२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकप एसिया क्षेत्र छनोट : कतारमाथि जित निकाल्दै नेपाल सेमिफाइनलमा

आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।  

मलेसियाको बाङ्गीमा आज भएको खेलमा कतारलाई ९ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो। यसअघि नेपालले घरेलु टोली मलेसियालाई ५ रन, बहराइनलाई १० विकेट र भुटानलाई ३ विकेटले पराजित गरेकोे थियो।

समूह ‘ए’ बाट नेपालले एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको हो। जितको लागि ७५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १० दशमलव ३ ओभरमा मात्र १ विकेटको क्षतिमा पूरा ग¥यो।  

नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिइन्। उनले २८ बलमा ४ चौकासहित ३२ रन जोडेकी थिइन्। त्यस्तै इन्दु वर्मा १२ बलमा ३ चौकासहित २० रनमा अविजित रहिन् भने सीता रानामगर २३ बलमा १७ रनमा अविजित रहिन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनको योगफल बनाएको थियो। कतारकी साची धडवालले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रनको योगदान दिइन्। त्यस्तै एलिना खानले १५, एन्जिली मारेले अविजित १४ तथा कप्तान आयशाले १० रन बनाइन्।

नेपालका लागि इन्दु वर्माले तीन विकेट लिइन भने पूजा महतो र कविता जोशीले समान एक विकेट लिइन्। नेपालले समूह चरणको अन्तिम खेल बुधवार युएईसँग खेल्नेछ।

प्रकाशित: १८ भाद्र २०८० ०४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App