२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

भलिबलको बिर्सनलायक प्रदर्शन

पुरुष १० हजार मिटरमा दौडँदै नेपालका दीपक अधिकारी (बीच)। तस्बिर: लोकेन्द्र विष्ट/राखेप

नेपालको महिला भलिबल टोलीले जारी १९औं हानझाउ एसियाली खेलकुदमा बिर्सनलायक प्रदर्शन गरेपछि हार बेहोरेको छ।

डेचिङ स्पोर्ट्स सेन्टर जिम्न्याजियममा शनिबार भएको समूह ‘सी’ को खेलमा खराब प्रदर्शन गर्दा नेपालले भियतनामविरुद्ध हार बेहोरेको हो।

नेपालको राष्ट्रिय खेलसमेत रहेको भलिबलको पुरुष टोलीले समूहका सबै खेल गुमाएर फर्किंदा महिला टोलीले पनि हारबाट खेलको सुरुआत गरेको हो। नेपालले रेसिभ, ब्लक र स्पाइक कुनै पक्षमा पनि राम्रो गर्न सकेन र ३–० को सोझो सेटमा नै खेल गुमाउन पुग्यो। विश्व वरीयतामा ३९औं स्थानको भियतनामले ५६ मिनेटमा नै नेपालविरुद्ध जित निकाल्यो।

यसै वर्ष आसियान क्षेत्र (साउथ इस्ट एसिया एसियन गेम्स) मा महिला भलिबलको उपविजेता भियतनामले पहिलो सेट आफ्नो पक्षमा पार्न १५ मिनेट मात्र लगायो। उक्त सेटमा नेपालले २५–४ को लज्जापूर्ण हार बेहो¥यो। पहिलो सेटमा तालमेल र निकै नर्भस देखिएको नेपालसामु भियतनामको आक्रमणप्रति कुनै जबाफ नै थिएन। तर, दोस्रो सेटमा नेपालले सुधारिएको प्रदर्शन गरे पनि जित निकाल्न भने सकेन। यो सेट पनि नेपालले २५–१६ ले गुमाउन पुग्यो।

महिला भलिबलमा नेपालको स्पाइक ब्लक गर्ने प्रयास गर्दै भियतनामका खेलाडी (बायाँ)। 

नेपालले चुनौती दिए पनि भियतनामले २१ मिनेटमा यो सेट आफ्नो बनायो। यस सेटमा नेपालले स्पाइकबाट १२ अंक र ब्लकबाट तीन अंक पाएको थियो। जित्नै पर्ने तेस्रो सेटमा नेपालले सुरुआती तीन अंक लिँदै आशा जगायो। तर, लय कायम राख्न सकेन।

पहिलो सेटमा जस्तै खराब प्रदर्शनलाई निरन्तरता दियो। यो सेट नेपालले २५–१३ ले गुमाउँदै सोझो सेटमा हार बेहोर्‍यो। भियतनामले गैरवरीयताको टोली नेपालविरुद्धको तेस्रो सेट आफ्नो बनाउन २० मिनेट समय खर्चियो।

अप्रत्याशित प्रदर्शनपछि नेपाली महिला भलिबल टोलीका बेल्जियन प्रशिक्षक जान डे ब्रान्टले त्रिपुरेश्वरको कभर्डहलमा खेलिरहेका खेलाडी अत्याधुनिक जिम्न्याजियममा खेल्दा निकै नर्भस भएको प्रतिक्रिया दिए।

‘खेलाडीले खेल्ने गरेको कभर्डहलको बारेमा सबैलाई जानकारी नै छ। उनीहरू एकै पटक अत्याधुनिक जिम्न्याजियममा खेल्दा निकै नर्भस भए,’ ब्रान्टले भने, ‘दोस्रो सेटमा केही सुधार भएको थियो। तर, तेस्रो सेटमा फेरि सोही समस्या दोहिरियो। यो नै नेपालको वास्तविक स्तर हो। म नतिजाबाट खुसी नै छु।’

