६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

प्रदेश परिषदद्वारा ‘गण्डकी खेलकुद पदक’ कार्यविधि पास

प्रदेश खेलकुद परिषद गण्डकीले ‘गण्डकी खेलकुद पदक’ प्रदान गर्न आवश्यक कार्यविधि २०८०लाई पास गरेको छ। कार्यविधि पास गरेसँगै पदक प्रदान गर्ने र सञ्चालन गर्ने विषयलाई अनुमोदनको लागि प्रदेश मन्त्रीपरिषद पठाइने छ। कात्तिक भित्रमा कार्यविधिलाई प्रदेशको क्याविनेटले पास गरेपछि कार्यान्वयनमा आउने प्रदेश खेलकुद परिषदले जनाएको छ।  

प्रदेशले गण्डकी खेलकुद पदक प्रदान गर्ने निर्णय गरेपनि कहिलेसम्मका खेलाडीलाई पदक वितरण गर्ने भन्ने ठोस निर्णय भने गरिसकेको छैन्। ‘नयाँ र पुराना खेलाडीलाई गण्डकी खेलकुद पदक प्रदान गरिने छ’ प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले भने, ‘कार्यविधि पास भएपछि कार्यन्वयनमा आउँछ। अहिले नै यसलाई दिने नदिने भन्ने विषयमा निर्णय भएको छैन्।’ उनको भनाई अनुसार गण्डकी प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई पदकको आधारमा ‘गण्डकी खेलकुद पदक’ प्रदान गरिने छ।  

पदकमा खेलाडीले प्राप्त गरेको स्थानकै आधारमा तयार गरिने छ। ‘पी(प्लेयर) एम(मेडल) लेखिएको हुन्छ। खेलाडीले प्राप्त गरेको पदककै आधारमा १(स्वर्ण), २(रजत) ३(काँस्य) र ४ (सहभागि) लेखिन्छ,’ उनले भने । खेलकुद पदकमा गण्डकी प्रदेशको लोगो समेत राखिने छ।

त्यसैगरी खेलाडी बाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आयोजना गर्ने संघलाई (ओ), सहयोगदातालाई (डी–डोनर), पत्रकारिता तर्फ(जे–जोर्नालिष्ट) लगायतको संकेत गरिने छ। गण्डकी खेलकुद पदकको लागि प्रदेश सरकारले आवश्यक बजेट छुट्टाएको छ। खेलाडी कल्याणकारी कोषमा समेत प्रदेश खेलकुद परिषदले १० लाख रुपैयाँ संकलन गरिसकेको छ।  गण्डकी खेलकुद पदक प्राप्त खेलाडीलाई सुविधाको बारेमा समेत कार्यविधिमा उल्लेख गरिएको सदस्य सचिव शर्माले जानकारी दिए।

उनले खेलाडीलाई सरकारी अस्पतालको ओपिडीमा शतप्रतिशत छुट, निजी अस्पतालमा २५–३० प्रतिशत छुट, अध्यनन गर्ने खेलाडी(विद्यार्थी)लाई प्याब्सन, एनप्याब्सन तथा हिसानसँग छात्रवृत्तिको लागि समेत छलफल गरिने स्पष्ट पारे। प्रदेश खेलकुद परिषद गण्डकीको छैटौं बोर्ड बैठकले गण्डकी प्रदेश खेलकुद पदक स्थापना तथा संचालन कार्यविधि २०८०, खेलाडी कल्याण कोषको स्थापना र संचालन सम्वन्धि कार्यविधि २०८० र खेल संघ दर्ता, नविकरण तथा संचालन सम्वन्धि मापदण्ड २०८० लाई पास गरेको थियो। बैठकले पास गरेको कार्यविधिलाई मन्त्रालयमा पठाइने सदस्य सचिव शर्माको भनाई थियो।  

खेलकुद विकासमा रहेका कुनै पनि समस्याहरु फुकाउन आफू तयार रहेको समाजिका विकास तथा स्वास्थ्य मन्त्री शुशीला सिंम्खडाले बताईन्। विभिन्न समस्याका कारण खेल क्षेत्रबाट टाढिएका र समस्यामा रहेकाहरुलाई समेत समेटेर अघि बढने सके खेलकुद अझै प्रभावकारी रुपमा अघि बढन सक्ने उनले उल्लेख गरिन।

प्रकाशित: २३ आश्विन २०८० ०९:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App