१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

छोरीको सफलतामा पतिलाई सम्झँदै

भूमवतियादेवी राजवंशी

‘छोरी मेनुकाले गरेको मिहिनेत खेर गएको छैन। सधैँ आफ्नो कामप्रति लगावका साथ अघि बढ्ने उसको बानीले गर्दा उसले आफ्नो परिवारको नाम राख्न सफल भएकी छ,’ मेनुकाकी आमा भूमवतियादेवी राजवंशीले भनिन्।

चीनमा आयोजित १९औं एसियन खेलमा पहिलो पटक सहभागिता जनाएको कबड्डी खेलले कांस्य पदक जितेको छ। पदक दिलाउने टोलीको कप्तानी समालेकी मेनुका मोरङ जहदा–३ जयरामपुरकी हुन्। बुबा अर्जुन र ५३ वर्षीया आमा भूमवतियादेवी राजवंशीकी माइली छोरी हुन् उनी। मेनुकाका दाइ जितेन्द्र काठमाडौंमा पढ्दै र पढाउँदै आफ्नो कर्म गरिरहेका छन्। दिदी रेनुका नर्स र उनका श्रीमान डाक्टर छन्। कान्छी बहिनी पनि नर्स छिन्।

उनको घर विराटनगर महानगरपालिकादेखि करिब १० किलोमिटर दक्षिणपूर्वमा छ। मेनुकाका बुबा नेपाल प्रहरीका जागिरे थिए। उनको १० वर्षअघि निधन भएको थियो। छोरी आर्मीमा भर्ती भएकोसम्म बुबालाई थाहा भएको भूमवतियादेवीले बताइन्।

छोरी आर्मीमा भर्ना हुनु र बुबाको निधन हुनु एकै वर्ष भएको हो। त्यही भएर छोरीको सफलताको अनुभूति गर्न श्रीमान्ले पाएनन्। ‘उनी अहिलेसम्म जीवित भएका भए खुसीको कुनै सीमा हुने नै थिएन,’ उनले छोरीको सफलतामा पति सम्झिइन्।

मेनुकाको बुबा छोराछोरीलाई धेरै माया गर्थे। उनीहरूलाई कहिल्यै दुःख नहोस् भनेर उनीहरूको इच्छा तथा पढाइमा कमी हुन दिएनन्। उनी पनि खेलाडी भएकाले छोराछोरीलाई कहिल्यै पनि खेल्न हुँदैन भनेनन्। ‘उहाँ भारोत्तोलन कि वेटलिफ्ट खै के भन्छ थाहा छैन त्यस खेलको खेलाडी हुनुहुन्थ्यो। खेलाडी भएकै कारण प्रहरीमा जागिर मिलेको थियो,’ भूमवतियादेवी विगत स्मरण गरिन्।

मेनुकाको घर पुग्दा आमा गाई दुन लागेकी थिइन्। ३ जना छोराछोरी भए पनि घरमा एक्लै बस्दै आएकी भूमवतीयादेवी भनिन्, ‘म अहिले घरमा एक्लै बस्छु। छोराछोरी आआफ्नो पेसा र लाइनमा छन्। बुबा र घरपरिवारको इज्जत राखेकोमा धेरै खुसी छु। उनीहरूको खुसी नै मेरो खुसी हो। त्यही भएर पनि घरमा एक्लै बसे पनि एक्कलोपन महसुस भएको छैन।’

भूमवतियादेवीले छोराछोरी धेरै नै मिहिनेती हुँदा सोअनुसारको फल मिलेको बताइन्। ‘छोरी मेनुका सानैदेखि मिहिनेती र आफ्नो कामप्रति लगाव राख्थी,’ आमा भूमवतियादेवीले भनिन्, ‘त्यस दिन बिहान खाना पकाउँदै गर्दा भतिज नेत्र भान्सामा आएर मेनुकाले चीनमा भएको खेलकुदमा कांस्य पदक जितेको सुनायो। त्यो कुरा सुन्दा सारै खुसी लाग्यो।’

‘भतिजले ठूलो मोबाइलमा छोरीले जितेको देखायो। उसले जितेको देख्दा मलाई श्रीमान् र छोरीको यादले एकछिन सास फेर्न गाह्रो पार्‍यो,’ भूमवतियादेवीले आँखाभरि आँसु पार्दै भनिन्, ‘छोरीको यो सफलता श्रीमान्ले देख्न पाएको भए कस्तो गौरव गर्नुहुन्थ्यो होला। उहाँले छोरीलाई कहिल्यै पनि खेलकुदमा सहभागी नहुन भन्नुभएन। बरु पढाइ र खेलकुदमा सधैँ ध्यान दिएर लाग्न भन्नुहुन्थ्यो।’

