चौथो विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको उपाधि विराटनगरको बालकल्याण विद्या मन्दिर (बिकेभिएम) ले जितेको छ।
विराटनगर बास्केटबल एकेडेमीले आयोजना गरेको प्रतियोगितामा बिकेभिएमले विराटनगरको एभरेष्ट स्कुललाई २ अंकको अन्तरमा हराउँदै उपाधि जितेको हो।
बिकेभिएमले लगातार दोस्रो पटक उपाधि जित्यो। प्रतिस्पर्धात्मक खेलमा बिकेभिएमले ३९ अंक बनाउँदा एभरेष्ट ३७ अंकमै सीमित भयो। व्यक्तिगत २० अंक बनाएका बिकेभिएमका आकाश चौधरीले म्यान अफ द म्याच भए।
त्यसैगरि, लिगमा उत्कृष्ठ प्रदर्शन गरेका बिकेभिएमका सन्तोष साह उदयीमान खेलाडी घोषित भए। तेस्रो स्थानका लागि भएको खेलमा पोखरीया स्कुललाई ३८–२२ अंकले पराजित गर्दै सगरमाथा स्कुल विजयी भयो। सगरमाथाका उत्सव कार्की म्यान अफ द म्याच भए। लिगमा मोस्ट भ्यालुएबल खेलाडी एभरेष्टका शिव साह भए।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य भीम पराजुली, कोशी प्रदेश बास्केटबल संघका अध्यक्ष मनिष गुरुङलगायतले खेलाडीहरुलाई शुभकामना दिँदै पुरस्कार प्रदान गरे।
भाद्र १५ गतेदेखि विराटनगरमा होम एण्ड अवे अन्तर्गत लिग खेल भएको थियो। प्रतियोगितामा विराटनगरका बिकेभिएम, पोखरिया, अरनिको, सेन्ट जोसेफ, एभरेष्ट, डिपिएस, सगरमाथा र डनबस्को स्कुलले सहभागिता जनाएका थिए।
प्रकाशित: ३० भाद्र २०८० १७:०८ शनिबार