नेपाली महिला भलिबल टोलीले एसियाली खेलकुदमा पहिलो पटक प्रतिस्पर्धा गरेको हो। नेपालले समूह ‘सी’ को अर्को खेलमा सोमबार दक्षिण कोरियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

 दक्षिण कोरिया विश्वको ४०औं वरीयतामा छ। नेपालका प्रशिक्षक ब्रान्टले दक्षिण कोरियासँगको खेलमा धेरै सुधार हुने अपेक्षा राखेका छन्।

नेपाली महिला भलिबल टोलीकी कप्तान अरूणा शाहीले प्रतिद्वन्द्वीले आशा गरेको भन्दै आक्रामक खेल खेल्दा आफूहरूले पनि प्रदर्शन गर्न नसकेको बताइन्। ‘भियतनामका खेलबारे हेरेका थियौं। उनीहरू खेल यति छिटो थिएन। तर, आज फरक खेल देखियो,’ अरूणाले भनिन्, ‘तर, मैले र टोलीले भने अपेक्षा गरे अनुसार खेल्न सकेनौं।’

बक्सिङ: सरस्वतीले अवसर गुमाइन्

सरस्वती रानामगरले १३ वर्षपछि चीनमा पदक जित्दै नेपाली बक्सिङमा सुखद नतिजा ल्याउने अवसर गुमाएकी छिन्।

हानझाउमा जारी १९औं एसियाली खेलकुदमा शनिबार सरस्वती पदकको भिडन्तमा चुकेपछि नेपालको बक्सिङले दशकपछि एसियाली खेलकुदमा पदक जित्ने अवसर गुमाएको हो। सन् २०१० को ग्वाङझाउ एसियाली खेलकुदमा हाल नेपाली टोलीमा रहेका दीपक महर्जनले कांस्य पदक जितेका थिए। त्यो नै नेपाली बक्सरले एसियाली खेलकुदमा ल्याएको पछिल्लो सफलता हो। हानझाउ जिम्न्याजियममा महिला ७५ केजीमुनिको क्वार्टरफाइलनमा सरस्वती भियतनामकी मुक्केबाज लु डियम क्विनसँग ४–० ले पराजित भइन्।

भियतनामकी मुक्केबाज लु डियम क्विनविरुद्ध मुक्का प्रहार गर्दै सरस्वती रानामगर (रातो)। तस्बिर: नागरिक

उनको पराजयसँगै नेपाल जारी एसियाली खेलकुदमा कम्तीमा पहिलो कांस्य पदक जित्ने असफल भयो। जारी खेलकुदका लागि नेपालले पहिलो प्राथमिकतामा राखेका तीन खेलमध्ये तेक्वान्दो र बक्सिङको चुनौती समाप्त भएको छ।

सरस्वतीले पहिलो राउन्डमा आक्रामक खेल्दै प्रतिद्वन्द्वीविरुद्ध हाबी हुने प्रयास गरिन्। यद्यपि, पहिलो राउन्डमा पाँच जजमध्ये तीन जनाको नतिजा उनको विपक्षमा जाँदा दुईको पक्षमा गयो। तर, दोस्रो राउन्डमा भने उनी निकै थकित देखिइन्। यद्यपि, एक जना जजको नतिजा भने उनले आफ्नो पक्षमा पार्न सफल भइन्।

तेस्रो राउन्डमा उनले केही आक्रामक खेल्ने प्रयास गरे पनि सफल भइनन्। तथापि, दुई जजको नतिजा भने उनको पक्षमा गयो। त्यो नतिजा नेपाललाई जारी एसियाडमा पहिलो पदक जिताउन अपर्याप्त बन्यो। जारी एसियाली खेलकुदमा नेपालबाट कुल १३ बक्सरले प्रतिस्पर्धा गरेका थिए। तीमध्ये रविन थापाले मात्र एक खेल जिते। उनले इन्डोनेसियाका बक्सरलाई हराउँदै बक्सिङमा पहिलो जित निकालेका थिए। तर, उनको चुनौती अन्तिम १६ मा उत्तर कोरियाका बक्सर सो चोनरियोङले समाप्त बनाए।