‘अहिले यति ठूलो पदक जितेर हाम्रो राजवंशी परिवारमा खुसी छाएको छ। छोरीले जुन मिहिनेत गरी आज त्यसको फल प्राप्त गरेकी छ,’ आमा भूमवतीयादेवीले बताइन्, छरछिमेकीबाट छोरीलाई किन खेल्न पठाएको भन्ने गुनासा आउने गर्थे। आज त्यही गाउँ छोरीको प्रगति देखेर खुसी छ।’

स्कुलबाट आएर घरको काम सघाई मेनुकाले करिब १० किलोमिटर ढाटा रहेको विराटनगरस्थित सहिद रंगशालामा बेलुका दैनिक अभ्यास गर्न गरेको आमा भूमवतियादेवीले बताइन्।

आफू २ वर्षअघिसम्म कटहरी, लक्ष्मनियाँको हाट बजार, मेला र घरको चोकमा भक्का बेच्न जानेको गरेको उनले बताइन्। उनले भनिन्, ‘२ वर्षयता भक्का बेच्ने काम छाडेँ। अहिले घरमा गाईबाख्रा छ। त्यसलाई घाँसपात गर्दै दिन जान थालेको छ। छोराछोरीले कति भक्का बेच्नुहुन्छ अब छाड्नु घरमै बस्न भनेपछि भक्का बेच्न छाडेको हुँ।’

अहिले घरधन्दामै सीमित भएको उनले बताइन्। उनले छोरी मेनुकालाई सम्झैँदै भनिन्, ‘पीठो कुट्ने, बेच्ने र घरधन्दामा खुसी हुँदै सहयोग गर्ने छोरीको बानी थियो। उसकै सहयोगमा भक्का बेच्दै घर व्यवहार चलाएर गाई, बाख्रा खरिद गरेको थिएँ।’

‘उसको खेलको सुरुआत खोखोबाट भएको हो। खै कसरी हो खोखो खेल्दै जाँदा कबड्डी खेल मन पर्न थाल्यो,’ छोरीको खेलबारे भूमवतियादेवीले भनिन्, ‘२ वर्षअघि हुनुपर्छ कञ्चनबारी हो कि टंकीसिनवारी हो ठ्याक्कै थाहा भएन। त्यहाँ विदेशका खेलाडी पनि खेल्न आएका थिए। त्यहीँ नै हो छोरीको खेल हेर्न पाएको। छोरीले त्यहाँ खेल्छु हेर्न आउनू भनेकाले म, परिवारका अन्य सदस्यका साथै गाउँका केही मान्छे खेल हेर्न गएका थियौं। ऊ त्यहाँ सेनाको टिमबाट खेल्न आएकी थिई।’

‘छोरीले त्यहाँ खेलेको देख्दा खेल नै मन परेन,’ भूमवतियादेवीले भनिन्, ‘खेलेको देख्दा आङ नै सिरिङ्ग भयो। एक जनालाई सबै मिलेर तान्ने र थिच्ने गरेको देख्दा छोरीलाई मार्छन् कि जस्तो लाग्यो। पूरै खेल हेर्दा भगवान्कै नाम लिएँ डरले। त्यो खेल हेरेपछि छोरीलाई यस्तो डर लाग्दो खेल नखेल्न आग्रह गरेको थिएँ। ऊ नमानी खेली नै रही।’  

मेनुकाको खेल भारतको फरिदावादमा सेनाका मान्छेले देखेका रहेछन्। त्यसपछि उनलाई सेनामा भर्ती भएर खेल्न भनेपछि सेनामा प्रवेश पाएकी हुन्। बुबा पनि प्रहरी र छोरी पनि सेनामा भर्ती हुँदा आफूलाई धेरै खुसी लागेको उनले बताइन्।

मेनुकाको दुईवटा घर छन्। एउटा पुख्र्यौली घर त अर्को दाजुबहिनी मिलेर बनाएको घर। पुख्र्यौली घर खरले छाएको र टाटीमा माटोले मोतेको छ। नयाँ घर जस्ता (टिन)ले छाएको छ भने घरका भित्तामा इँटाको जोडाइ रहेको छ। ‘छोराछोरीले नयाँ घर बनाएका छन्। अहिले उनीहरू र परपाहुना आउँदा त्यही नयाँ घरमा बस्ने गर्छन्,’ भूमवतीयादेवीले सुनाइन्। त्यहीँ नयाँ घरमा मेनुकाले प्राप्त गरेको सम्मानपत्र, प्रशंसापत्र, पदकहरू एउटा कोठामा सजाएर राखेकी छन्। 

प्रकाशित: २७ आश्विन २०८० ०१:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App