८ असार २०८१ शनिबार
image/svg+xml
खेल

यमनविरुद्धको खेलका लागि तयारी सुरु

अभ्यासका क्रममा नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस (दायाँ) र राष्ट्रिय खेलाडी निसान ठकुरी। तस्बिर: नेपाल स्पोर्ट्ज डट कम

नेपालले एएफसी एसिया कप २०२७ र फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत यमनविरुद्ध पहिलो लेगको खेलका लागि तयारी सुरु गरेको छ।

नेपालले विश्वकप छनोटमा दोस्रो चरणअन्तर्गत समूह ‘एच’ को आफ्नो दोस्रो खेल मंसिर ५ गते यमनविरुद्ध घरेलु मैदानमा खेल्दै छ।

नेपाली फुटबलको प्रशासकीय निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै सो खेलका लागि आवश्यक तयारी सुरु गरेको जनाएको हो।

छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा छ। यस समूहमा नेपालसहित यमन, संयुक्त अरब इमिरेट्स (युएई) र बहराइन गरी चार राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। यस समूहमा नेपालले यमनसँग आफ्नो दोस्रो खेल खेल्न लागेको हो। त्यसअघि नेपालले अवे मैदानमा युएईसँग खेल्दै छ।

नेपालले छनोटको आफ्नो पहिलो खेल यमनसँग मंसिर ५ गते खेल्न लागेको हो। सो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ सात बजे हुने एन्फाले जनाएको छ। यसअघि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेलहरू प्रायः साँझ ५ः३० बजे हुने गरेका थिए।

यस पटक भने एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सल्लाहअनुसार साढे एक घण्टापछि खेल सारेको छ। एन्फाको प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले प्रशिक्षकले साँझ सात बजे खेलाउँदा टोलीका लागि पनि राम्रो हुने भएकाले खेल सारिएको बताए।

‘जाडो मौसममा प्रायः साँझ ५ः३० बजे नै खेल हुन्थ्यो। तर, प्रशिक्षकको सल्लाहअनुसार यस पटक साँझ सात बजे खेल राखेका हौं,’ प्रतियोगिता निर्देशक मिश्रले भने,‘प्रशिक्षकले सात बजे खेल गराउँदा टोलीका लागि राम्रो हुन्छ भन्नुभयो। त्यसैले समय सारेका हौं।’

त्यो समयमा समर्थकलाई रंगशाला पुगेर खेल हेर्न कठिन हुने भएकाले एन्फाले आवश्यक विकल्प खोजेको छ। खेलपछि चक्रपथका लागि २० देखि २५ वटा बस व्यवस्था गर्ने प्रतियोगिता निर्देशक मिश्रले जानकारी दिए।

साथै एन्फाले सो खेलको टिकटदर साधारणतर्फ चार सय र भिआइपी प्यारापिटमा एक हजार रूपैयाँ तोकेको छ। एन्फाका प्रवक्ता सुरेश साहले मुख्य प्रशिक्षक एनेसको प्रशिक्षणमा हाल २६ सदस्यीय टोली बन्द प्रशिक्षणमा रहेको उल्लेख गरे।

उनले छनोट खेलका लागि एन्फाले सबै तयारी अगाडि बढाएको बताए। प्रारम्भिक चरणमा लाओसलाई हराउँदै नेपालले दोस्रो चरणको यात्रा तय गरेको हो। नेपालले दोस्रो चरणमा सबै आफूभन्दा बलिया राष्ट्रसँग खेल्नेछ।

समूहमा नेपालले सबैभन्दा पहिले फिफा वरीयतामा १५६औं स्थानमा रहेको यमनको सामना गर्नेछ। नेपाल भने १७५औं स्थानको टोली हो। यमनसँगको खेलका लागि अनुमानित बजेट ५५ हजार ६ सय ८० अमेरिकी डलर खर्च हुने एन्फाले जनाएको छ।

नेपालले दोस्रो चरणमा समूहको पहिलो खेल संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध कात्तिक ३० गते खेल्दै छ। त्यसका लागि नेपाली टोली आगामी कात्तिक २६ गते दुबई प्रस्थान गर्दै छ।

प्रकाशित: २२ कार्तिक २०८० ०२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App