१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

सुखद नतिजाको लक्ष्यसहित नेपाली टोली चीन यात्रामा

सन् १९८६ मा दक्षिण कोरियाको सिओल सम्पन्न दशौं एसियाडदेखि पदक जित्न थालेको नेपाल चीनको १९औं एसियाडमा पनि सुखद नतिजा ल्याउने लक्ष्यसहित बिहीबार चीन यात्रामा होमिएको छ।

आगामी सेप्टेम्बर २३ देखि चीनको हानझाओ सहरमा १९औं एसियाड हुँदै छ। त्यसका लागि नेपाली टोलीको बिहीबार बिदाइसँगै १९८६ देखि पदक जितेको नेपाल त्यसलाई निरन्तरता दिने लक्ष्यसहित चीन यात्रामा होमिएको हो। नेपालले भारतको नयाँ दिल्लीमा सन् १९५१ मा भएको पहिलो संस्करणको एसियाडदेखि प्रतिस्पर्धा गर्न थालेको हो। यद्यपि, एसियाडमा पदक जित्न भने नेपालले ३५ वर्ष कुर्नुपर्यो। सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौं संस्करणदेखि नेपालले एसियाडमा पदक जित्ने थालेको हो।  

त्यति बेला नेपालका लागि ४/४ बक्सर र तेक्वान्दो खेलाडीले कांस्य पदक जितेका थिए। त्यो नै नेपालले एसियाडमा जितेको सर्वाधिक धेरै पदक हो। गत संस्करण इन्डोनेसियामा भएको १८औं एसियाडसम्म आइपुग्दा नेपालका लागि सबैभन्दा ठूलो सफलता रजत पदक नै रहेको छ। सन् १९९८ मा थाइल्यान्डकोबैँककमा सम्पन्न १३औं एसियाडमा नेपालको तेक्वान्दो खेलाडी सविता राजभण्डारीले रजत पदक जितेका थिइन्। त्यो नै व्यक्तिगत विधातर्फ नेपालले जितेको सर्वाधिक ठूलो सफलता रह्यो।

त्यो एसियाडमा सविताको रजत र नेपालले थप तीन कांस्य पदक जितेको थियो। लगातार सन् २००२ को बुसान एसियाड र सन् २००६ को दोहामा एसियाडमा नेपालले समान तीन कांस्य जितेको थियो। त्यसपछि हरेक संस्करणमा भने नेपाल एक पदकमा नै खुम्चिँदै आएको छ। पछिल्लो संस्करण १८औं एसियाडमा नेपालका लागि प्याराग्लाडिङमा टिमतर्फ रजत पदक प्राप्त भएको थियो। यद्यपि, एसियाडमा सुखद इतिहास बोकेको बक्सिङ, तेक्वान्दो र करातेका कुनै पनि खेलाडी पदक जित्न असफल भए।  

आगामी सेप्टेम्बर २३ देखि चीनको हानझाओ सहरमा हुने १९औं एसियाडमा कुल २९ खेलमा नेपालका दुई सय ५३ खेलाडीले चुनौती प्रस्तुत गर्दै छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विगतको प्रदर्शन र वर्तमानको नतिजाको आधारमा तेक्वान्दो, कराते र बक्सिङका खेलाडीलाई पहिलो प्राथमिकतामा राखेर तयारी गर्दै आएको थियो। यी खेलमध्ये बक्सिङ र तेक्वान्दोका खेलाडी वैदेशिक प्रशिक्षणमा सहभागी भयो भने करातेका खेलाडीले नेपालीमा नै प्रशिक्षण गरेका थिए। तर, पदकको आशा बोकेर प्राथमिकतामा राखिएको तीन खेलको पदकका लागि भने केही समय प्रतीक्षा गर्नुपर्नेछ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले तीन चरणको छनोट प्रतियोगिताबाट स्वदेश र विदेशमा प्रशिक्षण गरी तयारी गरेका नेपाली खेलाडीले १९औं एसियाडमा सुखद नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन्। सोही एसियाडमा जाने नेपाली खेलाडीहरूको बिदाइ समारोहमा राखेप सदस्यसचिव घिसिङले नेपाली खेलाडीहरूको तयारी राम्रो रहेको उल्लेख गर्दै नतिजा पनि सुखद हुने आशा व्यक्त गरेका हुन्। एसियाडकै तयारीका क्रममा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय एक्सपोजर पनि पाएको र चरणबद्ध प्रशिक्षणको तयारी पनि राम्रो भएकाले सुखद नतिजा आउने राखेप सदस्यसचिव घिसिङले बताएका छन्।  

