५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य

पाकिस्तानबाहेक सहभागी टोलीका कप्तान ट्रफीका साथ।तस्बिर सौजन्य: एन्फा

नेपालले घरेलु मैदानमा बिहीबारदेखि सुरु हुने साफ यु–१९ च्याम्पियनसिपको पाँचौं संस्करणमा उपाधि जित्ने लक्ष्य राखेको छ।

घरेलु मैदानको फाइदा लिँदै उमेरसमूहको तेस्रो उपाधि जित्ने लक्ष्यका साथ नेपाल मैदान उत्रँदै छ। नेपालले बिहीबार साँझ साढे पाँच बजे दशरथ रंगशालामा पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ। त्यो खेल जित्दै नेपाल साफ यु–१९ च्याम्पियनसिपमा समूह ‘ए’ को विजेता बन्न बलियो दाबेदार प्रस्तुत गर्न चाहन्छ। यो समूहमा नेपालसहित पाकिस्तान र माल्दिभ्स छन्। समूहमा शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। नेपालको पहिलो लक्ष्य समूहमा शीर्ष स्थान ओगट्दै सेमिफाइनलमा बलियो दाबेदारी प्रस्तुत गर्ने हुनेछ।

साथै यो च्याम्पियनसिप उचाल्दै नेपाल यु–१९ उमेरसमूहमा दोस्रो सफलता प्राप्त गर्ने योजनामा छ। यसअघि नेपालले सन् २०१५ मा यु–१९ साफ च्याम्पियनसिप र सन् २०१७ मा यु–१८ साफ च्याम्पियनसिपको उपाधि उचालेको थियो। यस पटक घरेलु मैदानको फाइदा उठाउँदै नेपाल तेस्रो पटक घरेलु मैदानमा हुन लागेको उमेरसमूहका प्रतियोगिता जित्ने लक्ष्यमा छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा प्रतियोगिताअगाडि बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली युवा टोलीका प्रशिक्षक सुनील श्रेष्ठले तयारी राम्रो भएको र घरेलु मैदानको फाइदा उठाउँदै उत्कृष्ट प्रदर्शन दिने बताएका छन्।

सबै खेलाडी मिहिनेत गरेको र घरेलु मैदानमा हुने च्याम्पियनका अवसरको रूपमा समेत लिएको प्रशिक्षक श्रेष्ठको भनाइ छ। उक्त पत्रकार सम्मेलनमा ६ मध्ये पाँच टोलीका कप्तान तथा प्रशिक्षक उपस्थित थिए। पाकिस्तान भने नेपाल आइनपुगेका कारण पत्रकार सम्मेलनमा उपस्थित भएन। भारतले यो प्रतियोगिताका लागि सन् २०२१ देखि नै तयारी गर्दै आइरहेको छ। खेलाडीहरूलाई ट्रायलमार्फत छनोट गर्दै उनीहरूलाई साफका लागि दुई वर्षदेखि प्रशिक्षण गरिरहेको भारतको दाबी छ। साथै साफ नजिकिएपछि साउदी अरेबिया गएर बन्द प्रशिक्षण गरेको भारतीय टोलीले पत्रकार सम्मेलनमा जानकारी दियो।  

समूह ‘ए’ मा नेपालसहित पाकिस्तान र माल्दिभ्स छन्। समूहमा शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

नेपालको पहिलो लक्ष्य समूहमा शीर्ष स्थान ओगट्दै सेमिफाइनलमा बलियो दाबेदारी प्रस्तुत गर्ने हुनेछ।  

काठमाडौं आउनुअघि साउदीमा दुई अभ्यास खेल खेलेको र दुवैमा जित प्राप्त भएको भारतीय टोलीका प्रशिक्षक भारतीय यु–१९ टोलीका प्रशिक्षक शुभेन्दु पान्डाले बताए। पर्याप्त प्रशिक्षण गर्न पाएकाले सुखद नतिजा आउनेमा आफू आशावादी रहेको उनको बुझाइ छ। दुई वर्षदेखि नै टोली निर्माणका लागि समय बिताएको र देशभरबाट छनोट गरिएकाले यो टोलीले राम्रो नतिजा दिने शुभेन्दुको विश्वास छ। फरकफरक उमेरसमूहमा प्रतिस्पर्धा हुँदै आएको यो च्याम्पियनसिपको पाँचौ संस्करणसम्म आइपुग्दा नेपाल र भारतले समान दुई पटक उपाधि जितेका छन्।

नेपालबाटै सुरु भएको यो उमेरसमूहको च्याम्पियनसिप नेपालले तेस्रो पटक आयोजना गर्न लागेको हो। २०१५ मा काठमाडौंमा सम्पन्न पहिलो संस्करणमा विमल घर्तीमगरको कप्तानीमा नेपालले उपाधि जितेको थियो। त्यसको दुई वर्षपछि भुटानको थिम्पुमा नेपालले दोस्रो उपाधि जित्यो। यद्यपि, त्यो यु–१८ साफ च्याम्पियनसिप हो। अर्पन कार्कीको नेतृत्वमा नेपाल पाँच टोली सहभागी प्रतियोगितामा च्याम्पियन भएको थियो। सिंगल राउन्ड रोबिन पद्धतिमा अंकतालिकाको शीर्ष स्थानमा रहँदै लगातार दोस्रो पटक च्याम्पियन बनेको हो।

तेस्रो संस्करण सन् २०१९ मा नेपालले नै आयोजना गरेको थियो। तर, यु–१८ साफ च्याम्पियनसिपमा नेपालले समूहचरण पनि पार गर्न सकेन। पछिल्लो संस्करण २०२२ मा यु–२० साफ च्याम्पियनसिप भारतले आयोजना गर्‍यो। तर, आयुष घलानको कप्तानी रहेको नेपालले यस उमेरसमूहमा पनि राम्रो नतिजा ल्याउन सकेन। सिंगल राउन्ड रोबिन पद्धतिका आधारमा भएको उक्त च्याम्पियनसिपमा नेपाल तेस्रो स्थानमा खुम्चियो। यस पटक भने नेपाल यु–१९ उमेरसमूहको च्याम्पियनसिपमा घरेलु मैदानको फाइदा उठाउँदै सुखद नतिजा ल्याउने लक्ष्यमा छ।

माल्दिभ्सका मुख्य प्रशिक्षक अहमद शाकिरले पनि ९० प्रतिशत घरेलु लिग खेलेका खेलाडी रहेको र पछिल्लो २८ दिनको प्रशिक्षणबाट सक्दो राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे। बंगलादेशलाई यस च्याम्पियनसिपको दाबेदार टोलीका रूपमा हेरिएको छ। बंगलादेशका प्रशिक्षक रसिद अहमदले तयारीका लागि कम समय पाए पनि यसपटक फाइनल पुग्ने लक्ष्य रहेको दाबी गरे। यस च्याम्पियनसिपमा सहभागी ६ टोलीमध्ये पाँच राष्ट्रका कप्तानले प्रतियोगिताका लागि उत्साहित रहेको उल्लेख गरे। साथै उनीहरूले सबैभन्दा पहिलो प्राथमिकता पहिलो खेल रहेको धारणा राखेका छन्।

नेपालले खेल्नुअघि उद्घाटन खेलमा दिउँसो भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। अर्को समूह ‘बी’ मा साबित विजेता भारत, साबिक उपविजेता बंगलादेश र भुटान छन्। 

प्रकाशित: ४ आश्विन २०८० ०२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App