२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

ताप्लेजुङ गोल्डकप: मोरङको पथरी–११ सेमिफाइनलमा

ताप्लेजुङ गोल्डकपमा फिदिम स्पोर्टिङ क्लब (निलो जर्सीमा) र पथरी–११ मोरङ (रातो जर्सीमा) भिड्दै। तस्बिर: खगेन्द्र/नागरिक।

मोरङ पथरीको पथरी–११ स्पोर्टिङ क्लब ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्डकपको सेमिफाइनल पुग्ने तेस्रो टिम बनेको छ।

बिजेता पथरी–११ मोरङको टिम। तस्बिर: खगेन्द्र/नागरिक।  

ईटहरी सुनसरीको जुट विकास फुटबल क्लब र इलामको रेडहर्ष फुटबल क्लब बिहीबार र शुक्रबारका खेल जित्दै यसअघिनै सेमिफाइनल पुगिसकेका छन्।

गोल्डकप अन्तर्गत शनिबार भएको तेस्रो खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई २–० ले पराजित गर्दै पथरी –११ स्पोर्टिङ क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

पथरीका लागि पहिलो हाफमा दीपक राईले गोल गर्दै आफ्नो टिमलाई १–० को अग्रतामा लगे। विपक्षी गोलपोष्टको करिब २० यार्ड टाढाबाट प्रहार गरेका दीपकको प्रहार फिदिमका गोलरक्षक मिराक खजुमले विफल बनाउन असफल रहे र पथरी पहिलो हाफअघि १–० को अग्रतामा रह्यो। राई नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी समेत हुन्। दोस्रो हाफमा पथरीका लागि निरज परियारले गोल गर्दै आफ्नो टिमको अग्रता दोब्बर पारे।

कर्नर अवसरमा पाएको बललाई उत्कृष्ट हेडिङ गर्दै निरजले गोल गर्दा पथरी जीत नजिक पुगेको थियो। विपक्षी पथरी विरुद्ध निकै मेहनत लगाएको फिदिमका केही प्रहार असफल भए। पथरीको दरिलो रक्षापंक्ति फिदिमका लागि गोल चुमाउन बाधक बन्यो।

२–० ले पछि परेको अवस्था उल्टाउन फिदिमले खेलको अन्तिम समय सम्म प्रयास जारी राखे पनि गोल गर्न भने सकेन र खेल पथरीको पक्षमा गयो।

टिमका लागि उत्कृष्ट खेल खेलेका पथरीका निरज परियार शनिबारको खेलमा म्यान अफ दि म्याच घोषित हुँदै नगद ५ हजार सहित सम्मानित भए।

अब पथरीको भेट फाइनल यात्राका लागि भदौ १८ गते जुट विकास फुटबल क्लबसँग हुने छ। जुट विकास पहिलो खेलमा गृह टिम ताप्लेजुङको मानाभरा स्पोर्टिङ क्लबलाई हराउँदै सेमिफाइनल पुगेको हो। शुक्रबारको खेलमा रेडहर्ष फुटबल क्लब इलामले यसअघिको डिफेण्डिङ च्याम्पियन गोर्खा स्पोर्टिङ क्लबलाई हराएर सेमिफाइनलमा स्थान बनाएको हो। 

आइतबार भारत दार्जिलिङको खर्साङ फुटबल क्लबसँग स्पर्धा गर्दै तत्कालीन पाथीभरा गोल्डकपको डिफेण्डिङ च्याम्पियन झापा बिर्तामोडको रेडस्टार फुटबल क्लबले क्वाटर फाइनल चरणका खेल समाप्त गर्ने छ।

आउँदो बुधवार सकिने प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख ११ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ। उपविजेता टिमले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ।

प्रकाशित: १६ भाद्र २०८० १२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App