल र वेस्ट इन्डिजका क्रिस गेलले मात्र विश्वकपमा दोहोरो शतक बनाएका छन् ।

‘म्याक्सवेलजस्ता खेलाडीलाई अवसर दिनु भनेको कति मूल्य चुकाउनुपर्नेछ भन्ने उनले देखाइदिएका छन्,’ ट्रोटले भने, ‘जब अस्ट्रेलियाजस्तो टोलीसँग अवसर आएको छ भने त्यसलाई समयमा नै सदुपयोग गर्नुपर्छ । नत्र अस्ट्रेलियाले कसैलाई पनि दोस्रो अवसर दिँदैन ।’ इङ्ल्यान्डका ४२ वर्षे पूर्वब्याट्सम्यानसमेत रहेका ट्रोटले त्यस किसिमका इनिङका लागि म्याक्सवेलसँग क्षमता रहेको पनि स्विकारे । ‘उनी त्यो इनिङको पूर्ण हकदार छन् । उनले जसरी त्यो इनिङ खेले त्यो अभूतपूर्व थियो,’ ट्रोटले भने, ‘उनी जितका लागि पनि हकदार थिए । दोहोरो शतक बनाउनु पनि उनीभित्र रहेको उत्कृष्टता हो । हामीले उनलाई समयमा नै आउट गर्न नसक्नु नै कमजोरी रह्यो ।’  

अस्ट्रेलियाविरुद्धको जितले अफगानिस्तानलाई सेमिफाइनलको यात्रा अगाडि बढाउँथ्यो । तर, अस्ट्रेलियाले सफल हुन दिएन । ‘हामी सबै विजयको उत्सव मनाइरहेका थियौं,’ ट्रोटले भने, ‘मैले अब हामी जित्छौं भनेका थियौं । हार हुने खालको अवस्था पनि थिएन ।’  

अफगानिस्तानका इब्राहिम जादरान देशका लागि विश्वकपमा पहिलो शतक बनाउने क्रिकेटर बने । उनको नटआउट १२९ रन प्रेरणाले अफगानिस्तानले २९१/५ को योगफल बनायो ।  

‘विश्वकपमा नै पहिलो शतक बनाउनु यादगार क्षण हो,’ ट्रोटले भने, ‘जादरानले अझ तीव्र ब्याटिङ गर्न सक्थे । तर, पनि उनी उत्कृष्ट क्रिकेटर हुन् । उनीप्रति मलाई गर्व लागेको छ । उनको सफलतामा धेरै खुसी छु र आगामी खेलमा पनि उनले शतक बनाउनेमा विश्वस्त छु ।’ अफगानिस्तानले समूहको अन्तिम खेल ट्रोटकै पुर्खौली घर दक्षिण अफ्रिकासँग शुक्रबार अहदाबादमा खेल्दै छ । अंकगणितीय आधारमा अभैm पनि अफगानिस्तानको अन्तिम चारमा पुग्ने सम्भावना बाँकी छ । तर, त्यसका लागि पनि अफगानिस्तानले सेमिफाइनलमा पुगिसकेको दक्षिण अफ्रिकालाई हराउनुपर्नेछ ।

प्रकाशित: २३ कार्तिक २०८० ०१:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App