१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

अन्तिमसम्म डटिरहिन् साबालेन्का

 खेलमा तल परेको, लगभग बाहिरिसकेको अवस्थाका बावजुदले बेलारुसकी आरिना साबालेन्काले युएस ओपनको सेमिफाइलनमा अन्तिम बिन्दुसम्म पनि खेल समाप्त भएको छैन भनेर आफूलाई सम्झाइरहिन्।  

उनले त्यो खराब स्थिति आइपुगेको छैन भनेर सम्झना पनि गरिनन्। त्यसलगत्तै खेलमा ध्यानमा केन्द्रित गर्दै साबालेन्काले अमेरिकाकी म्याडिसन किजविरुद्ध ०–६, ७–६(१), ७–६ (१०–५) को जित निकाल्दै पहिलोपटक युएस ओपनको फाइनलमा स्थान बनाइन्। अस्ट्रेलियन च्याम्पियन साबालेन्काको यसअघिका ग्रान्ड स्लामको सेमिफाइनलमा १–५ जितको समीकरण थियो। यीमध्ये गत दुई संस्करण युएस ओपनको सेमिफाइनलमा उनी पराजित भएकी थिइन्। यस पटक भने उनले युएस ओपनको सेमिफाइनल पार गरिन्।  

उनले अब फाइनलमा विश्व नम्बर ६ की कोको गौउफविरुद्ध शनिबार प्रतिस्पर्धा गर्नेछिन्। कडा प्रहार गर्दै म्याडिसनले पहिलो सेट ३० मिनेटमा नै आफ्नो बनाइन्। दोस्रो सेटमा पनि उनले ५–३ को अग्रता लिएपछि साबालेन्कामाथि दबाब प¥यो। ‘यस्तो अवस्थामा प्रयास गरिरहने, अगाडि बढिरहने र आफ्नो स्वाभाविक खेललाई देखाउनु पर्दथ्यो। तब मात्र खेलमा पुनरागमन सम्भव थियो,’ साबालेन्काले भनिन्, ‘तर, कसरी कसरी खेलमा जादुमय परिवर्तन भयो। कसरी पुनरागमन भयो र म खेलमा फर्किएँ मलाई थाहा नै छैन।’  

२५ वर्षीया बेलारुसकी साबालेन्का विश्व नम्बर दुई वरीयताकी खेलाडी हुन्, जसले १७औं वरीयताकी म्याडिसनको अग्रताका बावजुद खेलमा फर्कन सफल भइन्। ‘मैले धेरै राम्रो सुरुआत गरेको थिएँ। मेरो त्यो अग्रतापछि उनले त्यसरी खेल्छिन् भन्ने सोचेको पनि थिइनँ,’ म्याडिसनले भनिन्, ‘दोस्रो सेटमा म जितनजिक नै पुगिसकेको थिएँ। तर, पनि उनले हतास नभइकन खेलिन र खेलमा पुनरागमन गरिन्।’ यो हारसँगै म्याडिसन केजले दोस्रो पटक युएस ओपनको फाइनल खेल्न लक्ष्य पूरा गर्न सकिनन्।  

यसअघि उनी सन् २०१७ मा युएस ओपनको फाइनलमा पुगेकी थिइन्। उक्त फाइनलमा उनी अमेरिकाकै स्लोएनी स्टेफेन्ससँग पराजित भएकी थिइन्। म्याडिसनले तेस्रो सेटको क्रममा घुँडामा समातेकी थिइन्। यद्यपि, उनले चोटका कारण खेलमा कुनै असर नपरेको बताइन्। ‘सेमिफाइनलसम्म यात्रा तय गर्न पाउँदा निकै खुसी छु,’ म्याडिसनले आँसु खसाल्दै भनिन्, ‘तर, यसलाई सदुपयोग गर्न सकिनँ। तथापि, यसलाई आगामी दिनमा सकारात्मक रूपमा लिँदै अगाडि बढ्नेछु।’ म्याडिसनको हार बावजुद फाइनलमा अर्की अमेरिकन खेलाडी कोको गौउफले भने स्थान बनाएकी छन्। त्यसैले अमेरिकालाई महिलातर्पmको उपाधि घरमा नै राख्ने अवसर भने हुनेछ। गौउफले सेमिफाइनलमा चेक रिपब्लिककी क्यारोलिना मुचोभालाई ६–४ र ७–५ ले हराउँदै उपाधि यात्रा तय गरेकी हुन्।  

 

 

आरिना साबालेन्का । तस्बिर ः एपी

प्रकाशित: २३ भाद्र २०८० ०३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App