सरस्वतीले भने पहिलो चरणमा बाई पाएर सीधै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी हुन्। यसै एसियाली खेलकुदका लागि भारतका चर्चित प्रशिक्षक शिव सिंह भित्र्याउँदै लामो समय वैदेशिक प्रशिक्षणसमेत गरेको नेपालले सुखद नतिजा ल्याउन सकेन।

सात दशकको एसियाली खेलकुदको इतिहासमा १९८६ देखि नेपालले पदक जित्न थालेको हो। त्यसयता नेपाल कुनै पनि संस्करणमा हात खाली फर्कनुपरेको छैन।

यस पटक भने आशा गरिएको खेलसँगै पदककै लागि भनेर समावेश गरिएको ई–स्पोर्टस को पब्जी विधामा असफलता मिलेको छ।

हालसम्म एसियाली खेलकुदको २४ पदकमध्ये नेपालको बक्सिङले ६ कांस्य पदक ल्याएको छ। पछिल्लो पटक चीनमा नै पदक जितेको बक्सिङ लगातार तीन संस्करण पदक जित्न असफल भएको छ। चीनमा नै यस पटक अवसर मिले पनि सफल हुन सकेन।

भारोत्तोलनः टीकामाया बाहिरिइन्

नेपालकी टीकामाया गुरुङ शनिबार जारी १९औं एसियाली खेलकुदमा भारोत्तोलनतर्पm महिला ५५ केजी तौलसमूहको प्रतिस्पर्धाबाट शनिबार बाहिरिएकी छन्।

सिओसान स्पोर्ट्स सेन्टर जिम्न्याजियममा भएको समूह ‘बी’ को खेलमा टीकामायाले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ८६ गरी कुल एक सय ४६ केजी भार वहन गरिन्।

 स्न्याचमा टीकामायाले पहिलो र दोस्रो लिफ्टमा पनि ६० केजी भार उचाल्ने प्रयास गरे पनि सफल भएकी थिइनन्। क्लिन एन्ड जर्कमा भने टीकामायाले पहिलो लिफ्टमा ८० तथा दोस्रो लिफ्टमा ८६ केजी तौल उठाइन्। क्लिन एन्ड जर्कको आफ्नो तेस्रो लिफ्टमा टीकामायाले ९० केजी तौल उचाल्ने प्रयास गरेकी थिइन्।

महिला ५५ केजी तौल समूहमा भार उठाउँदै टीकामाया गुरुङ। तस्बिर: नागरिक  

तर, उनी उक्त केजी तौल उठाउन असफल रहिन्। टीकामायाले क्लिन एन्ड जर्कमा भने आफ्नो उत्कृष्ट प्रदर्शन गरिन्। यसअघि उनले पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा ८० केजीको भार वहन गरेकी थिइन्। यद्यपि, त्यो सुधारिएको प्रदर्शनले पनि उनलाई एसियाली खेलकुदमा आफ्नो समूहमा तेस्रो स्थानमा खुम्च्यायो। यो समूहमा बंगलादेशकी सृती अख्तरले स्न्याचमा ७२ केजी तथा क्लिन एन्ड जर्कमा ८८ गरी कुलमा सर्वाधिक १६० केजी भार वहन गरिन्।

ट्रायथलन: व्यक्तिगत स्पर्धाको १७औं स्थानमा

नेपालकी श्रेबी महर्जन जारी १९औं एसियाली खेलकुदअन्तर्गत ट्रायथलनको महिला व्यक्तिगत स्पर्धामा १७औं स्थानमा खुम्चिएकी छन्।