प्रम दाहालद्वारा बिदाइ  

प्रधानमन्त्री पुष्पकमल दाहालले १९औं एसियाडमा सहभागी हुने नेपाली खेलाडीलाई बिदाइ गरेका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री दाहालले १९ खेलका खेलाडीलाई बिदाइ गरेका हुन्। एसियाडमा सहभागी हुने ८ खेलका खेलाडी वैदेशिक प्रशिक्षण र दुई खेलका खेलाडी उपत्यकाबाहिर प्रशिक्षणमा रहेकाले १९ खेलका खेलाडीको मात्र बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाइ गरेका हुन्।

चीनकै गोङझाउ सहरमा आयोजना भएको दशौं एसियाडमा कांस्य पदक विजेता बक्सर दीपक महर्जनले १९औं एसियाडको उद्घाटन समारोहअगाडि हुने टर्च र्यालीमा सहभागी हुनेछन्। उनले सेप्टेम्बर १८ मा नेपालको प्रतिनिधित्व गर्दै टर्च बोक्ने राखेप सदस्यसचिव घिसिङले बताए। राखेपका सदस्यसचिव घिसिङले सबै देशको आआफ्नो तयारी भए पनि नेपाली खेलाडी देशको गौरव र झन्डा उचो पार्ने उद्देश्यअनुरूप जितको संकल्प बोकेर १९औं एसियाडमा प्रदर्शन गर्ने अठोट व्यक्त गरेका छन्।  

युवा तथा खेलकुदमन्त्री डिगबहादुुर लिम्बुले सिंगो नेपाली जनताको नेपाली खेलाडीहरूको साथ रहने उल्लेख गर्दै उच्च मनोबलका साथ प्रदर्शन गर्न प्रोत्साहन गरे। अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न जाँदा नेपाली खेलाडी विमानस्थलमा घन्टौंसम्म लाइनमा बस्नुपर्ने दुखद अवस्था सिर्जना हुँदै आएकाले आगामी दिन उनीहरूका लागि रातो पासपोर्ट बनाउने प्रस्ताव आफूले अगाडि बढाउने मन्त्री लिम्बुले बताएका छन्।  

१९औं एसियाडमा ४५ राष्ट्रका १२ हजार पाँच सय खेलाडीले कुल ४० खेलमा चार ८१ विधामा चुनौती प्रस्तुत गर्दै छन्। नेपालका तर्पmबाट एक सय २७ महिला र एक सय २६ पुरुष खेलाडीले चुनौती प्रस्तुत गर्ने भएका छन्। बिदाइका अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कुनै पनि अन्तर्र्राष्ट्रिय प्रतिस्पर्धाअगाडि समयमा नै सरकारद्वारा बजेटको सुनिश्चितता भएर नेपाली खेलाडीले तयारी गर्न पाए उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे। 

नेपाली टोली शुक्रबारदेखि एसियाडको यात्रा सुरु गर्नेछन्। नेपाली टोलीको सेफ दी मिसनमा राखेप सदस्यसचिवसमेत रहेका टंकलाल घिसिङ, डेपुटी सेफ दी मिसन राखेप बोर्ड सदस्य अञ्जन धमला र ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्दराज वैद्य छन्।

प्रकाशित: २९ भाद्र २०८० ०२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App