चुनआन ट्रायथलन कोर्समा शनिबार भएको खेलको सो स्पर्धामा कुल २१ खेलाडी सहभागी भएका थिए। तीमध्ये कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), कम्बोडिया र जोर्डनका खेलाडीले स्पर्धा पूरा गर्न सकेनन्।

शनिबार नेपालका लागि सबैभन्दा पहिलो चुनौती रहेको खेलमा श्रेबीको प्रदर्शन यादगार बन्न सकेन। श्रेबीले एक हजार पाँच सय मिटरको पौडी, ४० किलोमिटरको साइक्लिङ र १० किलोमिटरको दौड कुल दुई घण्टा २५ मिनेट र १३ सेकेन्डमा पूरा गरिन्।

जापानकी युको ताकाहासीले स्वर्ण, चीनको चिन्यु लिनले रजत र चीकै यिफान याङले कांस्य जिते। युकोले दुई घण्टा एक मिनेट चार सेकेन्डमा तीनवटै दूरी पार गरिन्। ट्रायथलनमा नेपालबाट समान २/२ पुरुष/महिला गरी चार खेलाडी सहभागी छन्।

ह्यान्डबल: सकियो यात्रा

जारी १९औं एसियाली खेलकुदमा नेपालको महिला ह्यान्डबल टोलीको चुनौती शनिबार समाप्त भएको छ।

झेजियाङ नर्मल युनिभर्सिटीमा भएको समूह ‘बी’ को तेस्रो तथा अन्तिम खेलमा नेपाल भारतसँग ४४–१९ ले पराजित भएको हो। नेपालका लागि कप्तान बन्दना राईले सात, उमा राईले ६, कल्पना सिन्जाली र आइत लोमु शेर्पाले समान २/२ तथा सम्झना कुमाल र रामकुमारी चौधरीले समान १/१ गोल गरे। समूह चरणको पहिलो खेलमा नेपाल चीनसँग ५७–१० तथा जापानसँग ६२–१० ले हारेको थियो।

ई–स्पोर्ट्स: नेपालको आशा समाप्त

ई–स्पोर्ट्सको पब्जी मोबाइलमा पदक जित्ने नेपालको आशा समाप्त भएको छ। चाइनाको हाङझाउ ई–स्पोर्ट्स सेन्टरमा शनिबार भएको समूह ‘ए’ को सेमिफाइनलमा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पराजित भएपछि नेपालको पदक सम्भावना सकिएको हो।

सेमिफाइनलमा नेपालका सुविनकुमार प्रजापति, दीपेश गुरुङ, साहस भण्डारी र समीर गुरुङले प्रतिस्पर्धा गरेका थिए। नेपाल शुक्रबार भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो। त्यस्तै डोटा २ मा पनि नेपाल पराजित भएसंँगै ई–स्पोर्ट्समा नेपालको चुनौती समाप्त भएको छ। नेपाल किर्गिस्तानसँग २–० ले पछि पर्‍यो।

एथलेटिक्स: दीपक राष्ट्रिय कीर्तिमानमा मै सीमित

एसियाली खेलकुदको एथलेटिक्सतर्फ पुरुष १० हजार मिटर दौडमा नेपालका दीपक अधिकारीले शनिबार राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा भएको स्पर्धामा दीपकले निर्धारित दूरी २९ मिनेट ३५.०६ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्। उनले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७औं एसियाली खेलकुदमा गोपीचन्द्र पार्कीले बनाएको कीर्तिमान् भंग गरेका हुन्। गोपीले ३० मिनेट ३०.९९ सेकेन्डको कीर्तिमान बनाएका थिए। दीपक ९ वर्षपछि उक्त कीर्तिमान् तोड्न सफल भए। जारी एसियाडमा दीपक नयाँ राष्ट्रिय कीर्तिमान बनाउने एक नेपाली खेलाडीसमेत बने।

प्रकाशित: १४ आश्विन २०८० ०५:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App